Comments Add Comment

फलफूल र गंगटा उपहार दिएको आरोप लागेपछि जापानी मन्त्रीले दिए राजीनामा

सुगावारालाई मन्त्री नियुक्त गरेकोमा प्रधानमन्त्रीले मागे माफी

८ कात्तिक, काठमाडौं । निर्वाचन कानून उल्लंघन गरेको आरोप लागेपछि जापानका नवनियुक्त व्यापारमन्त्री इसु सुगावाराले राजीनामा दिएका छन् ।

उनीमाथि टोकियोका आफ्ना मतदातालाई महँगो फलफूल र गंगटा उपहार दिएको आरोप लागेको छ । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन अर्थात् १८५ डलर दिन खोजेको समाचार आएको छ ।

यो रकम ठूलो होइन । त्यसमा पनि जापानमा मृतकका परिवारलाई पैसा दिने प्रचलन छ ।

तर, जापानको निर्वाचन कानूनले राजनीतिज्ञहरूले मतदातालाई चन्दा दिन रोक लगाएको छ ।

साप्ताहिक पत्रिका शुकान बुन्सुनले निर्वाचन कानूनविपरीत मन्त्री सुगावाराका सहयोगीले एक मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार येन दिन खोजेको समाचार प्रकाशित गर्‍यो ।

साथै उनले पठाएको उपहारको सूची र धन्यवाद पत्रसमेत छापेको छ ।

मन्त्री सुगावाराले आफूले निर्वाचन कानून उल्लंघन गरे/नगरेको अध्ययन भइरहेको
बताएका छन् । तर आफ्ना कारण संसदमा हुने छलफलमा समस्या नहोस् भनेर राजीनामा दिएको उनले बताएका छन् ।

जापानका प्रधानमन्त्री सिन्जो अबेले पनि सुगावारालाई मन्त्री नियुक्त गरेकोमा जनतासँग माफी मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment