१५ कात्तिक, काठमाडौं । भारतबाट गाडी लिएर पूर्वी नेपालको झापाको विर्तामोडमा चोरी गर्ने एक जना भारतीय नागरिकलाई झापा प्रहरीले पक्राउ गरेको छ ।
झापाको विर्तामोड नगरपालिका–५ मा रहेको एक घरबाट बुधबार दिउँसो नगद तथा गरगहना चोरीमा संलग्न रहेको आरोपमा भारतको एचसीआरडी–११ सिलुगुडी डीजे बस्ने ४३ वर्षीय रघुबर प्रसाद साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी मोहनकुमार थापाले जानकारी दिए । घरमा कोही नभएको मौका छोपी साहले झापा कमल गाउँपालिका–६ स्थायी घर भई हाल विर्तामोड–५ मा रहेको एक घरमा डेरा गरी बस्ने ३५ वर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ वर्षीया मधु गुप्ताको कोठामा भएका नगद तथा गरगहना चोरी गरेको डीएसपी थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले साहलाई विर्तामोड नगरपालिका–५ मा अवस्थित कोहीनुर होटल एण्ड लजअगाडिको सार्वजनिक सडक खण्डबाट बुधबार राति ८ बजेको समयमा पक्राउ गरेको डीएसपी थापाले बताए । सिसी क्यामेरा फुटेजका आधारमा पछ्याउँदै जानेक्रममा डब्लु ७४ एएम २७२४ नम्बरको भारतीय नम्वरको गाडीसहित उनलाई पक्राउ गर्न सफल भएको थापाले बताए । गाडीको खानतलासी गर्ने क्रममा तीनैजनाको कोठाबाट चोरी भएका सुन चाँदीका गरगहना, ३८ हजार नेपाली र १३ हजार ७ सय भारतीय रुपैयाँ बरामद भएको उतले बताए ।

अनुसन्धानको क्रममा साहले झापाको शिवसताक्षी नगरपालिका झिलझिलेमा कात्तिक १० गतेसमेत चोरी गरेको खुल्न आएको थापाले बताए ।
साहले प्रयोग गरेको उक्त भारतीय नम्वर प्लेटको गाडी काकरभिट्टा भन्सारबाट बुधबार नै प्रवेश अनुमति लिएर नेपाल प्रवेश गरेको खुल्न आएको डीएसपी थापाले बताए । साहको साथबाट चोरी गर्न प्रयोग गरिने ढुंगाको लोहोरो र इँट्टा बरामद भएको उनले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4