Comments Add Comment

रुपन्देहीमा कृषि बजारको डीपीआर तयार, लागत २ अर्ब

१५ कात्तिक, बुटवल । रुपन्देहीको सैनामैनामा नदी उकास क्षेत्रमा आधुनिक कृषि उपज थोक बजार प्रवद्र्धन केन्द्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले बनाएको डीपीआरअनुसार कृषि उपज थोक बजार केन्द्र (ग्रिनपार्क) को लागत २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ छ ।
३० बिघा क्षेत्रफमा बन्ने ग्रीनपार्क यो प्रदेश ५ कै नमुना हुनेछ । डीपीआरलगत्तै चालु आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकन गरिने छ डीपीआरसँगै ५ वर्षमा निर्माण सक्नेगरी पञ्चवर्षीय गुरुयोजनासमेत निर्माण गरेको छ ।

कृषि बजारलाई बिचौलिया मुक्त बनाउने र किसानलाई लागत अनुसार मूल्य उपलब्ध गराउने उद्देश्यले ग्रीन पार्क बनाउन लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बताए ।

उनले भने, ‘हाम्रो अभियानमा निजी क्षेत्र र सहकारीलाई समेत समावेश गर्नेछौं ,यो प्रदेशकै एकमात्र नमुुना केन्द्र हुनेछ ।’

बुटवल उपमहानगरपालिका १६ र सैनामैना नगरपालिका १, को बीचभागमा पर्ने डहरगाउँ कर्साघाटमा सो कृषि केन्द्र निर्माणको काम केही दिनमै शुरु हुनेछ ।

सो केन्द्रबाट कृषि उपजको संकलन, भण्डारण, प्रशोधन र बिक्री वितरण हुनेछ । बजारका संरचना बनाउन १ अर्ब ६५ करोड लगाइने छ । जसमा विभिन्न ३४ वटा ब्लक निर्माण गरिने छ । त्यसमा विभिन्न ६ वटा गोदाम घरसमेत निर्माण गरिने छ ।

किसानले लागत अनुसारको मुल्य लिन र उपभोक्ताले सुलभ मूल्यमा कृषि उपज खरिद गर्न पनि पाउने सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीको विश्वास छ ।

केन्द्रमा होलसेल सटर १ सय ३७ र रिटेल सटर ५४ वटा र एक पेट्रोलपम्प समेत रहनेछ ।

एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर बन्ने छ ।
यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने छ ।

पशु क्वारेन्टाइन र धर्मकाटा पनि रहने

पशुजन्य बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्ने छ । तीन वटा जिउँदो माछा बिक्री केन्द्र बन्नेछन् ।

१ सय मेट्रिक टन जोख्न सक्ने धर्मकाटा राखिने छ । केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिद बिक्रीको व्यवस्था मिलाइनेछ । उत्पादित कृषि उपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment