Comments Add Comment

कास्की २ मा विद्यालाई उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ ।

उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो ।

स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् । एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘कास्की २ मा भट्टराईलाई उम्मेदवार बनाउने कुरा भएको छ । अरु सबै उम्मेदवारको टुंगो लगाएपछि एकसाथ घोषणा हुनेछ ।’

कास्की जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवारका लागि विद्याको मात्र नाम सिफरिस गरेको थियो । तर गण्डकी प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएको थियो ।

को हुन् विद्या ?

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी तत्कलीन पर्यटनमन्त्री रवीन्ऽ अधिकारीको निधन भएपछि मंसिर १४ मा कास्की २ मा उपचुनाव हुन लागेको हो ।

नेकपाकी उम्मेदवार विद्या दिवंगत नेता अधिकारीकी पत्नी हुन् । तर यो उपचुनाव विद्याको राजनीतिमा प्रवेश होइन, पुनरागमन हो । तत्कालीन एमालेको विद्यार्थी आन्दोलनमा सक्रिय विद्या अखिलको सचिवसम्म भइसकेकी थिइन् । त्यसबेला रवीन्द्र महासचिव थिए । रवीन्द्रसँग विवाह गरेपछि भने विद्या अखिल नेपाल महिला संघ हुँदै सक्रिय राजनीतिबाट टाढिइन् ।

पछिल्लो समय आरआर क्याम्पस काठमाडौंकी उपप्राध्यापक पदमा कार्यरत थिइन् ।

रवीन्द्रको निधनपछि नेकपाका शीर्ष नेताहरु, कार्यकर्ता र शुभचिन्तकले उनलाई राजनीतिमा आउन आग्रह गरे । उनले पनि चुनाव लड्ने मनस्थिति बनाइसकेकी थिइन् । तर एकाएक नेकपा नेता बामदेव गौतमले कास्की २ बाट उपचुनाव लड्न जोड गरेपछि विद्याको उम्मेदवार अन्यौलमा पर्‍यो ।

चौतर्फी आलोचनापछि बामदेव पछि हटे र राजनीतिमा विद्याको पुनरागमन पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment