Comments Add Comment

गफैले मात्र फिल्म बन्दैन

‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के खनालले काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र घोषणा गरे । चलचित्रको विषयबस्तु अचम्मको थियो । चलचित्रले हिडेर अमेरिका पुग्नेहरुको कथा बोल्ने बताइएको थियो । निर्देशक खनालले चलचित्र खिच्नको लागि आफूहरु पनि हिडेर नै अमेरिकासम्म पुग्ने बताएका थिए ।

तर, निर्माण घोषणा भएको लामो समय बितिसक्दा पनि चलचित्र निर्माणको अत्तोपत्तो छैन । अहिले निर्देशक खनाल र निर्माता शर्मिला पाण्डेले नयाँ चलचित्र ‘आमा’ निर्माण भैरहेको छ । यस अघि उनीहरुले चलचित्र ‘घर’ पनि बनाएका थिए । तर, हिडेर अमेरिका पुग्ने चलचित्रको अत्तोपत्तो छैन । चलचित्रको पूर्व तयारी विना नै घोषणा गर्दा यस्तो समस्या आउने गर्छ ।

चलचित्र ‘प्रेम गीत २’ रिलिजको तयारीमा थियो । त्यसै समय काठमाण्डौंको एक पाँच तारे होटलमा भव्य कार्यक्रम गर्दै निर्माता सन्तोष सेनले आफ्नो नयाँ चलचित्र घोषणा गरे । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्रको नाम थियो, ‘दीपेन्द्र सरकार’ ।

निर्माण घोषणा भएको बर्षौ बितिसक्यो । तर, यो चलचित्र निर्माणको कुनै सुरसार देखिदैन । यो चलचित्रको घोषणापछि नायक खड्काले ‘लिलिबिली, रोज, लभ स्टेशन’ चलचित्रमा काम गरिसके । निर्माता सेनले पनि ‘मेरी मामु’ निर्माण गरे ।

अहिले निर्माता सेन र नायक खड्काको सहकार्य ‘दीपेन्द्र सरकार’को लागि भएको छैन । उनीहरुको सहकार्यमा ‘प्रेम गीत’को तेस्रो सिरिज तयार हुँदैछ । निर्माता सेन भने दीपेन्द्र सरकार बन्ने कुरामा कुनै शंका नभएको बताउँदै आइरहेका छन् ।

बक्स अफिसमा असफल ‘भैरे’लाई निर्माण पक्षले भने सफल भएको दावी गर्यो । उनीहरुले सफलताको दावीमात्र गरेनन्, चलचित्र हिट भएको पुष्टि गर्नको लागि ‘भैरे २’ को निर्माण घोषणा पनि गरे । एभरेष्ट सुर्य बोहराले निर्देशन गर्ने भनिएको यो चलचित्रको निर्माणको पनि अत्तोपत्तो छैन् ।

नायिका रेखा थापाले घोषणा गरेका केही चलचित्र छन्, जुन बन्न सकेका छैनन् । रेखाले आफ्नै होम प्रोडक्सनबाट चलचित्र ‘रत्ना’ निर्माण गर्ने घोषणा गरेकी थिइन् । चलचित्रको लागि निर्देशक समेत पक्का भइसकेका थिए । यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने भनिएको थियो ।

तर, निर्माण घोषणा भएको वर्षौ बितिसक्दा पनि चलचित्र बन्न सकेको छैन । रेखाले आफ्नै व्यानरबाट घोषणा गरेको अर्को चलचित्र हो, ‘कसले चोर्यो मेरो मन फेरि’ पनि बन्ने तयारी छैन । रेखाले घोषणा गर्दै छाडेका चलचित्रको उदाहरण धेरै छन् । बरु, रेखा यतिबेला रेनशा वान्तवा राइलाई लिएर नयाँ चलचित्रको तयारीमा छिन् । यो चलचित्र बन्ने कुरामा पनि धेरैले शंका व्यक्त गरिरहेका छन् ।

त्यस्तै, नायक निखिल उप्रेतीले पत्रकार सम्मेलन गर्दै चलचित्र ‘कमिटमेन्ट सिक्स्टी आवर्स’को निर्माण घोषणा गरे । निखिलकै मुख्य भूमिका रहने यो चलचित्रको निर्देशन पनि निखिल आफैले गरिरहेका थिए ।
चलचित्रको केही दिन छायांकन पनि चल्यो । यो चलचित्रमा अभिनय गर्न बलिउडबाट पनि केही कलाकारहरु नेपाल आएका थिए । तर, चलचित्रको बजेट मंहगो भयो । निखिलसँग भएको पैसा सकियो ।

लगानीकर्ताले निखिललाई विश्वास गरेनन् । बजेट नभएपछि उक्त चलचित्रको छायांकन रोकियो । अहिलेसम्म उक्त चलचित्रको पुन छायांकन सुरु हुन सकेको छैन् । निखिल अहिले ‘आयो भैरव’को तयारीमा छन् ।

नायक रमित ढुंगानाले नयाँ चलचित्रबाट १८ लाख पारिश्रमिक लिएको समाचार मिडियामा राम्रै छायो । उनले विचल किरातीले निर्देशन गर्ने भनिएको चलचित्र ‘राजा साहेब’बाट उक्त पारिश्रमिक हात पारेका थिए ।

केही समय अगाडि पत्रकार सम्मेलन गर्दै चलचित्रको निर्माण घोषणा पनि गरिएको थियो । निर्माण घोषणामा चलचित्र तिहारको छेकोमा रिलिज गरिने निर्माण पक्षले बताएको थियो । तर, रिलिज टार्गेट गरिएको समय बितिसक्दा पनि चलचित्र छायांकनको कुनै सुरसार छैन । चलचित्रमा दरिलो निर्माता नहुदाँ चलचित्रको छायांकन सुरु नभएको हो ।

बन्दा बन्दै रोकिएका चलचित्रदेखि घोषणा गरेर छायांकन नै हुन नसकेका चलचित्रको उदाहरण लामो छ । विशेषगरि, चलचित्रकर्मीहरु पूर्व तयारी नै नगरी चलचित्रको घोषणा गर्छन् । कतिपयले भने चलचित्र कसरी बन्छ भन्ने नवुझी नै चलचित्र बनाइरहेका छन् । यी र यस्ता कारणले पनि धेरै चलचित्र बन्न सकेका छैनन् । कतिपयले चलचित्र असफल भएपछि त्यसको सिरिज बनाउन घोषणा गरेर असफल भएको थिएन भनेर पुष्टी गर्न पनि हचुवामा घोषणा गरिदिएका छन् । ‘मुखौटा २, अधकट्टी २, भैरे २’ लगायतका चलचित्रलाई उदाहरणको रुपमा हेर्न सकिन्छ ।

चलचित्र गफले बन्ने कुरा नै होइन । यो बन्नका लागि पूर्व तयारी र निर्माण टिमविचको साझेदारी आवश्यक छ । तर, यी सबै कुरा नगर्दा र नवुझ्दा धेरै चलचित्र यसै थन्किएका छन् । यसैले एउटा कुरा के वुझन् आवश्यक छ भने, ‘गफैले मात्र चलचित्र बन्दैन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment