Comments Add Comment

पहिल्यै मैले यस्तो सफल चलचित्र पाएको भए मातिन्थेँ होला: केकी

नायिका केकी अधिकारी अहिले आफू अभिनित चलचित्र ‘छ माया छपक्कै’को सफलतामा दंग छिन् । करिअरमै पहिलो सुपरहिट चलचित्र पाएकी केकीको खुसी नै छुट्टै छ । लामो समयदेखि चलचित्र क्षेत्रमा नै सक्रिय भएर काम गरिरहेकी केकीको २५ वटा चलचित्र यसअघि रिलिज भैसकेका छन् । त्यसमध्ये उनका चलचित्रले क्लिन हिट हुने अवसर पाएनन् । २६ औँ चलचित्रबाट भने उनले सफलता पाइन् ।

चलचित्र सफल भएपनि यो चलचित्र सफलताको पूर्ण जस भने केकीले नपाउने निश्चित थियो । कारण थियो, दीपकराज गिरी र दीपाश्र निरौलाको सफल टिम । कलाकारहरुको जम्बो टोली र सफल ब्यानरमा काम गरेकाले केकीले सफलताको जस लिन पाइनन् । तर पनि निर्माणपक्षले विश्वास गरेर चलचित्रमा लिएकाले केकी खुसी छिन् ।

चलचित्रमा केकी भन्दा अन्य नायिका भएको भएपनि यसको व्यापारमा ठूलो असर पर्ने थिएन । तर, केकीका लागि भने अब राम्रो चलचित्र रोजेर खेल्दा दर्शकले पत्याउँछन् भन्ने आशा भने पलाएको छ ।

 ‘छ माया छपक्कै’को सफलताले तपाईको करिअरमा के फाइदा गर्यो ?
इो चलचित्रको सफलताले मलाई धेरै कुरामा फाइदा गरेको छ । हरेक कलाकारले आफ्नो करिअरमा सफल चलचित्र खोजिरहेका हुन्छन् । आफ्नो चलचित्रलाई धेरैले हेरिदिए हुन्थ्यो भन्ने हुन्छ । त्यो कुरालाई ‘छ माया छपक्कै’ले पुरा गरिदिएको छ । अझ यो चलचित्र त ब्लकबस्टर नै भइदियो । मलाई विश्वास गरेर टिममा लिनुहुने दीपक दाई, दीपा दिदी लगयत सम्पूर्ण टिमप्रति आभारी छु ।

 चलचित्र सफल भएपनि त्यसको पूर्ण जस तपाईले पाउनु भएन । यो कुरालाई स्विकार्नु हुन्छ ?
यो चलचित्रमा मल्टिस्टार कलाकारहरु हुनुहुन्छ । सफल टिम र सफल ब्यानर छ । त्यसैले चलचित्र सफलताको जस मैले पाइन् होला । मेरो ठाउँमा अन्य नायिकालाई लिनुभएको भए पनि उहाँहरु सफल हुनुहुन्थ्यो । व्यापारिक रुपमा मैले उहाँहरुलाई सहयोग गर्न सकिन होला । तर, चलचित्र भित्र पाएको भूमिकालाई न्याय गर्ने कोशिस गरेको छु । कथालाई बलियो बनाउनको लागि मैले पनि मेरो तर्फबाट सक्दो प्रयास गरेको छु ।

पहिलाको चलचित्रहरुबाट तपाईको कामको जुन किसिमको चर्चा हुन्थ्यो, त्यो यो चलचित्रबाट नभएको हो ?
पहिलो कुरा त चलचित्रको विषयबस्तु बलियो हुनुपर्छ भन्ने लाग्छ । त्यसपछि मात्र कलाकारको भूमिका । यो चलचित्रमा भने विषयबस्तु नै बलियो थियो । मैले मेरो भूमिकालाई भन्दा पनि चलचित्रको विषयबस्तुलाई समर्थन गरे । कथालाई नै राम्रो भएर दर्शकको मनमा बसेपछि कलाकारहरु पनि त्यसैमा अट्नुहुन्छ भन्ने लाग्छ ।

 ‘छ माया छपक्कै’सम्म ल्याइपु¥याउने आफ्नो करिअरको उम्दा चलचित्र कुनलाई मान्नुहुन्छ ?
म आफूले काम गरेको हरेक टिमप्रति आभारी छु । हरेक चलचित्रलाई सम्झिन्छु । व्यापारिक रुपमा असफल भएका, ठिकै व्यापार गरेका हरेक चलचित्रले नै मलाई यहाँसम्मको बाटो बनाइदिएको हो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको मैले निरन्तर रुपमा काम गर्ने सौभाग्य पाए । यदि कतै मैले विश्राम गर्नुपरेको थियो भने यो स्थान पाउने थिएन । त्यसैले हरेक चलचित्रलाई म खास मान्छु ।

यदि नायिकाहरुमा आफूलाई कुनै स्थानमा राख्नुपरे, कुन स्थानमा राख्नुहुन्छ ?
म श्रेणी वा तहमा विश्वास नगर्ने मान्छे हुँ । मलाई यो कुरामा कत्ति पनि विश्वास लाग्दैन । आफ्नो पक्षबाट हरेकले राम्रो काम गर्ने प्रयास गरिरहनु भएको हुन्छ । मैले पनि गरिरहेको छु । हाम्रो काम भनेको राम्रो काम गर्ने प्रयास गर्ने हो, स्थान खोज्नतिर लाग्नु हुँदैन भन्ने लाग्छ ।

 चलचित्र क्षेत्रमा नायिकाको आयु सिमित हुन्छ भनिन्छ । यो कुरामा कत्तिको विश्वास गर्नुहुन्छ ?
मलाई त यो सबै कुरा मिथ्या हुन जस्तो लाग्छ । हलिउड, बलिउड तीर हेर्ने हो भने धेरै नायिकाहरुले लामो समयदेखि निरन्तर काम गरिरहनु भएको छ । उहाँहरुलाई न बिबाहले रोकेको छ, न उमेरले । कथाबस्तु र भूमिका सुहाउँदो चलचित्र बन्यो भने उमेरले केही गर्दैन । नेपालमा पनि त्यस्ता चलचित्रहरु बन्न थालेका छन् । त्यसैले चलचित्र करिअर यति नै हुन्छ भन्ने हुँदैन ।

अब आफ्नो भविष्य कस्तो देख्नुभएको छ ?
म वर्तमानमा रमाउने मान्छे हुँ । पहिल्यै मैले यस्तो सफल चलचित्र पाएको भए म मातिन्थेँ होला । तर, अहिले धेरै भोगिसकेको भएर होला, म मात्तिएकी छैन । धेरै वटा चलचित्र असफलताको भोगाई मसँग छ । त्यो सबै क्षणिक हुने रहेछ । अहिले म खुसी छु । त्यो पनि क्षणिक नै हो । अबको दिनमा पनि म राम्रो काम गर्ने प्रयास गर्नेछु । पाएको राम्रो अवसरलाई गुमाउने छैन ।

प्रस्तुती : दिप्सन लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment