Comments Add Comment

शिशु मृत्युको घटना लेनदेनमा मिल्यो

२० कात्तिक, विराटनगर । नोबेल मेडिकल कलेजमा नवजात शिशुको मृत्यु भएको घटना लेनदेनमा मिलाइएको छ । जन्मिएको २४ घण्टा नबित्दै शिशुको मृत्यु भएको घटना लेनदेनमा साम्य भएको हो ।

सोमबार जन्मिएको शिशुको मंगलबार विहान मृत्यु भएको थियो । समयमा नै चिकित्सक नआएपछि शिशुको मृत्यु भएको दाबी गर्दै मृतकका आफन्तले बिरोध गरेपछि अस्पतालले २ लाख ५० हजार रुपैयाँ दिएर साम्य पारेको हो ।

सुनसरीको बर्जु गाउँपालिका-६ चिमडीका दीपक राईकी श्रीमती ३७ वर्षीय माण्डवी राईले सोमबार बिहान सामान्य प्रसूतिमार्फत दोस्रो सन्तानका रुपमा छोरो जन्माएकी थिइन् ।

आमा बच्चा दुबैको स्वास्थ्य राम्रो भएपछि अस्पतालले मंगलबार डिस्चार्ज दिने बताएको थियो । तर मंगलबार बिहानको राति नै शिशुको मृत्यु भएको थियो ।

जन्मिएको २४ घण्टासम्म चिकित्सकले एक पटक पनि नहेरेका कारण बच्चाको मृत्यु भएको मृतकका काका राम राईले बताए ।

बच्चाको अवस्था ठीक नभएपछि आफन्त चिकित्सक खोज्न पुगेका थिए । तर, डेढ घण्टासम्म चिकित्सक नभेटिएपछि शिशुको मृत्यु भएको रामले बताए ।

अस्पतालका कारण शिशुको मृत्यु भएपछि आफूहरुले क्षतिपूर्ति माग गरेको उनले बताए । छलफलका क्रममा अस्पतालले दुई लाख ५० हजार रुपैयाँ दिने सहमति जनाएपछि शव बुझेको रामले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment