Comments Add Comment

जेनिश र सुष्मा उत्कृष्ट खेलाडी

२० कात्तिक, काठमाडौं । पुरुषमा पोखराका जेनिश गुरुङ र महिलामा नक्सालकी सुष्मा तामाङ प्रथम यु–१९ राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको पुरुषतर्फ ४९ केजीमा रबन ओलीले दाङका सुरज ओली, ५२ केजीमा कास्कीका सुरज गुरुङले दाङका रोहन मालिकलाई पराजित गर्दै पहिलो भएका छन् । त्यस्तै, ५६ केजीमा पोखराका जेनिश गुरुङले पाल्पाका ज्ञानेन्द्र कमामु, ६० केजीमा दाङका अनिलकुमार पुन मगरले बाँकेका इन्द्रबहादुर सुनुवार र ६४ केजीमा कैलालीका सम्राट चौधरीले झापाका तोविन प्रधानलाई पराजित गर्दै पहिलो भए ।

यता, ६९ केजीमा कास्कीका निरज थापाले बक्समान्डुका मनिष भुजेल र ७५ केजीमा मकवानपुरका निश्चल विष्टले नक्सालका सम्पन्न तण्डुकारलाई फाइनलमा पराजित गरी स्वर्ण जिते ।

ललितपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६–४८ केजीमा नक्सालकी सुष्मा तामाङले बीएफसीकी रमिशा श्रेष्ठ, ४८–५२ केजीमा झापाकी नरिका राईले दमककी अनिशा कुमाल र ५१–५४ केजीमा एपीएफकी सन्जुमाया थिङले बीएफसीकी सुमिना खड्कालाई पराजित गर्दै स्वर्ण पदक जिते । ५४–५७ केजीमा झापाकी सुस्मिता राईले नक्सालकी मुस्कान डंगोल, ५७–६० केजीमा बक्समान्डुकी डेछेन शेर्पाले पोखराकी अस्मिता बस्नेत तथा ६०–६४ केजीमा झापाकी तृषना जबेगुले बक्समान्डुकी हेमा राईलाई हराउदै पहिलो भए ।

लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा पोखरा तथा महिलामा झापा टिम च्याम्पियन बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment