+
+

शोकलाई शक्तिमा बदल्न चुनावमा होमिएँ : विद्या भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १६:०६

२१ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी विद्या भट्टराईले शोकलाई शक्तिमा बदल्न चुनावी मैदान उत्रिएको बताएकी छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि कास्की २ मा उपचुनाव हुँदैछ, जसमा सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा)ले अधिकारी पत्नी विद्यालाई उम्मेदवार बनाएको छ ।

बिहीबार भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित सभामा नेकपाका नेताहरुले आफ्नो जिम्मेवार जित नजिक रहेको बताएका छन् ।

नेकपा उम्मेदवार विद्याले पनि हिजो जनताका सुखदुःखसँग जोडिएका जनप्रतिनिधिले जस्तै आफूले पनि जनमतको कदर गर्ने बताइन् । ‘शोकलाई शक्तिमा बदल्ने आँटसहित तपाईंहरुसँग एकाकार हुन आएकी छु’, सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले कम्युनिस्ट पार्टीको सरकारप्रति धेरै अपेक्षा राखेका छौं । त्यो भरोसाबाट आत्तिनुपर्ने बेला आएको छैन ।’

उनले आफूप्रति पार्टीले गरेको विश्वासलाई कहिल्यै कम हुन नदिने पनि बताइन् । ‘म खुला किताब हुँ, तपाईंहरुले जतिबेला पनि पढ्न सक्नुहुन्छ । पढ्दा कहीँ मेरो कमजोरी भयो भने औंला ठड्याउने हिम्मत तपाईंहरुले राख्नुपर्छ,’ विद्याले भनिन्, ‘जनताका प्रतिनिधि जहिले पनि जनताको मनमा बस्न सक्नुपर्छ ।’

‘तपाईंहरुको मनमा बसेको, देशविकासमा लागि परेका नेतालाई निर्वाचित गरेर पठाउनुभयो । ५ वर्षका लागि जिताएर पठाउनुभएको हो तर एक वर्षपछि दुःखद अवस्थाबाट गुमाउनुप¥यो,’ विद्याले भनिन्, ‘२ वर्षपछि फेरि उपनिर्वाचन गर्नुप¥यो ।’

जनताले चुनेर पठाएका प्रतिनिधि नभएपनि पाँच वर्षका लागि दिनुभएको जनमत कायम रहेको भन्दै उनले भनिन्, ‘निर्वाचनमा मैले विजय हाँसिल गरिसकेपछि जनमतलाई कतै पनि असर नपर्ने गरी प्रतिवद्ध जनप्रतिनिधिका रुपमा काम गर्ने छु ।’

आफ्ना पति समेत रहेका रवीन्द्रलाई प्रिय नेताका रुपमा स्मरण गरेकी उनले आफ्ना विषयमा उठेका प्रश्नहरुको जवाफ पनि दिइन् । हिजोको विद्यार्थी नेतालाई बिर्सन र त्यसपछि पनि आफू प्राध्यापन क्षेत्रमा काम गरिरहेको असल प्राध्यापक भएको बताइन् । ‘विद्या भट्टराई विद्यार्थी राजनीतिक आन्दोलनबाट मात्रै होइन, महिला, वौद्धिक आन्दोलनमा सक्रिय महिला हुन्’ उनले भनिन्, ‘हिजो मैले राजनीतिक कार्यकर्ताका रुपमा काम गरिन होला, तर एउटा योद्धालाई राजनीतिक रुपमा सहयोग गर्नु पनि राजनीतिभित्रै पर्छ ।’

एउटै परिवारबाट दुबै जना राजनीतिक अभियानमा लाग्दा दुबैको गति रोकिन सक्ने देखेर आफूले गति कम गरेको विद्याको भनाइ थियो । ‘हाम्रो परिवार नै राजनीतिक परिवार हो । एउटा राजनीतिक योद्धाको घरमा हरेक दिन राजनीतिको नीति, नियम कस्तो बनाउने भन्ने छलफल हुने गर्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?