Comments Add Comment

उपचुनावमा नेकपाका शीर्ष नेता खटिँदै, प्रधानमन्त्री र मन्त्रीहरुलाई आचारसंहिता

Photo Credit : रासस

२२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १४ का उपनिर्वाचनको प्रचार प्रसारमा शीर्ष नेताहरुलाई उतार्ने भएको छ । सम्बन्धित जिल्ला र प्रदेश कमिटीहरुसँगको समन्वयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता चुनावी कार्यक्रममा सहभागी हुनेछन् ।

उम्मेदवारी मनोनयनकै कास्कीमा प्रचण्ड, भक्तपुरमा बामदेव गौतम र दाङमा शंकर पोखरेल सहभागी थिए । प्रचण्ड उम्मेदवारी मनोनयनको अघिल्लो दिन दाङमा थिए भने बिहीबार पोखरा पुगे । महासचिव विष्णु पौडेल पनि शुक्रबार पोखरा पुगेका छन् ।

पोखरामा कास्की २ को उपनिर्वाचनको तयारीका लागि वृहत कार्यकर्ता भेला आयोजना गरिएको र सोही कार्यक्रममा अध्यक्ष तथा महासचिव पोखरा आएको नेकपाका जिल्ला अध्यक्ष कृष्ण थापाले बताए । प्रचण्ड दुई दिनदेखि पोखरामै कार्यकर्ता तथा जिल्लाका प्रभावशाली व्यक्तिहरुसँग भेटघाटमा छन् ।

उपचुनावको प्रचार प्रसार तथा जनसभाहरुलाई सम्बोधन गर्न अध्यक्षसहित वरिष्ठ नेताहरुलाई खटाउने तयारी रहेको महासचिव पौडेलले बताए । स्थानीय कमिटीहरुले कार्यक्रम तय गरेपछि केन्द्रबाट नेताहरुलाई आवश्यकताअनुसार उपचुनाव हुने ठाउँमा खटाइने पौडेलले बताए ।

नेकपाले अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेललाई चुनावी अभियानमा खटाउने भएको छ । त्यस्तै स्थायी कमिटीका सदस्य र केन्द्रीय सदस्यहरुलाई पनि आ आफ्नो क्षेत्रमा जान निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहितालाई समेत ख्याल गरेर चुनाव प्रचार प्रसारमा प्रधानमन्त्री र मन्त्रीहरुलाई नखटाइने नेकपा स्रोतले जनाएको छ । यद्यपी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु भने उपचुनावमा सक्रिय छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बिहीबार उम्मेदवारी मनोनयनका क्रममा दाङमा थिए ।

पोखरेलले उम्मेदवारी मनोनयनपछि नेकपा उम्मेदवार विमला वलीको लागि मत मागेका थिए । त्यस्तै गण्डकी सरकारका अर्थमन्त्री किरण गुरुङ पोखरामा प्रचार प्रसारमा छन् । पोखरेल प्रदेश कमिटी इन्चार्ज र किरण गुरुङ गण्डकीको सहइन्चार्ज भएकाले चुनावी सभाहरुमा सम्बोधन गर्नु स्वाभाविक रहेको नेकपाका नेताहरु बताउँछन् ।

निर्वाचन आयोगले भने केन्द्र सरकारदेखि स्थानीय सरकारसम्मका पदाधिकारी निर्वाचन प्रचार प्रसारमा सहभागी हुन नपाउने जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ‘निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री स्थानीय तहका मेयर उपमेयरसमेत कुनै दलका उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन मिल्दैन । यदि सहभागी हुनुभयो भने त्यो आचारसंहिता विपरीत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment