Comments Add Comment

बुटवलको कालिकापथ २५ मिटर फराकिलो बनाइँदै

साढे ६ करोड बजेट छुट्याएर काम सुरु

२५ कात्तिक, रूपन्देही । बुटवलको बसपार्क–योगीकुटी सडकखण्ड विस्तारको काम सुरु भएको छ । कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ ।

सडक मिचेर बनाइएका संरचना डोजर प्रयोग गरी भत्काउने र बाटो चौडा पार्ने काम अहिले भइरहेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णुबहादुर थापाले अहिले साइड क्लियर गर्ने र नाली खन्ने कार्य भइरहेको जानकारी दिए ।

गत आर्थिक वर्षको सुरुमै यो सडकको क्षेत्राधिकार छुट्टाएर काम सुरु गर्ने भनिए पनि अहिले बल्ल सडक विस्तारको कामलाई तीव्रता दिइएको हो । बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने उल्लेख छ ।

२० वर्ष पहिलेको योजना

२०५४ सालमै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो । यद्यपि केही व्यक्तिहरुको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा बिस्तार हुन सकेको थिएन । अहिले अधिकांश स्थानीयबासीको साथ पाएपछि मूल सडक जस्तै भित्री सडक पनि स्तरोन्नती गर्न लागिएको हो ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले नगबासीहरुकै सहकार्यमा योजनाहरुको सफल कार्यान्वयन गरिने बताउँदै दीर्घकालीन योजना अनुरुप बुटवलमा पूर्वाधार विकासका कामहरु भइरहेको बताए । ‘वैकल्पिक मार्गहरुको स्तरोन्नति गर्ने, विस्तार गर्ने, नमूना पिच गर्नेदेखि सहायक मार्गमा पुल र आकासे पुल निर्माण गर्नेसम्मका काम धमाधम थालेका छौं,’ उनले भने ।

ग्रामीण सडक स्तरोन्नति

यसैबीच बुटवलको वडा नं. ११ देखि १९ का विभिन्न टोलहरु जोड्ने ग्रामिण सडकलाई स्तरोन्नति गर्दै ग्राभेल पनि गरिएको छ । तीमध्ये केही सडकमा पिचको काम सुरु भएको छ ।

वडा नं. १ देखि १० सम्मका भित्री सडकहरुको स्तरोन्नति गर्नेदेखि मर्मत सम्भार गर्ने काम चलिरहेको छ । बुटवलको सबैभन्दा धेरै जनसंख्या रहेको वडा नं. ११ मा अधिकांश सडकहरुको स्तरोन्नति भएको छ ।

यहाँ गत आर्थिक वर्षमा सञ्चालित करिब एक सय वटा योजनाहरुमध्ये सडक विस्तार र स्तरोन्नतीका धेरै छन् । नमूना पिच, नमूला नाली निर्माण, ठूला बस्ती जोड्ने पुल निर्माणदेखि ढल निकासका कामहरु भएको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।

मापदण्ड अनुरुपको सडक कायम गर्नका लागि अहिले प्राविधिकसहितको विशेष टोलीले विभिन्न सडक खण्डहरुको अध्ययन गरिरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाइ छ ।

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बाइपास सडकहरुलाई बुटवलको चक्रपथसँग जोड्ने गरी काम भइरहेको बताए ।

बुटवल उपमहानगरपालिकाले चुरे पहाड र तराईलाई जोड्दै झण्डै ४५ किलोमिटर लामो चक्रपथ निर्माण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment