Comments Add Comment

उपचुनाव : स्थानीय तहको उम्मेदवारी दर्ता आज, के–के चाहिन्छन् कागजात ?

२७ कात्तिक, काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहमा बुधबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहअन्तर्गत एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्षका लागि उपनिर्वाचन हुने छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले चुनाव चिह्नसमेत वितरण गरिसकेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान भने सबैको मंसिर १४ गते नै हुनेछ ।

बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् ।

उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।

स्थानीय तहका उम्मेदवारलाई मनोनयन दर्ता गर्न चाहिने कागजात

(१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(२) सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (वडा अध्यक्ष पदको लागि) ।
(३) सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि) ।(४) राजनीतिक दलले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिकपत्र (राजनीतिक दलको उम्मेदवारको हकमा) ।
(५) स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदको लागि एक हजार रुपैयाँ धरौटी ।
(६) मतदाता नम्बर
(७) सम्पत्ति विवरण
(क) घर संख्या
(ख) घर रहेको स्थान
(ग) जग्गाको विवरण (जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नं., कि.नं., क्षेत्रफल)
(८) अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए निजले बहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment