Comments Add Comment

‘म लभ स्टोरी फिल्मको एक्लो हिरो’: आर्यन

‘मेरो विकल्पमा धेरै छन्, तर मेरा दर्शक घटेका छैनन्’

नेपाली चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको आगमन यस्तो समयमा भयो, जुन समय चलचित्र क्षेत्रमा चकलेटी नायकहरुको बाहुल्यता थियो । चलचित्र क्षेत्रले चकलेटी अनुहारलाई नै विशेष स्थान दिइरहेको थियो । सोही समय चकलेटी अनुहारमा आर्यनले छुट्टै स्थान बनाए । उनको क्रेज लोभलाग्दो बन्यो ।

आर्यनलाई चर्चाको उत्कर्षमा पु¥याउने चलचित्र बन्यो, ‘मेरो एउटा साथी छ’ । सुदर्शन थापा निर्देशित उक्त चलचित्रले आर्यनलाई स्टारडमको ‘किङ’ बनायो । चलचित्रमा आर्यन चकलेटी लभर व्याईको भूमिकामा प्रस्तुत भएका थिए । जताततै आर्यनको लुक्स र अभिनयको चर्चा चल्यो ।

आर्यनलाई चर्चामा ल्याउने चलचित्र ‘मेरो एउटा साथी छ’को साहयक भूमिकामा नायक दयाहाङ राई देखिएका थिए । त्यो सयम दयाहाङलाई कसैले चिनेनन्, वास्ता पनि गरेनन् । आर्यन लभ स्टोरी चलचित्रमा राज गर्दै गए । उनको घरमा स्क्रिप्टको खात बढ्दै गयो । समय यसरी बद्लियो कि, आर्यनलाई चर्चा दिने चलचित्रमा ‘नोटिस’ नभएका दयाहाङ कै कारण आर्यनलाई फेरि एकपटक स्टारडमका लागि संघर्ष गर्नुपर्यो ।

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’बाट दयाहाङ राई मुख्य भूमिकामा देखिए । नेपाली चलचित्रको ट्रेन्ड चेन्ज गर्न सफल भएको यो चलचित्रबाट दयाहाङ राई पनि चम्किए । दयाहाङले त ‘हिरो’को परिभाषा नै बदलिदिए । हिरो हुनलाई सुन्दर र चकलेटी अनुहार हुनुपर्छ भन्ने मान्यता उनले तोडिदिए ।

यसको प्रत्यक्ष असर त्यसबेला राज गरिरहेका आर्यनलाई नै प¥यो । दयाहाङ, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारहरुको उदयले आर्यन छायामा परे । आफ्नो स्टारडम खोज्नको लागि आर्यनले पुनः संघर्ष सुरु गर्न बाध्य बनायो ।

थिएटरबाट जन्मिएका कलाकारहरुको दबदबा बढेपछि धेरै कलाकारहरु पाखा लागे । तर, आर्यनले चलचित्र क्षेत्र छोड्न सकेनन् । निरन्तर रुपमा चलचित्रमा काम गरिरहेका छन्, आर्यन ।
करिअर ठिकठाक चलिरहेकै थियो । आर्यन आफ्नो स्थान फर्काउन कसरत गरिरहेका थिए । सोही समय आर्यनलाई साथी–भाइको भनेर चलचित्रमा काम गर्नुपर्ने बाध्यता आइप¥यो । उनले साथीहरुको मन राख्नको लागि जस्तो पनि चलचित्रमा काम गरे । जसले गर्दा आर्यनका दर्शक भड्किए । आर्यनमाथिको भरोसा टुट्यो ।

पछिल्लो समय आर्यन चलचित्र छनोटमा गम्भिर छन् । स्क्रिप्ट र टिम चित्त नुबुझेसम्म चलचित्रमा काम गर्दैनन् । तर, आर्यनको ब्याडलक नै मान्नुपर्छ उनी अभिनित चलचित्रहरु सफल भइरहेका छैनन् । र पनि आर्यनले हरेश खाएका छैनन् । उनी दर्शकको मायामा नम्बर १ बन्ने दौडमा दौडिरहेका छन् ।

आर्यन अभिनित पछिल्लो चलचित्रहरु ‘रुद्रप्रिया, कायरा, हजार जुनीसम्म’ लगतार असफल भए । जुन चलचित्रले आर्यनको सुस्ताएको करिअरलाई उचाई दिन्छ भन्ने थियो सोही चलचित्रहरुले आर्यनलाई असफलताको ट्याग भिराइरहेका छन् ।

आर्यन आफ्नो चलचित्रको बजेट धेरै हुने भएकाले लगानी उठाउन गाह्रो हुने बताउँछन् । उनले भने–‘यो मेरो ब्याडलक नै भन्नुपर्छ, मैले जुन चलचित्रमा काम गर्छु त्यो चलचित्रको बजेट बढी हुन्छ । त्यसैले बक्स अफिसमा हिट हुन्न । नत्र त मेरो चलचित्रहरुको कमाई औसत हिट नै हुन्छ ।’ उनी आफूले गरेको क्यारेक्टरले पाउने प्रशंसाबाट भने खुसी छन् ।

त्यो चर्चा र अहिलेको अवस्था
०६६ सालको अन्त्यतिर रिलिज भएको थियो, ‘मेरो एउटा साथी छ’ । उक्त चलचित्रपश्चातको केही वर्ष त आर्यनमय थियो चलचित्र क्षेत्र । आर्यनलाई आफ्नो चलचित्रमा काम गराउनको लागि निर्माता निर्देशकको लाइन लाग्थ्यो ।

लभ स्टोरी चलचित्र निर्माण गर्नुपर्यो भने आर्यनको विकल्पमा कोही पनि थिएन । उनी भन्छन्–‘त्यो बेला कलाकारहरु एकदमै कम हुनुहुन्थ्यो । आर्यनको विकल्पमा कोही कलाकार थिएन । अझ भनौं, लभ स्टोरी चलचित्रको एक्लो कलाकार म थिएँ ।’ यसै कारणले पनि दर्शकमात्र होइन, चलचित्रकर्मीहरुमा पनि आर्यनको गज्जब क्रेज थियो ।

अहिले त्यो चर्चा कम भएको कुरालाई नकार्न सक्दैनन् आर्यन । नयाँ पुस्ताका कलाकारहरुको उपस्थितीले पनि चलचित्र क्षेत्रमा आफ्नो चर्चा कम भएको आर्यनको बुझाई छ । तर, दर्शकमा भने आफ्नो क्रेज घटेको कुरा आर्यनलाई स्विकार्य छैन् । ‘अहिले त धेरै कलाकारहरु जन्मिनु भएको छ । आर्यनको विकल्प धेरै हुनुहुन्छ । त्यसैले पनि यो क्षेत्रमा मेरो चर्चा कम हुनु स्वभाविक हो’, आर्यन भन्छन्, ‘तर, मेरो दर्शकको ग्राफ घटेको छ जस्तो मलाई लाग्दैन ।’

अहिले पनि आर्यनलाई चलचित्रको अफरहरु भने उत्तिकै आइरहेका छन् । तर, आर्यन हत्तारमा चलचित्र गर्ने मनस्थितीमा छैनन् । थोरै गर्ने राम्रो गर्ने आत्मनिर्णयमा उनी छन् । पहिला जति चलचित्र उनले छोड्ने गर्थे अहिले पनि उत्तिकै संख्यामा उनले चलचित्रको अफर नकारेका छन् ।

आर्यन आफ्नो कामबाट नम्बर १ बन्न चाहन्छन् । ‘मलाई धेरै पारिश्रमिक लिएर वा धेरै चलचित्र गरेर नम्बर १ बन्नु छैन’, आर्यनले भने, ‘मेरो कामबाट कसैको नाक नखुम्चियोस् । त्यसैमा म आफूलाई नम्बर १ ठान्छु ।’ यो दौड मनबाट हराए राम्रो काम गर्न नसकिने आर्यनको बुझाई छ ।

अब कमेडी चलचित्रमा आर्यन
आर्यन अहिले आफ्नो नयाँ चलचित्र ‘च च हुई’को प्रचारमा लागिरहेका छन् । कमेडी जनरामा बनेको यो चलचित्रमा आर्यनले मुख्य भूमिका निर्वाह गरेका छन् । लभर ब्वाईको रुपमा प्रस्तुत हुदै आएका आर्यन यो चलचित्रमा भने कमेडी भूमिकामा छन् । तर, कमेडी गर्ने बाहानामा आफ्नो धारलाई चट्टकै छोडेका भने छैनन् । यो चलचित्रमा पनि आर्यनलाई चकलेटी र लभर ब्वाईको रुपमा देख्न सकिन्छ । आर्यन भन्छन्, ‘कमेडी चलचित्र भनेर पूर्ण कमेडी पनि होइन । कमेडी जनरामा आधारित हो । तर, यो चलचित्रमा लभ, रोमान्सलाई पनि स्थान दिइएको छ ।’

आखिर कमेडी चलचित्रमा काम गर्न किन तयार भए त आर्यन ? चलचित्रको विषयबस्तु, कथा र टिम मनपरेपछि काम गर्न तयार भएको आर्यन बताउँछन् । ‘मैले रमपम कमेडी चलचित्रमा त काम गरिरहेको थिएँ । यसमा भने कमेडी बढी नै छ’, उनले भने, ‘स्क्रिप्ट र टिम निकै राम्रो लागेपछि काम गर्न तयार भएको हुँ ।’

फरकधारको चलचित्र निर्देशन गरिरहेका साम्तेन भुटियाले यो चलचित्रको निर्देशन गरेका छन् । भुटियाको काम गर्ने शौली र सोच आर्यनको आकर्षण बन्यो । आर्यन भन्छन्, ‘उहाले जुन किसिमले चलचित्रको विषय प्रष्ट्याउनु भयो म सोही बेला उत्साहित भएको थिएँ । उहाँले यो चलचित्रमा आफ्नो धारलाई पनि बिर्सनु भएको छैन । त्यसमा कमर्सियल जोड्नु भएको छ । जुन एकदमै उत्कृष्ट बनेको विश्वास छ ।’

चलचित्र निर्माणको कुरा
चलचित्र ‘कायरा’ आर्यनले निर्माण गरेको चलचित्र हो । यो चलचित्र रिलिज हुँदै गर्दा आर्यनले भनेका थिए, ‘प्रत्येक वर्ष म एउटा चलचित्र निर्माण गर्नेछु ।’  तर, अहिले आर्यन चलचित्र निर्माणको कुनै सुरसारमा छैनन् । राम्रो स्क्रिप्ट हात नपर्दा उनी चलचित्र निर्माण गर्ने आट गर्न सकेका छैनन् ।

उनी भन्छन्–‘कायरामा चलचित्रको फ्लो नबुझ्दिनाले हामी चिप्लियौँ । अब त झन् गम्भिर भएर काम गर्नुपर्ने हुन्छ । त्यसैले राम्रो स्क्रिप्टको खोजीमा छु ।’ कसैले राम्रो कथाको अफर गर्छ भने भोलीदेखि नै काम गर्ने आर्यन बताउँछन् ।

आर्यन आफैलार्ई चलचित्र लेख्ने वा निर्देशन गर्ने आँट भने आइसकेको छैन् । यो कुरामा निकै गम्भिरता चाहिन्छ । त्यो आर्यन आफूमा पाउँदैनन् । उनले भने, ‘लेख्ने काम हाम्रो होइन, यसका लागि धेरै विज्ञहरु चाहिन्छ । लेखेको कुरामा सुझाव दिन सकिन्छ तर, लेख्न सकिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment