Comments Add Comment

बंगलादेशका राष्ट्रपतिले फेवातालमा डुंगा सयर गर्ने

२८ कात्तिक, पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदैछन् । पोखराको फेवातालमा उनलाई डुंगा सयर गराउने कार्यक्रम छ ।

उनी नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट १० बजे पोखराका लागि प्रस्थान गर्नेछन् । उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गर्नेछन् ।

एयरपोर्टबाट राष्ट्रपति हमिद लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गर्न जानेछन् । त्यसपछि फेवातालमा उनले डुंगा सयर गर्ने कार्यक्रम छ ।

केहीबेर डुंगा सयर गरेपछि पुनः फिस्टेल लजमा खाना खाएर रुपाकोट रिसोर्ट जाने कार्यक्रम निर्धारण गरिएको छ । राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।

रुपाकोटमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री एवम् गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार गोविन्द नेपालीलगायत पनि रुपाकोट जाने कार्यक्रम छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने हाल अमेरिका भ्रमणमा छन् ।

राष्ट्रपति हमिदको पोखरा भ्रमण पूरै अनौपचारिक हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘उहाँको औपचारिक कार्यक्रम केही पनि छैन, गुडविल भिजिट भनेको छ ।’

पोखराबाट फर्किएपछि उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनले भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment