+
+
Shares

अमेरिकामा कुन्ता शर्मासहित ७ स्रष्टा पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १३:३२

२८ कात्तिक, अमेरिका । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले सर्वोकृष्ट काव्य पुरस्कार चर्चित साहित्यकार कुन्ता शर्मालाई प्रदान गरेको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले अमेरिकाको वासिन्टन डीसीमा एक समारोहबीच साहित्यकार शर्मालाई पुरस्कार प्रदान गरेको हो ।

अमेरिकी डलर १ हजार राशीको यो पुरस्कार कवि शर्माको ‘मेरो मान्छे’ कविता संग्रहका लागि प्रदान गरिएको हो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले हरेक २ वर्षमा प्रदान गर्ने यो सर्वोत्कृष्ट काव्य पुरस्कार एरिजोना निवासी अनेसास बोर्ड अफ ट्रस्टिज (बीओटी) का पूर्वउपाध्यक्ष रोहिणी शर्माले स्थापना गरेका हुन् ।

पुरस्कृत शर्मा बिशेष गरी साहित्यको कविता विधामा कलम चलाउँछिन् । पूर्वसांसद समेत रहेकी धरान निवासी शर्माको ‘पोथी बास्नु हुँदैन’ भन्ने शीर्षकको कविता चर्चित छ ।

अमेरिकाको वासिंटन डीसीमा आइतबार आयोजना गरिएको कार्यक्रमको शुभारम्भ गर्दै अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की तथा बीओटी अध्यक्ष गीता खत्रीले शर्मालाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेललाई अमेरिकी डलर २५ सय राशीको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै अमेरिकी डलर दुई हजार राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट यस वर्ष नेपालका कथाकार नरेन्द्रराज पौडेल रोबोटका आँखा नामक कथासंग्रहका लागि पुरस्कृत भए ।

यसैगरी, अमेरिकी डलर ११ सय राशीको अनेसास स्व.दिल–लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार छाप्रो नं.५५ नामक उपन्यासका लागि भुटानबाट प्रवासी जीवनका क्रममा नेपाल हुँदै हाल अमेरिकामा रहेका युवा उपन्यासकार रमेश दियालीले प्राप्त गरे ।

त्यसैगरी अनेसास डा. श्याम कार्की–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार यस वर्ष नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरियो । त्यस्तै ५ सय अमेरिकी डलरको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार यस वर्ष नमिता बरालको आँगन गजल संग्रहले पाएको छ । ५ सय डलर राशीकै अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट संस्कृति अनुसन्धान पुरस्कार मस्टो संस्कृति नामक सांस्कृतिक अनुसन्धानमुलक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?