Comments Add Comment

प्रदेश ३ को लोक सेवा आयोग अध्यक्षमा सुरेशमान श्रेष्ठ सिफारिस

२९ कात्तिक, काठमाडौं । प्रदेश ३ को लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्वसचिव सुरेशमान श्रेष्ठलाई सिफारिस गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल संयोजकत्वको सिफारिस समितिले श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको हो ।

अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न मुख्यमन्त्री पौडेलको संयोजकत्वमा सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख विपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ सदस्य रहेको समिति गठन गरिएको थियो ।

सो समितिले अध्यक्षमा श्रेष्ठलाई सिफारिस गरे पनि महिलासहित अन्य दुई सदस्यको नियुक्तिको सिफारिस भने गरेको छैन । श्रेष्ठसहित अन्य दुई सदस्यको नियुक्ति कहिले हुन्छ भन्ने पनि टुंगो लागिसकेको छैन । आयोगका अध्यक्ष र सदस्यहरुको नियुक्ति प्रदेश प्रमुखले गर्ने व्यवस्था छ ।

अध्यक्षमा सिफारिस श्रेष्ठले ३२ वर्षसम्म निजामती सेवामा बिताएका छन् । उनी श्रम तथा रोजगार मन्त्रालयको सचिवसमेत बनेका थिए । लमजुङको दुराडाँडामा २०१५ साल जन्मिएका श्रेष्ठ २०४१ सालमा नेपाल सरकारको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका थिए । हाल काठमाडौंको गोंगबु बस्दै आएका श्रेष्ठले एमएससी र एमपीए गरेका छन् ।

प्रदेश लोक सेवा आयोग गठन भइसकेपछि प्रदेशलाई आवश्यक कर्मचारीको भर्ना छनौट गर्ने बाटो खुल्ने छ ।

अध्यक्ष र सदस्यको लागि ४ आवश्यक योग्यता तोकिएका छन् । मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने छ । यसैगरी पैंतालिस वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने छ ।

आयोगका सदस्यमध्ये एक जना बीस वर्ष वा सोभन्दा बढी कुनै सरकारी सेवामा रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै बाँकी सदस्यहरू विज्ञान, प्रविधि, कला, साहित्य, कानून, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान, अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेको हुनुपर्छ । प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment