Comments Add Comment

‘अनलक्की नायिका’ भन्दा फिल्म क्षेत्र नै छाडिदिउँ जस्तो लाग्छ’: मिरुना

लण्डनमा बस्दै आएकी मिरुना मगरलाई अभिनयमा खुबै रुची थियो । आमा थिएटरको कलाकार भएका कारण पनि उनलाई अभिनयमा चासो बढेको थियो । सन् २०१६ मा नेपाल आएकी मिरुनाले रहरै रहरमा अभिनय सिकिन् । एक्टर स्टूडियोमा अभिनय सिकेकी मिरुनाले नाटकमा काम गर्ने अवसर पाइन् । नाटक थियो, ‘कथा देश ३’ ।

उक्त नाटकमा काम गरेपछि मिरुनाले चलचित्रमा अवसर पाइन् । निर्माणाधिन चलचित्र ‘लालपूर्जा’बाट मिरुनालाई मुख्य नायिकाको अफर आयो । चलचित्रमा सौगात मल्ल, विपिन कार्की जस्ता थिएटरका हस्तीहरु अनुबन्धित भएका थिए । त्यसैले पनि मिरुना चलचित्रमा काम गर्न राजी भइन् ।

चलचित्रलाई लिएर मिरुनामा छुट्टै उर्जा र उत्साह थियो । जब चलचित्र पूर्ण रुपमा तयार भएर हलमा लाग्यो, दर्शक निराश भए । चलचित्र अपेक्षित नबनेपछि दर्शक निराश हुनु स्वभाविक भयो । जब दर्शक निराश भए, निर्माता खुसी हुने ठाउँ रहेन ।

पहिलो चलचित्रबाट नै मिरुनाले फ्लपको ट्याग पाइन् । तर पनि मिरुनालाई ‘गोपिकृष्ण मुभिज’ले विश्वास गर्यो । चलचित्र ‘रोज’मा मिरुनाले काम गर्ने अवसर पाइन् । यो चलचित्रमा जल्दाबल्दा नायक प्रदीप खड्काको मुख्य भूमिका थियो । यो चलचिबाट मिरुना फ्लपको ट्याग हट्नेमा विश्वस्त थिइन् ।

मिरुनाको ब्याडलक नै भन्नुपर्छ, दोस्रो चलचित्र पनि अपेक्षित बनेन । बक्सअफिसमा यो चलचित्र नराम्रोसँग चिप्लियो ।

दुई चलचित्र असफल हुँदा पनि मिरुनाको चलचित्र यात्रा रोकिएन । उनले तेस्रो चलचित्र ‘साइनो’मा काम गरिन् । तर, यो चलचित्रबाट पनि मिरुना असफल नै भइन् । लगातार तीन चलचित्र असफल भएपछि मिडियाले मिरुनालाई ‘अनलक्की’ नायिकाको ट्याग दिए ।

अहिले मिरुना चौथो चलचित्र ‘च च हुई’को प्रचारमा छिन् । धेरै मिडियाले उनलाई ‘अनलक्की नायिका’ भनेर सम्बोधन गर्छन् । तर, यो प्रश्न नै सुन्न चाहने मुडमा उनी छैनन् । बारम्बार एउटै प्रश्न सुन्दा उनलाई दिक्क लागेको छ । अनलाइनखबरसँगको भेटमा गुनासो पोख्दै मिरुनाले भनिन्–‘चलचित्र असफल हुँदा मलाई चलचित्र क्षेत्र छोडुँ जस्तो लागेको छैन । तर, मिडियाबाट बारम्बार ‘अनलक्की’को प्रश्न सोध्दा भने यो क्षेत्र छाडिदिउँ जस्तो लाग्छ ।’

मिरुना आफूलाई ‘अनलक्की’ भन्नेहरुसँग एक प्रतिशत पनि सहमत छैनन् । उनी भन्छिन्– ‘लगातार असफल भइरहँदा पनि चलचित्रमा काम पाइरहेको छु । त्यसैले म त आफूलाई सुपर लक्की मान्छु ।’
चलचित्रको असफलताले आफूलाई केही असर नगर्ने मिरुनाको भनाई छ । उनी भन्छिन्–‘असफलतामा डराउने हो भने म पहिलो चलचित्रपछि नै यूके फर्किन्थेँ होला । म असफलताको बिषयमा सोच्दिनँ । असफल भएँ भनेर सोच्न थालियो भने कहिल्यै राम्रो काम गर्न सकिन्न ।’

मिरुनाले चलचित्र सफल हुनमा कलाकारको मात्र हात नहुने बुझेकी छिन् । त्यसैले उनी आत्तिएकी छैनन् । उनको अनुभवले बताएको छ कि, चलचित्र सफल हुनमा राम्रो विषयबस्तु, राम्रो स्क्रिप्ट, बलियो टिम र गतिलो प्रचार–प्रसारको जरुरी छ ।

मिरुना चौथो चलचित्र ‘च च हुई’लाई पनि आफ्नो करिअरको एउटा खुड्किलो मान्छिन् । उनलाई यो चलचित्रको व्यापारसँग पनि कुनै सरोकार छैन । आफूले गरेको भूमिकालाई दर्शकले रुचाइदिए त्यसैलाई सफल भएको मिरुनाले ठान्नेछिन् ।

यो चलचित्रमा आफ्नो भूमिका निकै महत्वपूर्ण भएको उनले बताइन् । भन्छिन्–‘चलचित्रमा विभिन्न पात्रहरु हुनुहुन्छ । त्यसमध्येको एक म पनि हुँ । मेरो भूमिकाले पनि कथामा ठुलो प्रभाव पारेको छ ।’ चलचित्रको विषयबस्तु र टिम मनपरेपछि मिरुना यो चलचित्रमा काम गर्न तयार भएकी हुन् ।

साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्रमा आर्यन सिग्देलसँग मिरुनाले जोडी बाँधेकी छिन् । यो चलचित्र सफल भएको खण्डमा मिरुना मिडियाको एउटा प्रश्नबाट भने मुक्त हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment