+
+

डोटीमा बालबालिकामा दाँतको समस्या

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १९:०८

२९ कात्तिक, डोटी । डोटी जिल्लाका विद्यालयका उमेरका बालबालिकाहरुमध्ये ४५ प्रतिशतमा दाँतको समस्या रहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय डोटीले डोटीका तीन सामुदायिक विद्यालयहरुमा सञ्चालन गरेको दाँत, कान र आँखाको स्कृनिङ्ग शिविरमा दाँत जचाउने ८८३ बालबालिकाहरुमध्ये चार सय एक जनामा अर्थात करिब ४५ प्रतिशतमा समस्या देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यक्रम संयोजक सूर्य बिष्टले जानकारी दिए ।

शिविर पूर्वीचौकी गाउँपालिका-४ को सरस्वती माबि, दिपायल सिलगढी नगरपालिका-८ को सुनादेवी माबि र शिखर नगरपालिका-१० सिद्धेश्वर माविमा सञ्चालन भएको बिष्टले बताए । ‘चार सय एक जनाको दाँत किराले खाएको पाइयो’ बिष्टले भने, ‘२६ जना बालबालिकाहरुको त दाँत झिक्नु पर्‍यो ।’

यस्तै कानको जाँच गराउने ८७५ जनामध्ये एक सय ७३ जनामा अर्थात करिब २० प्रतिशतमा कानको संक्रमण देखिएको बिष्टले जानकारी दिए ।
बिष्टका अनुसार शिविरमा आँखा जचाउने ८४४ मध्ये सात जनाको दृष्टि कमजोर भएको र उनीहरुलाई निःशुल्क चस्मा बितरण गरिएको छ । दाँत, कानको सफाइ र औषधि निःशुल्क उपलव्ध गराइएको समेत बिष्टले वताए ।

विद्यार्थीहको स्वास्थ्यमा दाँत, कान र आँखाको प्राय बढी समस्या हुने गरेको गुनासो आएपछि आफूहरुले तीन सामुदायिक विद्यालयमा शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी बताउँछन् । ‘बालवालिकाहरुमा दाँत, कान, आँखाबारे ज्ञान पनि छैन,’ मलासीले भने, ‘शिविरको उद्देश्य जनचेतना अभिवृद्धि गर्नु पनि हो ।’

जिल्लाका बाँकी ६ स्थानीय तहमा पनि शिविर सञ्चालन गरिने मलासीले जानकारी दिए । अन्यत्र पनि यस्तो समस्या छ भन्ने अनुमान गर्न सकिने मलासी बताउँछन् । उनले पहिलो चरणको शिविर तीन विद्यालयमा भएको र दोश्रो चरणको अभियानका लागि छिट्टै मिति तोकिने पनि जानकारी दिए ।

दाँत, कान र आखाँमा समस्या देखिएका बालबालिकाहलाई फलोअपको लागि जिल्ला अस्पताल डोटीमा आउन जानकारी गरिएको कार्यक्रम संयोजक बिस्टले बताए ।

स्क्रिनिङ्ग शिविरमा हिमाल डेन्टल अस्पताल घनगढीका दन्त रोग विशेषज्ञ डा.रमेश भण्डारी, जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत खुर्सिद आलम खान, आँखा उपचार केन्द्र डोटीका नेत्र सहायक सुजर बल्दार लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?