२९ कार्तिक,बुटवल । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पतालका विद्यार्थीहरुले रिले अनशन सुरु गरेका छन् ।
छ बुंदे माग राखेर १६ दिनदेखि आन्दोलनरत विद्यार्थीका माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिकरुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाव दिन अनिश्चितकालीन चौबिस घण्टे रिले अनशन सुरु गरिएको विद्यार्थीको भनाइ छ ।
कलेजको मुख्य गेट अगाडी ‘न्यायका लागि संघर्ष’नारा लेखिएको ब्यानर टांगेर विद्यार्थीहरु बिहान ६ बजेदेखि नै अनशन बसेका छन् । रिले अनशनमा एमबीबीएस, बीडीएस, नर्सिङ र प्यारामेडिक्स अध्ययनरत विद्यार्थी सहभागी भएको विद्यार्थीहरुले जनाएका छन् । रातीमा समेत रिले अनशन जारी रहने एक विद्यार्थीले बताए ।
विद्यार्थीहरुले चार दिन अघि क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको कार्यकक्ष, कलेजको प्रशासन, लेखा शाखा र मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए ।
युनिभर्सल मेडिकल कलेजमा कार्तिक १३ गतेदेखि विद्यार्थीहरु आन्दोलनमा छन् । आन्दोलनका कारण १६ दिनदेखि कलेजमा पठनपाठन ठप्प छ ।
विद्यार्थीहरुले बढी लिइएको शुल्क फिर्ता, परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्वविद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्न्सिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्ड अनुसार बृद्धि गर्नुपर्ने, आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि कुनै प्रकारको विभेद नगर्न विद्यार्थीले माग गरेका थिए ।
सरकारले बढी असुल गरिएको शुल्क १५ दिनभित्र फिर्ता गर्न यही आइतबार दोस्रोपटक मेडिकल कलेजहरुलाई अल्टिमेटम दिइसकेको छ । यसअघि असोज ६ गते एकमहिने अल्टिमेटम दिएको थियो । सरकारको निर्णय अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने सरकारको चेतावनी छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4