Comments Add Comment

अफ्ताव आलम पूर्पक्षका लागि थुनामा

२९ कात्तिक, रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मो. अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले आलमले इन्कारी बयान दिए पनि प्राप्त प्रमाणहरुले निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको हो । कसुरको प्रकृति र गम्भीरता र बादीको साक्षी प्रमाणहरुलाई पर्न सक्ने प्रतिकुल प्रभावका आधारमा आलमलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने आदेशमा उल्लेख छ ।

रौतहटमा नराख्नू

अदालतको आदेशअनुसार उनलाई जिल्ला कारागार रौतहट चलान गरिएको छ । तर सुरक्षाको दृष्टिकोणले जिल्ला कारागार रौतहटमा राख्नु अनुपयुक्त हुने भनेको छ । साक्षी बकपत्र र मुद्दाको पूर्पक्षको समयमा अदालतमा अनिवार्य उपस्थित गराउने गरी उपयुक्त कारागारमा स्थानान्तरण गर्न अनुमति दिइएको छ ।

यो पनि पढ्नुहोस सांसद आलमलाई रौतहट कारागारमा नराखिने

साथै आलमले अदालतमा बयान दिँदा आफू मधुमेह र उच्च रत्तलचापको बिरामी भएको भनेर डाक्टरको रिपोर्ट पेश गरेकाले अस्पतालमा नियमित उपचार गराउन पनि भनिएको छ ।

साक्षीको संरक्षण गर्नू

साथै अदालतले जाहेरवाला, पीडित र सरकारका साक्षीहरुलाई संरक्षण गहृमा राख्न पनि आदेश दिएको छ ।

अदालतमा थुनछेक बहस चलिरहँदा आलमका मानिसहरुले बम विस्फोटका घाइते गौरीशंकर दास चमारलाई चारदिनसम्म अपहरण गरेर बयान फेर्न दबाब दिएका थिए भने मृतक ओसी अख्तरका परिवारलाई आर्थिक प्रलोभन देखाएका थिए ।

चमारले सुरक्षाको माग गर्दै निवेदन समेत दिएका थिए । अदालतले त्यसलाई ध्यानमा राखेर जाहेरवाला, पीडित र सरकारी साक्षीहरुलाई संरक्षण गृह वा त्यस्तै प्रकारको संस्थामा सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भनेको छ ।

साथै उनीहरुलाई सुरक्षित रुपमा अदालत ल्याउन लैजाने, व्यक्तिगत वासस्थनको सुरक्षा गर्न र उनीहरुको सुरक्षामा खलल गर्नेलाई कारबाही गर्न गर्न पनि आदेश दिएको छ ।

१० पृष्ठ लामो अदालतको संक्षित आदेशमा अभियोगका साथ पेश भएको पेनड्राइभ, त्यसमा भएका फोटा र भिडियोलाई अदालतमा अभिलेखीकरण गर्न पनि भनिएको छ ।

१३ वर्ष अघि संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात २०६४ चैत २७ गते राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।

रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ । आलमले भने विस्फोटको घटना नै नभएकाले आफू निर्देश भएको जिकिर गर्दै आएका थिए । थुनछेक बहसको अन्त्यमा समेत उनले २७ चैतमा विस्फोटको घटना नै नभएको दाबी गरेका थिए । उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बकमको कुरा आउँदैन ।’

तर घटनामा मृत्यु भएका भनिएका त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले त्यसको खण्डन गरे । ‘घटना भएको छैन भने ५ लाख देखि २ करोडसम्म दिन्छु भनेर मलाई किन भन्छन् आलमका मानिसहरुले श्रीमान्’ उनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment