Comments Add Comment

समय र मान्छे !

मान्छे भन्छन्, यो दुनियाँ हिजोजस्तो थियो, आज त्यस्तो छैन । आज जस्तो छ, भोलि यही रूपमा रहँदैन । धर्तीका श्रृंखला फेरिएका फेरियै छन् । सारा अवयवहरु बदलिएका बदलियै छन् । तर, हामी भने समय फेरिएको भ्रममा बाँचिरहेका छौँ ।

घाम झुल्कने पूर्वबाट नै हो । चन्द्रमा अस्ताउने पश्चिममा पुगेर नै हो । केवल बिम्ब फेरिएको छ । परिस्थिति फेरिएको छ । खै कहाँ फेरिएको छ समय ? आखिर उही हो । उस्तै थियो । उस्तै छ ।

आमा भन्नुहुन्थ्यो–

हाम्रा पालामा ठूलो ताउला/खड्कुँलामा खरानी र रिठ्ठा राखेर भकभक पानी उमालिन्थ्यो । सफा गर्नुपर्ने, धुनुपर्ने कपडालाई त्यही खड्कुँलामा उम्लिरहेको पानीमा डुबाइन्थ्यो । अनि बडेमानको घोचोले चलाइन्थ्यो ओल्टाई पल्टाई गरेर । कपडा उमालेर, पकाएर तारिन्थ्यो अनि डोकामा, थुन्सेमा राखेर सफा गर्न पँधेरामा लगिन्थ्यो । झाँक्रीपहराको ठूलो धारामा लगेर मुङ्ग्राले ड्वाङ ड्वाङ ठटाएर, सफा पारेर मैलो फाल्ने काम हुन्थ्यो । कपडा धुँदा पनि पर्म लगाउने र पैंचो तिर्ने चलन थियो त्यतिबेला । कपडा धोएर, पखालेर ठूलो धारा मास्तिरको पाखाभरि सुकाउँदा पाखैभरि कपडा फलेको जस्तो भान हुन्थ्यो ।

सुन्दाखेरि सामान्य जस्तै लागे पनि आमाको कुरामा समय विम्व छ । भोगाइका लामा सुस्केरा छन् । ती दिन, त्योबेलाका भोगाइ आमाको मुखबाट सुन्दा र अहिलेको परिवेश सम्झँदा दन्त्यकथा जस्तै लाग्छ ।

अहिले त नानाथरी साबुन, सरफ, वासिङ मेसिन । एकैछिनमा सफा हुने । अब त मनले चिताए पुग्ने भयो । मेसिनमा फोहोर कपडा राखिदिएपछि आफैं सफा भएर निस्कने । वाह ! क्या जमाना आयो बा भन्छन् मानिसहरु ।

यसो गर्‍यो, उसो गर्‍यो उही समयलाई घान हाल्ने ! यस्तो पनि हुन्छ र ? कहिलेकाहीँ म पनि अलमलमा पर्छु । समय फेरिएको हो कि जीव र जीवात्माहरु फेरिएका हुन् ?

म त भन्छु मानिसहरुको मन फेरिएको हो । विचारहरु परिस्कृत भएका हुन् । त्यही परिस्कृत विचारले बिज्ञानलाई जन्माएको हो । त्यही विज्ञानले नै मानिसहरुलाई यति अत्याधुनिक, सचेत र सौखिन बनाएको हो । समयले आफ्नो धर्म फेरेको छजस्तो मलाई लाग्दै लाग्दैन ।

हेर्दाहेर्दै मेरै स्वरुप फेरियो । अवस्था फेरियो । हैसियत फेरियो । मौसम फेरियो । वातावरण फेरियो । अनेक अवयव फेरिए । मान्छेले भन्नेजस्तो समय फेरिएकै होइन । हिजो कस्तो थिएँ म ? हेर्दाहेर्दै आज यस्तो भैसकेँ ।

कृष्णे र कुमार कस्ता भए होलान् ? आफ्नो जिन्दगीको एउटा पाटो सम्झन पुगेँ । मेरो बाल्यकाल । मेरा बालसखा । मेरा लंगौटियारहरु ।

आहा ! त्योबेला । त्यो समय । त्यो उमेर । त्यो परिवेश । गाइनेकिराको पुच्छरमा धागो बाँधेर उडाएका दिनहरु ! चिलाउनेका गेडाको गुच्चा बनाएर खेलेका दिनहरु ! खुट्टी खेल्दाखेरि गोडाका औंला घाइते भएका दिनहरु !

खुट्टीमा आफूले जितेको ठाउँमा अरुलाई टेक्ने ठाउँ नदिँदा, बाटो नदिँदा पाएको आनन्द अनि पीडा ! अहिले सम्झँदा लाग्छ, त्यो युद्धमैदान जस्तै थियो । विपक्षीलाई कसरी निरीह बनाउने ? कसरी आत्मसमर्पण गर्न लगाउने ? हो, त्यहीँबाट थाहा भयो मलाई युद्धका अनेक स्वरुप हुँदारहेछन् । अनेक आकार हुँदा रहेछन् । अनेक प्रकार हुँदा रहेछन् ।

त्यो अतीत, त्यो बालापन फेरि भोग्न पाए ! फेरि समेट्न पाए ! फेरि सँगाल्न पाए ! कति रमणीय र उल्लासमय हुँदाे हो जिन्दगी ! कति रमाइलो लाग्दो हो ! जिन्दगीको असली सुखको रसस्वादन गर्न पाइँदो हो !

वास्तवमा जीवनको निष्कलंक आनन्द त बालापनमै हुँदोरहेछ । बालामनमा नै हुँदो रहेछ । त्यसैले त यति धेरै चर्चा हुँदोरहेछ बालापनको ।

कृष्णे, कुमार र म एकसाथ हुँदा के मात्रै गरिएन होला बाल्यकालमा ? एक अर्काको जूठोपूरो समेत खाइयो । ज्यानमा एक अर्काको जडाउरी उनियो । चौथीमा सिरानघरे साइँलाबाका घरका काँक्रा चोरेर खाइयो । चौथीकै बहानामा पुछारघरे ठूलेका कुखुरा पनि उछिट्याइयो खोरबाट । पानी पँधेरामा अन्तरेघरे बाटुलीलाई जिस्काइयो । कुनै अबगाल आइलाग्दा भनेर एकअर्कालाई देखाएर आ–आफ्नो पुर्पुरो बचाइयो ।

तँतँ र ममको भाषा प्रयोग हुनु हाम्रा लागि आदरणीय थियो । असाध्यै मीठा लाग्थे यी शब्दहरु । हाम्रो हल्ला र सल्लाह कसैले छुट्याउन सक्दैनथे । हामी तीन एक भएपछि कसैले छड्के नजरसम्म लगाउन सक्दैनथ्यो । सायद हामी एउटै कोखबाट जन्म लिनुपर्ने, झुक्किएर तीनवटी आमाका कोखमा बाँडिन पुगेछाैं भन्ने लाग्थ्यो । उतिखेरै यो पनि लाग्थ्यो, एउटै कोखमा जन्म लिएको भए यति मीठो आत्मीयता कहाँ मिल्थ्यो होला ? एउटै आमाका सन्तानहरु पनि नमिली झगडा र कुटाकुट गरेको हामीले देखेका थियौं । हाम्रो एउटै निष्कर्ष रहन्थ्यो, हामी अलग–अलग परिवारकै भएर एउटै संगम भएको नै जाति भयो ।

हामीलाई लाग्थ्यो हाम्रो जिन्दगी नै यही हो । योभन्दा पर अरु केही छैन । योभन्दा अर्को संसार छँदै छैन । तर, यथार्थ त्यस्तो रहेन ।

हामी एकठाउँमा जम्काभेट भएका यात्रीहरु थियौं । हाम्रा आ–आफ्नै बाटाहरु थिए । गन्तव्यहरु थिए । सत्य त यही थियो । हाम्रो एउटै हातको औंला पनि बराबर नभए जस्तै हामीमा पनि केही भिन्नता त थियो नै । बल बर्कतमा, विवेकमा र आर्थिक हैसियत अनि पारिवारिक पृष्ठभूमिमा पनि ।

कृष्णे, कुमार र म, तीनजनामध्ये अलि निम्छरोमा गनिएकोचाँहि म नै थिएँ । रुपरङ्गमा । बलबर्कतमा । बुद्धि विवेकमा । हरेक कोणबाट नियाल्दा कृष्णे जेठोमा दरिन्थ्यो । कुमार माइलोमा गनिन्थ्यो ।

यो सत्य हो कि समयको भेलमा बग्नुपर्छ सबैले । कर्म र भाग्यको संयोगले डोर्‍याउँछ सबैलाई । कोही भन्छन् मान्छेको जिन्दगीमा भाग्य प्रधान हुन्छ, भाग्य जन्मजात लिएर आएको हुन्छ उसले । कोही भन्छन् कर्म प्रधान हुन्छ, कर्मले कोर्छ मान्छेको भाग्य । जसले जे भने पनि मलाई लाग्छ, मान्छेको जिन्दगी सप्रनु र बिग्रनुमा कर्म र भाग्य दुबैको आधाआधी भूमिका हुन्छ ।

छोडौं यी कुरा ।

जे जसरी भए पनि जिन्दगीको फरक–फरक नदीमा हामी बग्यौँ । गाउँको विद्यालयमा पढ्दा पढ्दै कृष्णे राजधानी छिर्‍यो र उसैको पछि लाग्यो कुमार पनि । उनीहरुको अनुमान थियो, धेरै कुरा छन्, भेटिन्छन् शहरमा । चिताएर नपाइने कुराहरु केही छैन शहरमा । खोज्छु भनेर आँटेपछि नभेटिने कुराहरु केही छैनन् । सहर एक फराकिलो आकाश जस्तै हो । आकाशमा अवसर र चुनौतीहरु दुबै हुन्छन् रे । यस्तै कुरा गर्थ्यो कृष्णेले ।

कृष्णेले भनेको कुरा सत्य पनि हुन सक्छ । नहुन पनि सक्छ । खै, त्यस्तै निष्कर्ष निकालेर हुन सक्छ, उनीहरु शहरमा भासिए । म गाउँमै थन्किएँ । सायद मेरो भाग्य र कर्म गाउँमै बस् भन्यो कि ?

समयको काम बित्ने हो, बितिदिन्छ । समयको के जान्छ र ? समयले नेटो काट्यो । तर, मैले गाउँको भञ्ज्याङ्ग काट्न सकिनँ । मेरा बालसखाहरु शहरको रमझममा रमझमिए । म गाउँमै अल्झिएँ । हलो, कुटो र कोदालो मेरा साथी बनिसके ।

शहर पसिसकेपछि उनीहरुले गाउँको देउराली उक्लिने आवश्यकतै देखेनन् । अनि मलाई देउराली झरेर, भञ्ज्याङ कटेर उनीहरु भएको ठाउँमा जाने मेसो परेन । समयले फराकिलो धाँजा पार्दै गयो हाम्रो सामीप्यमा । आखिर एउटा अतीतको गर्भमा हराउन पुग्यो बाल्यकालको त्यो मीठो आभास ।

यिनै बाटाघाटा, पानी पँधेरो, चौतारीसँग दैनिक एकाकार भइरहनु पर्दा मेरो मानसपटलबाट बालापनको त्यो स्मृति मेटिनै सकेन । यहीरुपमा उनीहरुको मनमा होला या नहोला ? मलाई विश्वास थियो, यो धाँजा समयको मात्रै हो । कसरी बिर्सन सक्लान् र बालापनको त्यो खिल कृष्णे र कुमारले ?

कृष्णे अक्कली थियो । तीक्ष्ण बुद्धि भएको । सोच्थें, गर्‍यो भने हामीमध्ये प्रगति गर्न सक्ने भनेको यसैले हो । मेरो अनुमान सही ठहरिएछ । अचेल सुन्छु, उसले धेरै प्रगति गरेको छ । वैभवशाली भएको छ ।

कुमार भने आधाआधी अक्कली थियो । अझ भन्नुपर्दा यो गरौं कि ऊ गरौं भन्ने । धेरै सोच्ने, तत्कालै निर्णय लिन नसक्ने । सायद यही स्वभावले हुन सक्छ, सहर पसेर पनि ऊ कतै स्थापित हुन सकेको छैन । सुन्छु–डेरा सर्दै बस्दै गर्दैछ रे ऊ सहरमा । राजधानीको सडकमा आफूलाई जसोतसो घिसारिरहेको छ रे ।

हुन त म पनि घिस्रिरहेको छु नि उसैगरी गाउँकै पाखा पखेरामा । म ती दुईजनाभन्दा अलि भिन्न स्वाभावको थिएँ । आखिर काम नगरी, दुःख नगरी जीवन आफैं धानिने होइन । जहाँ भए पनि, जता गए पनि आफ्नो कर्मले छोड्दैन । समयकै दास नबनी सुखै छैन । त्यसैले अर्काको देखेर नक्कल गर्नु छैन । यस्तै सोचेको थिएँ मैले । त्यसैले त गाउँको देउराली, भञ्ज्याङ काटेर कतै जान सकिनँ । गाईबाख्रालाई साथी बनाएर जीवन जनतन धानिरहेको मान्छे बन्न पुगेँ ।

बालकृष्ण समले भनेजस्तै नियमित आकस्मिकताले जिन्दगीलाई डोर्‍याउँछ । त्यस्तै आकस्मिकताले एकपटक मलाई राजधानी जानुपर्ने बनायो ।

रातभरको अँध्यारो छिचोल्दै बिहान अलि ढिला गरी बसपार्कमा लगेर हुत्यायो बसले । बाटामा खाना खाएको थिइनँ । हिँड्ने बेलामा काकाले दिएको अर्तीलाई पूर्णरुपमा शिरोपर गरेको थिएँ । काकाले भन्नुभएको थियो– ‘हाइवेका होटेलमा केही नखानू । त्यहाँका खानेकुराले काल बोकेर बसेका हुन सक्छन् ।’

राति एउटा होटेल अगाडि रोकेको थियो बसले । बाहिरबाट चिरिच्याँट्ट थियो होटेल । भोकले पेट बटारिएको थियो । केही त खाउँ भनी लम्किएको थिएँ, काकाको महावाणी सम्झिएर रोकिएँ । उतापट्टिको पसलमा झुण्याइएकामध्ये तीनवटा गिला केरा पेटभित्र हुलेर बसमै उक्लिएँ ।

मन एक तमासले आनन्दित बनिरहेको थियो । अब म राजधानी पुग्छु । राजधानीमा मेरा बालसखा छन् । सोध्दै–खोज्दै भए पनि तिनकोमा जान्छु । अनि टन्न खान्छु । धेरै भलाकुसारी गर्नु छ तिनीहरुसित । अकस्मात् आफ्नो अगाडि मलाई देख्दा तिनीहरु अचम्ममा पर्छन् होला । बाटाभरि यस्तै कुरा मनमा खेलाउँदै राजधानी उत्रिएँ ।

बाटाको शिलशिलामा कृष्णेको घरमा पहिला जाने मेसो पर्‍यो । मनले ठान्यो– उसकोमा गएर एकछाक खाना पनि नखाए के भन्ला ? कृष्णेको घर सोधखोज गर्दै गएँ । पत्ता लगाएँ । आफ्नो लगौटिया साथीको वैभवता देखेर औधी खुसी लाग्यो । मैले केही गर्न नसकेर के भो ? कमसेकम मेरो साथीले त प्रगति गरेछ । रमाएँ मनमनै । मलाई देखेर कति खुशी होला कृष्णे पनि ? जुरुक्कै बोकेर हिँड्छ होला मलाई एकछिन त ।

कृष्णे भेट भयो । उसलाई पनि समयले फेरेछ । झट्ट देख्दाखेरि मैले त चिन्न र ठम्याउन पनि सकिनँ । उसले मलाई चिनेन भनेर दुःखमनाउ गर्ने ठाउँ पनि त थिएन । एकअर्कामा फेरि परिचय गर्नुपर्ने स्थिति बन्यो ।

‘मलाई चिनिनिस् ? म उही क्या त तेरो बालसखा अमृत । त्यतिविघ्न सँगै लठारिएर हिँडेको बिर्सिसकिस् ?’ यतिभन्दा पनि उसले निधार खुम्च्याएको खुम्च्यायै थियो । मैले सबै बेलीबिस्तार बताएपछि उसले बल्ल मलाई चिन्यो । अझ मलाई यस्तो भान भयो उसले मलाई चिने जस्तो गर्‍यो कि ? साँच्चै चिन्नु र चिनेजस्तो गरेको पनि बताइहाल्दोरहेछ अनुहारको रङले । शरीरको हाउभाउले । बोलीको लबजले । आँखाको भाषाले ।

समय हो । मन हो । सबै कुरा सधैं याद भइरहन्छ भन्ने पनि हुँदैन । बिर्सन सकिन्छ । कतिपय कुराहरु मानसटलबाटै हराएर जान्छन् । जतिसुकै कोसिस गरे पनि सम्झन सकिन्न । तर, सम्झिने प्रयास गर्नु, विगतको त्यो विन्दुलाई छुने प्रयास गर्नु, छुटेको विन्दुलाई भेटाउने कोशिसको कौतुहल, जिज्ञासा वा छटपटी मनमा हुनु ठूलो कुरा हो जस्तो लाग्छ । उसले यी सबै कुरा बनाबटी गरेजस्ता थिए ।

हो, उसको आँखामा, भावमुद्रामा मैले सबै कुरा बनावटी देखिरहेको थिएँ । मेरो सामीप्यलाई जबरजस्ती रमाउन पर्ने समयको विववशता बनाएको थियो । मेरो मनले यस्तै भन्यो । मनले यस्तै सोच्यो । मेरो अन्तःस्करणले यस्तै आभास समेट्यो । म गलत पनि हुन सक्छु । उसले यस्तै गरेको पनि हुन सक्छ ।

साँच्चै ! म गलत रहेनछु । उसँग भएको पहिलाको मन त शहरको दुषित पानीले पखालिसकेको रहेछ । मैले कल्पना गरेको भन्दा धेरै फरक पाएँ उसलाई यथार्थता । उसले मलाई हेरेर हाँस्दा पनि मेरो लागि जबरजस्ती हाँसिदिएको कृत्रिम हाँसोजस्तै लाग्यो । मप्रति दर्शाएको आदरभाव पनि करकापमा परेर जबरजस्ती गर्न परेकाले गरिरहेको जस्तो लाग्यो । अनि लाग्यो, मेरो सामीप्य उसलाई बिझाइरहेछ । ननिको लागिरहेछ ।

लाग्यो, मैले उसको समयमा भाँजो हालिरहेको छु । मैले उसलाई अल्झाइरहेको छु । अल्मल्याइरहेको छु । खै कुन्नि, मलाई यस्तै लाग्यो । मलाई यस्तो लागेको मात्र पनि हुन सक्छ । उसले साँच्चै यस्तै गरेको पनि हुन सक्छ । लाग्नु र हुनुमा फरक कुरा हो । सोच्नु र गर्नुमा फरक कुरा हो । मेरो आगमन नै उसलाई बिझेकोजस्तो आभाष भयो ।

राजधानीको पानीको असर हो भनेर चित्त बुझाएँ । शहरको भिडमा मेरो कृष्णे हराएछ । मान्छेहरुको जमातमा अल्मलिएछ कतै ।

मैले खोज्दै आएको कृष्णे, मैले भेट्न भनेर आएको कृष्णे अहँ यो हुँदै होइन । गमें आफंैभित्र । मैले मेरो मनको कृष्णेलाई भेट्टाउन सकिनँ । पाउन सकिनँ ।

कृष्णेसँग धेरै कुरा भए । अतीतका कुरा कम भए । वर्तमान र भविष्यका कुरा धेरै भए । ऊ दुःखी रहेछ । उसले गर्न नसकेका कामहरु धेरै रहेछन् । उसका टुटेका र पूरा हुन नसकेका सपनाहरु पनि धेरै रहेछन् । उसले भेट्टाउन र चुम्न नसकेका लक्ष्यहरु धेरै रहेछन् । त्यसैले ऊ दुःखी रहेछ ।

वास्तवमा कृष्णेलाई अझै पुगेको रहेनछ । पैसाले, वैभवताले । यो भयानक सहरमा ऊ सामान्य पो रहेछ । ओहो ! ऊ कति निरीह बाँचिरहेको रहेछ ।

ऊभन्दा त म पो सुखी रहेछु । म पो सम्पन्न रहेछु । मैले कुनै टाढाको लक्ष्य रािखनँ । मेरो लक्ष्य बिथोलिएन । मैले कहिल्यै ठूलो सपना देखिनँ । त्यसैले सपनाहरु टुटेकोमा कहिल्यै दुःखी हुनु परेन । आफूसँग भएकै चिजमा रमाउने कोशिस गरेँ । नभएकोलाई सम्झेर दुःखमनाऊ गरिरहन परेन । मैले यसैलाई जिन्दगी सम्झेँ । सायद मसँग जिन्दगी जिउने कला नभएको हुन सक्छ । मैले जिन्दगी जिउन नजानेको पनि हुन सक्छ ।

खाना खाइस् कि नाइ ? धेरैबेरपछि कृष्णेले सोध्यो ।

आँखै अगाडिको भित्तेघडीमा नजर पर्यो । समय निकै घर्किसकेको थियो । के दुःख दिउँ ? मनले मानेन । यसबेलासम्म पनि भोकै बस्छु र ? जवाफ दिएँ ।

मलाई एकछाक खाना खुवाउन नपाएकोमा उसलाई कुनै पछुतो लागेन । मलाई यस्तो भान मात्र भएको हुन पनि सक्छ । उसले जानीजानी यस्तो गरेको पनि हुन सक्छ ।

‘मेरा जरुरी कामहरु छन् । अलि व्यस्त छु । हतारमा छु । तँ नआइपुगेको भए म कहाँ पुगिसकेको हुन्थेँ । यतै बसिस् भने भरे बात मारौंला । पेटभरि कुरा गरौंला ।’ उसको कुराले लय समात्यो ।

म त्यहाँ बसिरहनु उसलाई अल्झाउनुबाहेक अरु केही थिएन । ऊ बेफुर्सदी थियो । अझ भनौं, मेरा लागि कुनै समय थिएन उसँग । ऊ आफ्नो काममा जाने तर्खरमा लाग्यो । अझ भनौं, मलाई बिदाइ गर्ने तर्खरमा लाग्यो ।

म पनि फर्सदमा थिइनँ । काम सक्नु थियो । त्यहाँबाट म पनि उसँगै निस्किएँ । उसको त्यो वैभवशाली घर कम्पाउण्डबाट बाहिर निस्कँदै गर्दा गाउँमा एउटै ढुङ्गेधाराको पानी खाएर हुर्केको उही कृष्णे हो जस्तो लाग्दै लागेन । झाँक्रीपहराको ठूलो ढुङ्गामा सँगै चिप्लेटी खेलेर बाल्यकाल सँगै बिताएको कृष्णे होजस्तो लाग्दै लागेन । मेरा लागि अरु जो कोहीसँग पौंठेजोरी खेलेको कृष्णे यही होजस्तो लाग्दै लागेन । मलाई यस्तो लागेको मात्रै पनि हुन सक्छ । मैले भर्खरै भेटेको जस्तै गरी उ साँच्चै बदलिएको पनि हुन सक्छ ।

बाल्यकालका परिदृश्य उर्लेर आए मस्तिष्कमा र आँखाको चेप अनायसै ओसिलो बन्यो । कृष्णे ओझेल परिसकेको थियो । तर, ऊ झल्झली थियो मेरो आँखा अगाडि ।

कुमार पनि कृष्णेसँगै उभिएको थियो आँखामै । उस्तै स्वरुप । उस्तै स्वाभाव । उस्तै चरित्र । मेरो मन कत्ति पनि अमिलिएन । एकै ठाउँको हावापानी खाएर बसेका त हुन् नि दुवैले ।

मैले पनि जीवनको परिभाषा भेटिसकेको थिएँ । मन पढ्न जानिसकेको थिएँ । आफ्नो मनलाई दृढ बनाएँ । ओसाएका आँखा रुमालले पुछेँ । यो सहरको भिडमा म एक्लै रहेछु । भर्खरै मैले देखेको मेरो कल्पना विम्व मात्र रहेछ ।

के साँच्चै कुमार पनि बदलियो होला यसैगरी कृष्णेजस्तै ? राजधानीको पानीले उसको रगत पनि पातलो भैसक्यो होला ? चेतना पनि उसैगरी दुब्लाउँदै गयो होला ? यो शहरले संवेदनहीन बनाइसक्यो होला उसलाई पनि ? कुमारलाई पनि उही कोटीमा जोख्न थाल्यो मनले ।

यत्रो सहरको कुनै कुनामा डेराभाडा लिएर बसेको मान्छे । गाह्रो साँघुरो गरी बसेको होला, के दुःख दिनु र खै ? मनले यस्तै सोच्यो । दिनभरिमा काम निप्ट्याएँ । गेष्टहाउसमा बसेर रात कटाएँ ।

मौकाले गाउँदेखि आएको, यस्तो अवसर फेरि फेरि नआउन सक्छ । यहाँसम्म आएर पनि नभेटी, कुनै सोधखोज नगरी गएको थाहा पायो भने कुमारले के भन्ला ? मैले के जवाफ दिने ? मेरो मन यतिबिघ्न कठोर कसरी बन्न सक्छ ? अहँ सक्दैन । पटक्कै सक्दैन । कुमारलाई नभेटी जान मनले मान्दै मानेन ।

होटलमै बिहानको खाना खाएर हान्निएँ कुमारको डेरातिर । थर ठेगाना थियो । पत्ता लगाउन कुनै हम्मे परेन ।

दैलामै पुगेर सोधेँ । ‘कुमारजी बस्ने यहीँ हो ?’

‘हो हो । पख्नुस् है त म बोलाइदिन्छु ।’ सायद बहालमा बस्ने कोही छिमेकी हुँदो हो ।

‘खै को हो ?’ उसँगै अर्को मान्छे पनि बाहिर निस्कियो ।

ऊ कुमार नै थियो । त्यो भाइले बोलाएर ल्याएपछि मैले चिनिहालेँ तर, बाटोमा कतै भेटेको भए मैले नचिन्ने । रुप रङ धेरै परिवर्तन भैसकेको । शायद उसको नजरमा म पनि त फेरिएँ होला उस्तैगरी ।

मेरो नजिक आइपुगेपछि उ अल्मलियो । ‘कसलाई खोज्नुभएको होला ?’

‘मैले कुमारजीलाई खोजेको हो ।’ मैले भनेँ

‘मै हो कुमार त । भन्नुस् न । किन होला ? कहाँदेखि आउनुभयो ?’

मलाई पनि पक्का भयो । मेरो स्वरुप पनि उसले चिन्नै नसक्ने गरी परिवर्तन भइसकेको रहेछ । एकपटक अनुमान लगाउँदा केही बिग्रँदैन होला । मैले उसको निरीहताको फाइदा उठाएँ ।

ऊ टोलायो केहीबेर । चोरऔंलाले एकछिन आफ्नै नाक थेप्च्यायो । छोड्यो । अनि गम्भीर मुद्रामा चोरऔंलाले आफ्नै नाकको टुप्पालाई टकटक हानिरह्यो । अनि भन्यो ‘कमसेकम एउटा क्लु त चाहियो ।’

मैले आफूलाई रोक्न सकिनँ । भनेँ, भाँक्रीपहराको ठूलो ढुङ्गामा चिप्लेटी खेलेका दिनहरु त याद छ होला ।

मैले यति भनिसक्दा नसक्दै उसको अनुहार धपक्कै बल्यो र उसले आफ्नो नाकबाट चोरऔंलो छुटाएर अमृत … भन्दै मेरो नाकमा ल्याएर जोत्यो । अनि त के थियो र ! एकअर्कालाई ग्वाम्लाङ्गै अँगालो हाल्यौँ । उसले मलाई जुरुक्क उठाएर दुई फन्को घुमायो बच्चालाई जस्तै । दुईतिर काँधमा दुईटा हात राखेर हेरिरह्यो एकछिन । लाग्यो, ऊ मेरै पर्खाइमा थियो । मलाई भेट्न र देख्न आतुर भएर बसिरहेको थियो ।

‘तँलाई मुर्दार ! कमसेकम आउँदैछु त भन्नुपथ्र्यो । बसपार्कसम्म आफैं लिन आउँथेँ । बस्ने ठाउँ देखाउँदै भन्यो ल ल याँ मुन्टी ! के के छ तेरो खबर, ल सुना । घर परिवारमा के–कसो छ । नानी के कत्रा भए, काम के गर्दैछस् ? कृष्णेसँग तेरो भेटघाट भएको छ कि छैन ?’

सहरको चामलपानीले उसको लबजमा कुनै फरक पारेको रहेनछ । उसको बोलीमा, हाउभाउमा, भावभङ्गीमा गााउँमा खाएको मकैको च्याँख्लाको लबज त अझै रहेछ । मानौं ऊ मेरै कुरा सुन्न आतुर भएर बसेको छ ।

‘तँलाई भेटेपछि त म आफैं गाउँमा पुगेजस्तो लाग्यो यार । ल हिँड् पल्लो कोठामा’ भन्दै मेरो पाखुरामा समाएर तान्यो । उसले खाना खाइसकेको रहेनछ । त्यहीँ जे जति छ, म शौचालयमा छिरेर निस्कँदा दुई ठाउँमा भाग लगाउन भ्याइसकेको रहेछ । खाएर आएको हो भन्न पनि पाइनँ । अघाएको छु भन्न पनि भ्याइनँ ।

तेरो जूठो खाँदा मेरो मुखमा घाउ आउँथ्यो जहिल्यै । खाना खाँदै गर्दा कुमारले बाल्यकाल स्मरण गर्‍यो ।

‘तँ कहिले आएको यहाँ ? अनि के–कति कामले आएको होस् । म पनि साथ लाग्न पर्ने भए भन् । भरे अन्तै मुन्टिने हैन नि फेरि ।’ भन्यो उसले ।

मैले कल्पना गरेको भन्दा पनि धेरै भन्यो । ऊ मेरो मनभरि छ होला ऊ भन्ने भ्रम पालेर बसेको थिएँ अहिलेसम्म । तर, म त उसको रगतको कण–कणमा रहेंछु । श्वास–प्रश्वासमा रहेंछु । प्रत्येक झझल्कोमा रहेंछु । मेरो मनको अन्तर–कुन्तर, कुना–कुनासम्म पुगेर चिमोट्यो उसले मलाई । रगतका शिराहरु कसरी सल्बलाउँदा रहेछन् । शरीरका रौँहरु कसरी ठाडा ठाडा बन्दा रहेछन् ! हृदयमा कसरी कम्पन छुट्दोरहेछ मायामा । आत्मीयतामा । खुसीमा । प्राप्तिमा । शब्दमा वर्णन गर्न नसकिने अनुभव थियो त्यो । भाव थियो ।

नबोलेरै हेरिरह्यौं कतिबेर एकअर्कालाई । बोलेरै थाकिएन कतिबेरसम्म । के–के गन्थन भए भए । के–के कुरा गरियो गरियो । यसरी पनि बग्न सकिँदो रहेछ । आज एकआपसमा बहकिँदा थाहा भयो । बग्दा थाहा भयो । पग्लिँदा थाहा भयो । हामी विगतमा बग्यौं । वर्तमानमा जम्याै‌ं। भविश्यमा बहकियौं । एक–एक गरेर । पल पल । पत्र पत्र । केस्रा केस्रा ।

ऊ भन्दै थियो, ‘जिन्दगी त के छ र ? एक दिन माटामा बिलाएर जान्छ । जिन्दगीका भोगाइहरु मान्छेपिच्छे आ–आफ्ना छन् । सुख–दुःखहरु पनि आ–आफ्ना छन् र साथमा अरु धेरै कुराहरु पनि छन् । साथीभाइको साथ छ । आफन्तको माया छ । आशीर्वाद छ । साथीभाइ भेट्दा, आफन्तजन भेट्दा उत्साहले, सद्भावले, प्रेमले मन ढक्क फुलोस् । हृदय आनन्दित बनोस् । एक आपसमा छुट्टिँदा किलकिले दुःखोस् । तब न आफ्नोपन । तब न आत्मीयता । तब न जिन्दगीको मजा ।’

कृष्णेलाई भेटेर छुट्टिँदा मेरो किलकिले दुखेको थियो । आँखा ओसिएका थिए । अहिले कुमारसँग छुट्टिँदै गर्दा पनि किलकिले दुखिरहेको छ, तिनै आँखा ओसिएका छन्, उसैगरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment