Comments Add Comment

मनै लोभ्याउने इलामको चिया बगान

३० कात्तिक, काठमाडौं । कार्पेट बिच्छ्याए झैँ थुम्का-थुम्कामा चिया बगान । लस्करै धुपीका बोट । नाकबेली बाटो । इलाम भन्नसाथ तपाईंको स्मृतिमा यस्तै दृश्य सल्बलाउन थाल्छ । हो पनि, इलामको खास चिनारी चिया बगान नै हो । कलकलाउँदो चिया बगान देखेपछि आगन्तुकहरु हुरुक्कै हुन्छन् ।

पाखाभरी चिया, खोल्साभरी अलैंची, कान्ला-कान्लामा अकबरे र अदुवा । दोबाटोभरी दुध बोकिरहेका घोडाका लस्कर । इलाम यस्तो क्यानभास हो, जसमा पौरखी हातहरुले जतनकासाथ कुची चलाएका हुन् । सायद यसैले त कवि भूपी शेरचनलाई फुरेको हुनुपर्छ, ‘देशभर नै अली-अली इलाम छरिदिन मन लाग्यो ।’

चिसो सिरेटो, क्षण-क्षणमा बहकिने भुँइकुहिरो । इलामको मौसम पनि आगन्तुकसँग लुकामारी खेले झै लाग्छ ।

सुरम्य चिया बगान इलामको खास सौन्दर्य हो । यसलाई थप कोरीबाटी गरिदिएको छ, अलैंची, अम्लिसो, अदुवा र अकबरेले । कृषि उपजको हिसाबले इलामलाई ‘पाँच अ’ (अर्थोडक्स चिया, अकबरे, अम्लिसो, अदुवा, अलैंची)को जिल्ला पनि भनिन्छ । इलामेलाई पौरखी र समृद्ध बनाउने पनि यिनै हुन् ।

घुमफिरका सौखिनहरुलाई इलामले सधै आमन्त्रण गर्छ । इलामको फन्को लगाएर आगन्तुकको धित मर्दैन । उनीहरु कहिले कन्यामको चिया बगानमा हराउँछन्, कहिले श्रीअन्तुमा झुल्के घाम हेर्न पुग्छन्, कहिले माइपोखरीको सौन्दर्यमा लट्ठ पर्छन् ।

इलामको फन्को

इलाम पुगेपछि सन्तपुर किन छुटाउने ? इलाम र दार्जीलिङको सबैभन्दा उचाईमा रहेको सन्तपुरबाट आँखै अगाडि हिमाली दृश्य नियाल्न सकिन्छ । त्यो उचाईबाट सूर्याअस्त र सूर्योदयको दृश्य पनि कम्ता राम्रो देखिँदैन । सन्तपुरसँगै छिन्टापुको फन्को लगाउन सकिन्छ । यद्यपि सन्तपुरसम्म पुग्ने योजना बनाइसकेपछि केही न्यानो लुगाफाटोको जोहो भने गर्नुपर्छ ।

इलामको स्वागतद्वार हो, सानो पाथीभरा । कुटीडाँडामा रहेको पाथीभरा एवं हाँसपोखरी धार्मिक आस्था राख्नेहरुका लागि उपयुक्त गन्तव्य हो । त्यहाँबाट अगाडि बढेपछि तपाईं कन्यामको काखमा लुटपुटिनु हुनेछ । कन्याममा आगन्तुकलाई लक्षित गरेर घोडासवारी लगायतबाट मनोरञ्जन लिन सकिन्छ ।

कन्याम छिचोलेपछि फिक्कल बजार पुगिन्छ । यहाँ तपाईंले इलामको कोसेली खरिद गर्न सक्नुहुनेछ । स-साना पसलमा सजाइएका अकबरे खुर्सानी, छुर्पी, ललिपपले पक्कैपनि तपाईंलाई लोभ्याउनेछ ।

फिक्कलबाट तपाईं सरासर इलाम बजारतर्फ लाग्नुहुन्छ वा श्री अन्तुतर्फ मोडिनुहुन्छ ?

फिक्कलबाट श्रीअन्तु टाढा छैन । केही घण्टा छिचोलेपछि तपाईं श्रीअन्तु पुग्नुहुनेछ, जो झुल्के घाम हेर्नका लागि देशभरमै प्रख्यात मानिन्छ । अहिले श्रीअन्तुमा हेर्नका लागि झुल्के घाम मात्र होइन, मझौला ताल, कलकलाउँदो चिया बगान र रैथाने जीवनशैली पनि काफी छ । रात काट्नका लागि होमस्टेको व्यवस्था छ ।

फिक्कलबाट नजिककै गन्तव्य हो, पशुपतिनगर । खासमा यो व्यापारिक बजार हो, इलाम र दार्जीलिङको सीमावर्ती ।

अब तपाईं इलाम बजारलाई गन्तव्य बनाएर पुनः फिक्कल हुँदै अगाडि बढ्नुपर्छ । इलाम बजारमा पुगेपछि थुप्रै घुम्नलायक र हेर्नलायक ठाउँहरु पाउनुहुनेछ । इलाम बजारसँगै जोडिएको चिया बगानमा घुमेर पनि तपाईं ताजा हावा लिन सक्नुहुनेछ । त्यहाँ नेपालकै सबैभन्दा पुरानो चिया कारखाना अवलोकन गर्न सकिनेछ ।

इलाम बजारबाट उत्तरतिर लाग्ने हो भने माइपोखरी, टोड्के झरना हुँदै सन्तपुरसम्मको यात्रा गर्न सकिन्छ । रामसार क्षेत्रमा सूचिकृत माइपोखरी खासगरी जैविक विविधताको खानी मानिन्छ । विशाल जलाशयले टिलपिल माइपोखरी धार्मिक आस्थाको केन्द्रबिन्दु पनि हो ।

पछिल्लो समय स्थानियवासीले इलामलाई कोरीबाटी गरिदिने क्रम पनि बढेको छ । आगन्तुकको आँखा लोभ्याउने कृतिम ताल एवं संरचनाहरु निर्माण गरिएका छन् । इलामकै भालुढुंगालाई पनि स्थानियले उसैगरी सिंगारपटार गरेका छन् । इलाम पुगेपछि भालुढुंगा किन नपुग्ने ? त्यहाँ होमस्टे लगायतको व्यवस्था पनि छ ।

इलाममा घुम्न आउँदा न्यानो लुगाको जोहो चाहिँ गर्नैपर्छ । यहाँको हावापानी अलिक चिसो छ । बसोबासका लागि पेइङ गेस्ट वा होमस्टेको व्यवस्था छ । शहरी क्षेत्रमा होटल र लज पनि भेटिन्छन् । अँ त, इलामबाट र्फकदा यहीँ बनेको छुर्पी, चिज, ललिपप, अकबरे खुर्सानी, चिया कोसेली बोक्न नभुल्नु होला है !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment