Comments Add Comment

कालीप्रसाद रिजाल र सन्तोष श्रेष्ठको ‘उदास जवानी’ सार्वजनिक

काठमाडौं । वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठको आधुनिक गीतिसंग्रह ‘उदास जवानी’ विमोचन भएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ‘उदास जवानी’ विमोचन गरिएको हो ।

वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ संगीतकार दीपक जंगम, वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ साहित्यकार तुलसी दिवस र संगीतकार सन्तोष श्रेष्ठले संयुक्त रुपमा एल्वम विमोचन गरेका थिए ।

एल्वममा समावेश पाँच गीतमध्ये ‘एक्लो उदास जवानी’ र ‘मै छोरीलाई नै..’ गीतको म्युजिक भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

‘उदास जवानी’ सन्तोष श्रेष्ठद्वारा संगीतबद्ध ३२ औं एल्बम हो ।

दाङको घोराही उपमहानगरपालिका हापुर घर भएका सन्तोष अहिलेका चल्तीका संगीतकार हुन् । उनले संगीत दिएको पहिलो गीत दामु मर्सिफुलले लेखेको ‘आउँछु भनि निष्ठुरीले भर किन पार्नु’ हो । यो गीत सुरुमा रामकृष्ण ढकालले गाएका थिए । त्यतिबेला राम्रो चलेको यही गीतलाई १० वर्षपछि अन्जु पन्त र शिशिर योगीले पनि गाएका छन् ।

सन्तोष श्रेष्ठलाई संगीतकार भनेर चिनाएको गीत भने ‘तिमीले पराई ठानेपछि…’ हो । लोकराज अधिकारीले लेखेको र अन्जु पन्तले गाएको यो गीतले सीआरबीटीमा सबैभन्दा बढी डाउनलोड भएको गीतको रेकर्ड राखेको छ ।

सन्तोष श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेले लेखेको ‘पश्चिम रुन्छ महाकाली, पूर्व रुन्छ मेची’ र वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको जीवनको पहिलो गीत ‘तेरो मेरो जे भन्छौं हामी’ गीतमा पनि संगीत दिएका छन् ।

संगीतकार श्रेष्ठ भन्छन्, ‘मेरो सबैभन्दा ठूलो उपलब्धी त दर्शक स्रोताको माया हो, त्यससँगै राष्ट्रकवि र शताब्दी पुरुषसँग काम गर्न पाउनुलाई जीवनको महत्वपूर्ण उपलब्धी ठान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment