Comments Add Comment

शीर्ष नेतृत्वसँग प्रधानमन्त्रीको परामर्शपछि नेकपा सचिवालय बैठक बस्दै

Photo Credit : अनलाइनखबर फाइल

१ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।

यसअघि प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टी सञ्चालनका सन्दर्भमा लामो छलफल गरिसकेका छन् । पार्टीमा सबै नेतालाई विश्वासमा लिएर अघि बढ्ने सन्देश प्रधानमन्त्रीले दिएको निकट स्रोतले जनाएको छ ।

अपरान्ह ४ बजे सचिवालय बैठक बोलाइएको नेकपा महासचिव बिष्णु पौडलले जानकारी दिए । नियमित एजेण्डामाथिनै छलफल हुने भन्दै उनले प्रधामनन्त्री तथा पार्टी अध्यक्ष ओली सबै नेताहरुसँग परामर्शमा रहेको बताए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली लामो समय उपचारका लागि विदेश जानेबारे छलफल भइरहेको छ । प्रधानमन्त्री लामो समय अनुपस्थित हुँदा सरकारको काम कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा ईश्वर पोखरेलमार्फत अघि बढाइनेछ ।

प्रधानमन्त्री ओलीले केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेछन् । पुनगर्ठित मन्त्रिपरिषदमा केन्द्रीय सचिवालयका बरिष्ठतम नेता पोखरेलनै कायम रहने भएकाले कार्यवाहक प्रधानमन्त्रीका रुपमा सरकारका नियमित काम अघि बढाउनेछन् ।

यता पार्टीका नियमित काम अघि बढाउन अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिने तयारी छ । यसअघिनै ओलीले प्रचण्डलाई पार्टी कामको कार्यकारी भूमिका दिने सहमति थियो । तर यसबीचमा प्रचण्डले एकपटक ओलीको अनुपस्थितिमा बैठक राखेर केही निर्णय गरे बाहेक उनले सो भूमिका भने पाएका छैनन् ।

स्रोतका अनुसार ओलीले परिभाषित रुपमै प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष र पोखरेललाई कार्यवाहक प्रधानमन्त्री दिएर स्वास्थ्योपचारमा जाने सम्भावना छ । यद्यपि प्रधानमन्त्री स्वास्थ्योपचारका लागि विदेश जानेबारे अहिलेसम्म कुनै जानकारी भने दिइएको छैन ।

पार्टी एकता सम्बन्धी लगभग सबै काम टुंगो लागिसकेकाले अब नियमित काम अध्यक्ष ,महासचिव र सचिवालयमार्फत हुने नेकपा नेताहरु बताउँछन् । सम्भवतः नेकपा स्थायी कमिटी बैठक पनि चाँडै बस्नेछ ।

बिधान अनुसार प्रत्येक तीन महिनामा बस्नुपर्ने बैठक करिब एक वर्षदेखि बस्न सकेको छैन । स्थायी कमिटी बैठक नबस्दा बामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावसमेत निर्णय हुन सकेको छैन । त्यसका लागि स्थायी कमिटीबाट विधान संशोधन गराउनुपर्छ ।

पछिल्लो समय आयोग अध्यक्षहरुको समेत निर्णय भइसकेकाले अब आयोग तथा केन्द्रीय निकाय र विभागका सदस्यहरुको एकीकरण हुन बाँकी छ । केन्द्रीय बिभागका सदस्यहरुको बारेमा सम्बन्धित बिभागका प्रमुखले नाम पेश गरेर सचिवालयले टुंगो लगाउने विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment