Comments Add Comment

भक्तपुरको योसिंहखेलमा धानको बिस्कुन (फोटो फिचर)

१ मंसिर, भक्तपुर । भक्तपुरभित्र नगरभित्रका खुला ठाउँमा अहिले धानको बिस्कुन सुकाएको गजबको दृष्य देखिन्छ । गजब यस अर्थमा कि स्थानीयबासी मिलिजुली पालैपालो धान सुकाउने-उठाउने गर्छन् ।

भक्तपुरको योसिंहखेल (भद्रकाली) टोलका करिब पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्टाएजस्तै स्थानीयबासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य आकर्षक लाग्छ ।

योसिंहखेलमा मात्र होइन भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ । सुकाएको ठाउँ झट्ट हेर्दा झुक्किने, आफ्नो अर्काकोमा मिसिने समस्या त हुँदैन ? भन्ने लाग्न सक्छ । तर स्थानीयबासी भन्छन्, ‘त्यस्तो कुनै समस्या छैन । किनभने सबै इमान्दार छन्, टोलबासी मिलिजुली काम गर्छन् ।’ चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको स्थानमा कुरेर बस्छन् ।

उहिले-उहिले धान चोरी हुने डरले मानिसहरु धान सुकाएकै स्थानमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छाड्छन् र ढुक्कले घरमा सुत्छन् ।

भक्तपुरका किसानहरुले तिहार पछाडि धान भित्राएका थिए । राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरुले खुला ठाउँलाई उपयोग गरेका हुन् ।

भक्तपुरमा करिब ४ हजार ३ सय हेक्टर जग्गामा धान खेती हुने गरेको जिल्ला कृषि कार्यालयको तथ्यांक छ । भक्तपुरुका किसानहरुले विभिन्न हाइब्रिड जातका धान, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment