+
+
Shares

सरकारी कर्मचारीसहित ९ जोडी दिउँसै आपत्तिजनक अवस्थामा पक्राउ

अभद्र व्यवहार मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १५:०६

१ मंसिर, वीरगञ्ज । बाराको सिमराबाट प्रहरीले आपत्तिजनक अवस्थामा ९ जोडीलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका-१ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो । सोही क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट आपत्तिजनक अवस्थामा ९ वटा जोडीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । ‘होटलमा शंकास्पद अवस्थामा भेटेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेका छौं, कानुनी कारबाहीको प्रक्रिया पूरा भएपछि छोड्छौं ।’

रकम लिएर गरिने अवैध यौन धन्दालाई निरुत्साहित गर्न प्रहरी संगठन कठोर भएर लाग्ने उनको भनाइ छ ।

होटल व्यवसायी असन्तुष्ट

तर भ्रमण वर्ष २०२० नजिकिनै लाग्दा प्रहरीले चालेको यस्तो कदमबाट होटल व्यवसायी भने असन्तुष्ट छन् ।

होटलमा दिउँसै छापामारी गरेर मानिस नियन्त्रणमा लिएर जाँदा बाहिर नराम्रो सन्देश जाने भएकोले पर्यटन प्रवर्द्धनमा समेत असर पर्ने उनीहरुको ठम्याइ छ । सिमराका होटल व्यवसायीहरु प्रहरीले चालेको कदमका बारेमा समिक्षा गर्न बैठक बसिरहेका छन् ।

होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने भ्रमण वर्ष नजिकिँदै गरेको समयमा प्रहरीले होटलहरुमा छापा हान्दा बाहिर त्यसको नराम्रो सन्देश जाने बताउँछन् । ‘हामी भ्रमण वर्षलाई सफल बनाउन लागि परेका छौं, होटल व्यवसायलाई व्यवस्थित बनाउन खोजिरहेका छौं, सिमरामा जस्तै प्रहरीले पोखरा, सौराहालगायत पर्यटकीय क्षेत्रका होटलमा प्रहरीले छापा हान्दा अवस्था के होला ?’ उनले भने, ‘छापामारी गर्ने प्रहरीको कर्तव्य होला, परिस्थिति नबुझी जुनसुकै बेला जहाँ पनि छापामारी गर्दा होटल व्यवसायलाई असर पर्छ ।’

होटलमा आएर बस्नेहरुको विवरण दुरुस्त राख्न, कानूनले निषेध गरेका गतिविधि नगर्न आफूले व्यवसायी साथीहरुलाई आग्रह गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?