+
+
Shares

पर्साको पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते १९:४३

१ मंसिर, वीरगञ्ज । भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा पर्सा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिवद्धता सरोकारवालाले गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी र पर्यटन पत्रकार संघ वीरगञ्जले संयुक्त रुपमा आयोजना गरेको अवलोकन भ्रमणका क्रममा सरोकारवालाले त्यस्तो बताएका हुन् । पर्सा जिल्ला र आसपासका क्षेत्रको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका पर्यटकीय स्थलको पहिचान गरी त्यसको संरक्षण र प्रचार प्रसार समेत गर्ने उनीहरुको भनाइ छ ।

भ्रमण टोलीले पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीहरुसँग भेट गरी पर्यटकलाई जंगल सफारी गर्न सहज वातावरण मिलाउनुपर्ने बताएका छन् । टोलीमा सहभागीले आपसी समन्वयमा पर्यटकलाई निकुञ्ज भित्र अवलोकन गर्न लैजानुको साथै अन्य सम्भावनाका बारे छलफल चलाउन सकिने बताए । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष बुद्धिबहादुर पन्त (हरि)ले निकुञ्जमा बढी भन्दा बढी भारतीय पर्यटक लैजान सक्नुपर्नेमा जोड दिए । निकुञ्जले दिन सक्ने सेवा सुविधाको बारेमा खुलेर बाहिर आउनुपर्ने धारणा उनको थियो ।

‘हामीसँग पर्यटकीय स्थल कम छ, निकुञ्जमा भारतीय पर्यटकलाई आर्कषित गराउन सकिन्छ,’ उनले भने, ‘वीरगञ्जमा सूचना केन्द्र राखेर भएपनि निकुञ्जको बारेमा जानकारी दिनुपर्छ ।’

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले आरक्षबाट निकुञ्जमा परिणत भइसकेपछि पर्यटकलाई आकर्षित गर्न विभिन्न क्रियाकलाप सञ्चालन गर्नुको साथै पूर्वाधार निर्माण भइरहेको बताए । निकुञ्ज क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न होटल तथा पर्यटन व्यवसायीसँग सहकार्य गर्न निकुञ्ज प्रशासन तयार रहेको उनको भनाइ छ ।

‘जंगल सफारी गर्न गाईड अनिवार्य हुनुपर्छ, यस क्षेत्रमा टुरिष्ट गाइड छैनन्, त्यसका लागि हामीले तालिम आयोजना गर्दैछौं । अन्य पूर्वाधार निर्माण भईरहेका छन्,’ उनले भने, ‘ सफारी गाडीको पनि अभाव छ । प्राईभेट गाडीमा जंगल पठाउँदा सुरक्षा चुनौती बढी हुन्छ ।’

आरक्षणबाट पर्सा राष्ट्रिय निकुञ्जमा परिणत भएपछि अनुमति लिएर आदाभार स्थित निकुञ्जको कार्याल, अमलेखगञ्ज स्थित हात्तीसार, पर्सामा पर्ने चारभैया, गढुवालाइन पोष्ट र मकवानपुरको प्रतापपुरबाट निकुञ्ज क्षेत्रमा प्रवेश गर्न सकिन्छ ।

भ्रमण टोलीमा भोजपुरी चलचित्रका निर्माता एवं चर्चित कलाकार नन्दु श्रीवास्तव, पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता दिलिपराज कार्की लगायत बारा पर्साका सञ्चारकर्मी सहभागी थिए ।

शनिबार बिहान आदाभार स्थित निकुञ्जको कार्यालयबाट ‘जंगल सफारी’ गर्दै टोली ‘रामभौरी भाठा’ मन्दिर पुगेको थियो । निकुञ्जकै जंगल हुँदै ठोरी गाउँपालिकाको सुवर्णपुर स्थित होम स्टे पुगेको टोली पूनः धार्मिक पर्यटकीय स्थल कोईलाभार मन्दिरको दर्शन गरेर फर्केको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?