Comments Add Comment

किन नाइट क्लब जानु हुन्न खेलाडी ?

लगेज मिलाउन घर जाने भन्दै होटलबाट निस्केका चार भाइ नाइट क्लबमा फिटान

१ मंसिर, काठमाडौं । विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न नेपालको राष्ट्रिय टोली शनिबार दिउँसो ३ बजे भुटान उड्नुपर्ने थियो । त्यसका लागि शुक्रबार बेलुका सबै खेलाडी लगेज मिलाउन भन्दै कुपण्डोलस्थित होटलबाट निस्किए ।

शनिबार दिउँसो खेलाडीहरु विदाईको तयारी भइरहँदा चार जना बर्खास्तीमा परेको खबर आयो । ‘घर जान भनेर निस्किएका खेलाडीमध्ये चार जना क्लबमा पुगेछन्, एकैपटक बिहान एन्फामा आए । उनीहरुमाथि शंका लागेर प्रशिक्षकले सोधपुछ गर्दा रक्सी खाएर आएको स्वीकारे’ अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राई भन्छन्, ‘त्यो सुन्नासाथ हामीले प्रशिक्षकसँग आकस्मिक बैठक बसेर तत्काल निलम्बनको निर्णय लिएका हौं ।’

भुटान प्रस्थान गर्ने अघिल्लो रात स्ट्राइकर विमल घर्ती मगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी लर्ड अफ डिङ्स (एलओडी) क्लबमा रमझम गर्न पुगेका थिए । दुईवटा मोटरसाइकलमा गएका उनीहरुले मदिरा पिएका थिए । फर्किँदा उनीहरुको मोटरसाइल दुर्घटनामा समेत परेको बताइएको छ । राजवंशीको आँखामाथि त्यही कारण चोट लागेको छ ।

यो पनि पढ्नुहोस नाइट क्लबमा भेटिए चार फुटबलर, एन्फाले राष्ट्रिय टिमबाटै हटायो

स्रोतकाअनुसार उनीहरु चारै जनाले गल्ती स्वीकारेका छन् ।

चार खेलाडीलाई राष्ट्रिय टिमबाट हटाउँदा खेलाडी सुवास गुरुङको भाग्य खुल्यो । उनी नेपालको २० सदस्यीय टोलीमा समावेश हुँदै भुटान पुगेका छन् ।

पुरानै रोग

राष्ट्रिय फुटबल टिमका खेलाडीमा अनुशासनको समस्या पुरानै हो । तर खेलाडीहरुप्रति सदासयता देखाएर एन्फाले नै घटना ढाकछोप गर्दै आएको थियो ।

गत वर्षको साउनमा पनि बिमल, अन्जन, विशाल राई र हेमन्त थापा मगर पनि यसैगरी होस्टलबाट नाइट क्लब पुगेका थिए । त्यतिबेला भने एन्फाले लचकता अपनाउँदै उनीहरुलाई सामान्य स्पष्टिकरण सोधेर उन्मुक्ति दिएको थियो । त्यतिबेलै एन्फाभित्र उनीहरूलाई कडा कारवाही गर्नुपर्ने आवाज उठेको थियो । ‘अब चाहिँ पाठ सिकाउनैपर्ने देखेर हामीले एक्सन लिएका हौं,’ एन्फा स्रोतले भन्यो ।

अघिल्लो पुस्ताका खेलाडीहरुमा पनि अनुशासन उल्लंघनका घटनाहरु धेरै सुनिन्थे । राष्ट्रिय टिमका पूर्व प्रशिक्षक श्याम थापाले आफ्नो पालामा ‘प्लेइङ–११’ कै खेलाडीमा यस्तै प्रकृतिको समस्या पटकपटक देखिएको बताएका थिए ।

राष्ट्रिय टिमका पूर्व कप्तान हरि खड्का आफ्नो पुस्ताका खेलाडीहरुमा पनि अनुशासनको समस्या रहेको पनि अहिलेजस्तो चर्को नभएको बताउँछन् । ‘हाम्रो पालामा त्यतिधेरै नाइट क्लब पनि नभएर होला, यो प्रकृतिका घटना चाहिँ भएनन्,’ उनले भने ।

गिजोलियो टिम

कारवाहीमा परेका चारै जना खेलाडी पहिलो रोजाईका खेलाडी हुन् । विमल नेपाली टिमका प्रमुख स्ट्राइकर हुन् भने अञ्जन मिडफिल्डका प्रभावशाली खेलाडी हुन् ।

विश्वकप छनोटमा नेपालले जितेको एक मात्र खेलमा अञ्जनले चाइनिज ताइपेई दुई गोल हानेका थिए । दिनेश पनि नेपालको रक्षापंतिका भरपर्दा खेलाडी हुन् । चार खेलाडीको अनुपस्थितिमा नेपाली टिम कमजोर देखिएको छ ।

कुवेत आफैंमा नेपालभन्दा बलियो टिम हो । उसको घरेलु मैदानमा भएको खेलमा नेपाल ७–० ले पराजित भएको थियो । यो खेल नेपालको स्तरमा सुधार देखाउने अवसर थियो । तर एकाएक टिम गिजोलिँदा नेपाल फेरि कमजोर बनेको छ ।

अहिले २० खेलाडी मात्र भुटान पुगेका छन् । यसअघि २३ जनाको टोली जाने तालिका थियो । प्रशिक्षकले थप खेलाडी आवश्यक महसुस गरेमा पठाउन सकिने एन्फा प्रवक्ता राइको भनाइ छ । नेपाल र कुवेतको म्याच पर्सि मंगलबार हुनेछ । होम ग्राउण्डमा हुनुपर्ने यो म्याच दशरथ रंगशालाको पुनर्निर्माणमा सम्पन्न नभएका कारण तटस्थ भूमिका रुपमा भुटान सरेको हो ।

थप कारवाहीको सम्भावना

कुवेतविरुद्ध खेल्ने नेपाली टोलीबाट निकाल्ने एन्फाको निर्णय आकस्मिक र तत्कालिक हो । चार खेलाडीविरुद्ध थप कारवाही हुनसक्ने एन्फा स्रोतले बताएको छ । ‘विदेश भ्रमणको अघिल्लो दिन नाइट क्लबमा रातभर मातेर बस्नु गम्भिर अनुशासन उल्लंघन हो । त्यसैले एन्फाको अनुशासन समितिले थप छलफल गरेर उनीहरुमाथि अर्को कारवाही गर्न सक्छ,’ एन्फा स्रोतले भन्यो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा भुटान छन् ।

उनीसित सल्लाह गरेरै निलम्बनको निर्णय लिइएको एन्फाका प्रवक्ता राईले बताए । उनले भने, ‘अध्यक्ष नेपाल फर्किएपछि अनुसन्धान गरी थप कारवाही हुनसक्छ ।’

प्रशिक्षक बालगोपाल महर्जन पनि थप कारवाही हुनसक्ने बताउँछन् । ‘मेरो अनुमानमा यो प्रारम्भिक कारवाही मात्र हुनुपर्छ । थप कारवाहीको खतरा देखेको छु,’ उनले भने ।

यद्यपि, खेलाडीलाई लामो प्रतिवन्ध लाग्न सक्ने सम्भावना भने नदेखेको उनले बताए । ‘गल्तीअनुसारको सजाय हुनुपर्छ । तर सच्चिने मौका पनि दिनुपर्छ,’ उनले भने ।

व्यवस्थापनको बेवास्ता

नेपाली टिममा युवा खेलाडीहरुको वर्चश्व छ । अहिले कारवाहीमा परेका खेलाडीहरु अन्डर १९ बाट आएका हुन् । युवा अवस्थामै पाएको ‘स्टारडम’ खेलाडीहरुले सम्हाल्न गाह्रो परिरहेको देखिन्छ । बालगोपाल भन्छन्, ‘यो उमेरका खेलाडीहरुलाई राम्रो काउन्सिलिङ भएन भने दायाँबायाँ लाग्ने खतरा हुन्छ ।’

अहिले राष्ट्रिय टिममा रहेका धेरै खेलाडीहरु उमेर समूहमा उनकै प्रशिक्षणमा हुर्किएका हुन् । त्यसबेला उनीहरुमा अनुशासनको समस्या नरहेको प्रशिक्षक महर्जनले सुनाए । ‘मेरो अन्डरमा हुँदा उनीहरु अनुशासित नै थिए । बीचमा विभिन्न कारणले मैले टिम छोडेँ । त्यसपछिको दुई वर्षमा सबै कुराहरु अस्तव्यस्त भए र खेलाडीहरुले पनि अनुशासन बिर्सिएँ,’ उनले भने ।

खेलाडीलाई अनुशासनमा राख्ने काम एन्फाकै हो । त्यसैले यो घटनामा पनि अनुशासन अफिसरदेखि व्यवस्थापक, प्रशिक्षक र एन्फा पदाधिकारीले समेत नैतिक जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

पूर्वकप्तान हरि खड्का युवा खेलाडीहरुलाई फुटबलको कौशल मात्र सिकाउने नभएर उनीहरुको आनीबानीमा पनि ध्यान दिनुपर्ने बताउँछन् । ‘खेलाडीको आनीबानी एकदम महत्वपूर्ण हून्छ । यसका लागि उनीहरुलाई राम्रो मार्गनिर्देशन चाहिन्छ । कारवाहीले मात्रै सुधार आउँदैन,’ उनले भने ।

किन नाइट क्लब जानु हुँदैन ?

युवा अवस्थामा साथीहरुसँग नाचगान र रमझम गर्ने जोकसैलाई रहर हुन्छ । यस्तै रहर हुनेहरूका लागि शहरभरी बग्रेल्ती नाइट क्लबहरु खुलेका छन् । एउटा प्रश्न उठ्न सक्छ के नाइट क्लबमा फुटबलरले चाहिँ पस्न हुँदैन त ?

‘प्रश्न यो होइन,’ नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान हरि खड्का भन्छन्, ‘खेलाडीले नाइट क्लब जानु नहुने, रमाइलो गर्नु नहुने भन्ने होइन । तर त्यसको टाइमिङ महत्वपूर्ण हुन्छ । हामी विश्वकप छनोट खेलिरहेका छौं । सागको तयारीमा छौं । यस्तो बेला खेलाडीको फोकस फुटबलमै हुनुपर्छ ।’

राष्ट्रिय टिमबाट सर्वाधिक गोलकर्ताको रेकर्ड राखेका खड्का भुटान प्रस्थान गर्ने अघिल्लो रातमा क्लब जानु र रक्सी पिउनु खेलाडीको गम्भीर गल्ती भएको बताउँछन् । ‘यस्तो गतिविधिले खेलमै खसर गर्छ । खेलपूर्व उनीहरुलाई शारीरिक र मानसिक रुपमा आरामको आवश्यकता हुन्छ । उनीहरुको ध्यान पनि फुटबलमा केन्द्रित हुनुपर्छ । त्यसैका लागि हो, बन्द प्रशिक्षणमा राखिने,’ खड्का भन्छन् ।

राष्ट्रिय टीमका पूर्व प्रशिक्षक बालगोपाल महर्जन पनि खड्काको भनाइसँग सहमत छन् । उनी भन्छन्, ‘बन्द प्रशिक्षणका बेला खेलाडीहरुको एक मात्र प्राथमिकता फुटबल हुनुपर्छ । क्लोज क्याम्पका बेला नाइट क्लबमा मस्ती गर्न जाने खेलाडी संसारको जुन देशका भए पनि कारवाहीको भागिदार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment