Comments Add Comment

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने : मन्त्री पण्डित   

२ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।

प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए ।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए । “अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्‍यौं”, उनले भने, “अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं ।” उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध भएमात्र संघीयता कार्यान्वयनमा सहज हुने भन्दै प्रतिष्ठानले अहिलेसम्म प्रदेश नं १, प्रदेश नं २, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा तीन तहको अन्तर तह सम्बन्ध कार्यक्रम सञ्चालन गरेको बताए ।

सम्मेलनमा जापान, भारतलगायत देश र काठमाडौं उपत्यकाका जनप्रतिनिधिको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment