+
+
Shares

प्रदेश २ लोकसेवा आयोगले माग्यो रिक्त दरवन्दीको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १९:०९
प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव

२ मंसिर, जनकपुरधाम । गठन भएको झण्डै साढे दुई महिनापछि प्रदेश २ को लोकसेवा आयोगले काम सुरु गरेको छ ।

आयोगले पहिलो चरणमा प्रदेशमा रिक्त रहेका कर्मचारीको विवरण प्रदेश सरकारसँग मागेको छ । ‘कार्यालय सञ्चालनमा आएसँगै हामीले कर्मचारीको रिक्त दरवन्दीको माग प्रदेश सरकारसँग गरेका छौं’ आयोगका अध्यक्ष प्रा. सुरेन्द्रप्रसाद यादवले भने, ‘प्रदेश सरकारले विवरण दिनेवित्तिकै हामी विज्ञापनको प्रक्रियालाई अगाडि बढाउँछौं ।’

यादव लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएको तीन महिनापछि बाँकी दुई जना सदस्यको नियुक्ति गरिएको थियो । गत भदौ ५ गते यादवलाई अध्यक्षमा नियुक्त गरिएको थियो भने डा. सुजाता देव र महारुद्र झालाई कात्तिकको पहिलो साता नियुक्त गरिएको थियो ।

आयोगले पूर्णता पाएको र कार्यालय समेत स्थापना भएपछि आफूहरु काममा जुटिसकेको अध्यक्ष यादवले बताए । ‘हाम्रो पहिलो काम नै प्रदेशभित्रको कर्मचारी अभाव हटाउनु हो’ अध्यक्ष यादवले भने, ‘त्यसै अनुसार कामलाई अगाडि बढाएको छु ।’

उनले रिक्त रहेका दरवन्दीको माग प्रदेश सरकारसँग गरिसकेको र प्रदेश सरकारले विवरण बुझाएलगत्तै विज्ञापन गरिने बताए ।

प्रदेशका मुख्य सचिव दीपक सुवेदीले आयोगबाट विवरण माग गरिएको पत्र प्राप्त भइसकेको बताए । ‘हामीले आयोगबाट पत्र प्राप्त भएदेखि नै रिक्त दरवन्दीको माग फारम भर्ने कामलाई अगाडि बढाएका छौं’ सुवेदीले भने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता दिनेश साहले आठ वटै जिल्लाको जिल्ला प्रशासन र मन्त्रालयहरुमा रिक्त कर्मचारीबारे जानकारी मागिएको बताए । ‘अहिले मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुले विवरण संकलन गरिरहेको छ’ उनले भने ।

मंसिर महिनाभित्र रिक्त दरवन्दीबारे फारम भराई संकलन गरिसक्ने लक्ष्य प्रदेश सरकारले लिएको मुख्य सचिव सुवेदीको भनाइ छ ।

प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले कर्मचारी अभावका कारण काम गर्न कठिनाइ भइरहेको बताइरहँदा आफ्नै कर्मचारी राख्न लोकसेवा आयोगले काम थालेपछि चाँडै कर्मचारी भर्ना हुने विश्वास प्रदेश सरकारले लिएको छ ।

यद्यपी लोकसेवा आयोगका पदाधिकारी दलीय भागबण्डामा नियुक्त गरिएकाले कतिको विश्वासिलो हुने ? भन्ने आशंका छ । अध्यक्ष प्रदेशमा सत्ताको नेतृत्व गर्ने समाजवादी, झा अर्का सत्तारुढ राष्ट्रिय जनता पार्टी (राजपा) र देव प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिफारिसमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?