Comments Add Comment

कुलेखानी तेस्रो पनि एक महिनाभित्रै उद्घाटन

३ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबार माथिल्लो त्रिशूली थ्रि एको उद्घाटन गरेपछि अब कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गर्ने तयारीमा जुटेको छ । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले गत असोज तेस्रो साताबाट परीक्षण उत्पादन थालेको थियो ।

यो आयोजनाले व्यवसायिक उत्पादन थालेपछि प्राधिकरणअन्तर्गत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजना पार लाग्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘एक महिनाभित्र कुलेखानी तेस्रो आयोजनाको पनि उद्घाटन गर्छौं,’ उनले भने, ‘यसपछि प्राधिकरणको ध्यान मुख्यरुपमा माथिल्लो तामाकोसीसहित कम्पनी मोडलमा बनिरहेका विभिन्न आयोजनामा केन्द्रित हुनेछ ।’

विभिन्न कारणले प्राधिकरणलाई आर्थिक बोझ बनिरहेका चमेलिया र त्रिशुली थ्री ‘ए’ ले उत्पादन थाले पनि कुलेखानी तेस्रो आयोजना अन्योलमा थियो । अहिले कुलेखानी तेस्रोबाट परीक्षण उत्पादन भइरहेको र उत्पादित विजुली राष्ट्रिय प्रसारणमा आइसकेको घिसिङले बताए । कुलेखानी १ र २ चलेका बेलामा मात्रै तेस्रो आयोजना चलाउन सकिने भएकाले त्यसैअनुरुप परीक्षण भइरहेको उनले जानकारी दिए ।

अनिश्चितताको भूमरीबाट निकालेर आयोजना सम्पन्न गर्ने अवस्थामा ल्याउन प्राधिकरणले निकै मिहिनेत गर्नुपरेको थियो । यो आयोजना चिनियाँ ठेकेदार कम्पनीको लापरवाहीको शिकार भएको थियो । प्राधिरकणको अघिल्लो नेतृत्वले आयोजना व्यवस्थापनामा ध्यानै दिएन ।

हाइड्रो तथा इलेक्ट्रोमेकानिकल तर्फको ठेकेदार चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले यो आयोजना टेक्का पाएको हो । प्राधिकरण र कम्पनीबीच हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरुको आपूर्ति, जडान र सञ्चालनका लागि ५० लाख अमेरिकी डलर र २४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ढिलो काम गरेबापत ठेक्का रकमको १० प्रतिशतले हुन आउने रकम (झन्डै ७ करोड रुपैयाँ) जरिवाना कम्पनीबाट असुल्ने निर्णय प्राधिकरणले गरिसकेको छ ।

आयोजनाको शुरुको लागत अनुमानित अढाइ अर्ब रुपैयाँ थियो । निर्माण अवधि लम्बिदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् ।

पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगावाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा पुर्‍याएर १४ मेगावाट उत्पादन हुँदैछ ।

अप्रिल २००८ देखि सुरु भएको आयोजनाको निर्माण डिसेम्बर २०११ सम्ममा सक्ने लक्ष्य थियो । तर, तोकिएको समय गुज्रेकै ८ वर्षपछि आयोजनाले बल्ल परीक्षण उत्पादन थाल्न सकेको छ । आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो ।

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भएको हो । आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । निर्माण अवधि बढेसँगै आयोजनाको लागत करिब ५ अर्ब पुगेको अनुमान छ ।

यो आायेजनाको निर्माण लागत प्रतिमेगाट ३३ करोड बढी पर्ने अनुमान छ । समान्यतया अहिले प्रतिमेगावाट करिब २० करोड खर्च हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment