Comments Add Comment

ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा गाउँ अन्धकार

४ मङ्सिर, जाजरकोट । ढोरेनी जलविद्युत् आयोजना मर्मत नहुँदा बारेकोट गाउँपालिका-६ का ५०० घरधुरीका वासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् उत्पादनगृहमा रहेको डाइनमो २०७५ साल माघ २ गते बिग्रिएपछि बारेकोट गाउँपालिका-६ का स्थानीयवासीको बत्ती बाल्ने सपना अधुरै रहेको छ । आस्था नेपालको दुई करोड २२ लाखको अनुदान सहयोग र बारेकोट गाउँपालिकाको ३५ लाख सहयोगमा निर्माण भएको ढोरेनी जलविद्युत् आयोजना गत माघदेखि अवरुद्ध भएको स्थानीयवासी दलबहादुर विकको भनाइ छ ।

विद्युत् निर्माण भएको तीन/चार वर्ष बितिसक्दासमेत त्यस आयोजनामा काम गरेका मजदूरले ज्याला पाउन सकेका छैनन् । आफूले काम गरेको वर्षाैं बितिसक्दा पनि काम गरेको ६० हजार अहिलेसम्म पनि नपाएको नलगाड नगरपालिका-६ गर्छिनका अर्जुन विकले बताए ।

अर्जुन मात्रै हैन बारेकोट गाउँपालिका-६ ताँसीकी तारा विकको रु ८० हजार, जुम्ला गुठिचौर गाउँपालिकाका खड्क बस्नेत, बारेकोट गाउँपालिका-६ का बमबहादुर विक, देवराज विक, अप्सरा विकको समेत काम गरेको रु ५० हजार बढी भुक्तानी पाउनै बाँकी रहेको बताएका छन् ।

‘विद्युत् पनि बल्दैन, पैसा पनि पाएका छैन, हामीलाई समस्या भएको छ’, बारेकाट गाउँपालिका-६ का दलबहादुर नेपाली भन्छन् । उनको पनि आयोजनाको काम गरेको ६० हजार लिन बाँकी रहेको छ ।

उता आयोजनाका अध्यक्ष महेन्द्रबहादुर चलाउनेले विद्युत् मर्मतको काम छिट्टै अगाडि बढ्ने र मजदूरले पनि काम गरेको रकम पाउने बताउँछन् । विद्युत्को सामान सजिलै नपाउने र मर्मतको लागि बुटवल नै पठाउनुपर्ने समस्याले गर्दा हालसम्म पनि समस्या भएको आयोजनाका सचिव कमलदीप महतारको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment