Comments Add Comment

नेपालीले खान्छन् वार्षिक ५५ अर्बको औषधि, झण्डै आधा उपभोक्ता काठमाडौंका

एक दशकमा वाषिर्क औषधि खपत ३५ अर्बले बढ्यो

नेपालमा पछिल्लो एक दशकमा वाषिर्क खपत हुने औषधिको हिस्सा झण्डै ३५ अर्बले बढेको छ । औषधि व्यवस्था विभाग र औषधि व्यवसायी संघको तथ्यांकलाई आधार मान्दा बर्सेनि १० प्रतिशतको दरमा यसको खपत बढ्ने गरेको छ । यसको पनि कुल खपतको ४० प्रतिशतको हाराहारीमा त काठमाडौं उपत्यकाबासीले नै खपत गर्ने गरेका छन् ।

विभागका महानिर्देशक पानबहादुर क्षेत्री विशेषगरी शहरी भेगका मानिसहरुले धेरै औषधि खपत गर्ने गरेको बताउँछन् । पछिल्लो समय नयाँ नयाँ किसिमका रोगहरुको समेत पहिचान भएकोले यसको खपत केवल मूल्य वृद्धिका कारणमात्रै नभएर बिरामीको संख्यासमेत बढेको बताउँछन् । यद्यपि, औषधि बिक्री भएको रकमको आधारमा यसको खपत कति भयो ? भनेर तथ्यांक सार्वजनिक गरिने भएकोले यसमा मूल्य वृद्धिको पनि योगदान हुने गर्छ ।

औषधि व्यवस्था विभाग र नेपाल औषधि व्यवसायी संघका अनुसार अहिले नेपालमा बर्सेनि ५० देखि ५५ अर्ब रुपैयाँसम्मको औषधि खपत हुने गरेको छ । यो तथ्यांक कुनै अध्ययनबाट निस्किएको विवरण नभई व्यापारको आधारमा गरिएको अनुमानमात्रै हो ।

यो तथ्यांक हरेक वर्ष फरकफरक तरिकाले निकाल्ने गरिन्छ । औषधि व्यवस्था विभागले हरेक वर्ष आर्थिक वृद्धि र मूल्य वृद्धिको दरमा औषधिको खपतको तथ्यांक अनुमान गर्ने गरेको छ । महानिर्देशक क्षत्रीले औषधिको खपतको अवस्था हरेक वर्षको मूल्य वृद्धि र आर्थिक वृद्धिको आधारमा निकालिने जानकारी दिए । खपतकै बारेमा अध्ययन नभएकाे भन्दै हरेक वर्ष १० प्रतिशतको हाराहारीमा औषधिको खपत बढ्ने अनुमान गरिने बताए । उनले ५० अर्बको हाराहारीमा औषधिको खपत हुने गरेको अनुमान पेस गरे ।

नेपाल औषधि व्यवसायी संघले विभागभन्दा केही वैज्ञानिक रुपमा औषधि खपतको हिस्सा निकाल्ने गरेको भए पनि यसबारे संघको तथ्यांकसमेत स्पष्ट छैन । संघले आफ्नो खपत र विदेशी औैषधि आयातको आधारमा यसको तथ्यांक निकाल्ने गर्छ । संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले औषधिको आयात र आन्तरिक औषधिको बिक्रीको आधारमा यसको विवरण निकाल्ने गरिएको जानकारी दिए । यस्तो गर्दा कुल औषधि खपत ४८ अर्बदेखि ५५ अर्ब रुपैयाँसम्म हुने संघको तथ्यांकमा उल्लेख छ । श्रेष्ठका अनुसार कुल औषधि खपतको ४५ प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी ५५ प्रतिशत नेपाल बाहिरबाट आयात हुने गरेको छ ।

त्यस्तै, संघले निकाल्ने तथ्यांकमा हरेक खपतमा ०.२ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म औषधि खपत नभई हरेक वर्ष खेर जाने भएकोले त्यसलाई घटाएर मात्रै खपत हुने प्रतिशत निकालिने उनले बताए ।

एक दशकमा वाषिर्क ३८ अर्ब बढी औषधि

पछिल्लो एक दशकको औषधि खपतको तथ्यांकलाई आधारमान्दा वाषिर्क ३८ अर्बको औषधि खपत बढेको भेटिएको छ । संघले दिएको जानकारी अनुसार सन् १९९९ मा अनुमानित ५ अर्ब ९० करोड रुपैयाँको औषधि खपत भएकोमा त्यसको ५ वर्षपछि सन् २००५मा १० अर्ब रुपैयाँको औषधि खपत भएको देखिएको छ । त्यसको अर्काे वर्ष औषधिको खपत घटेर ९ अर्ब ६१ करोड रुपैयाँ भएको थियो । त्यसको अर्काे वर्ष फेरि एक्कासि १४ अर्ब रुपैयाँको औषधि प्रयोग भयो । यो संख्या २००९ मा आइपुग्दा १७ अर्ब पुगेको छ । यो तथ्यांक १० वर्षपछि आइपुग्दा ५५ अर्ब रुपैयाँसम्म पुगेको हो ।

नेपालमा औषधिको खपत यति धेरै बढ्दा पनि यसमा नेपाली उद्योगको सहभागिता भने अझै बढ्न सकेको छैन । सन् २००० मा २५ प्रतिशत औषधि नेपाली उत्पादनको खपत गरिने गरेका नेपालीहरुले २०१० सम्म आइपुग्दा ४२ प्रतिशत औषधि आफ्नै देशको खपत गर्ने गरेका थिए । अहिले झण्डै १० वर्षपछि आइपुग्दा पनि ३ प्रतिशत मात्रै बढीले हुने ४५ प्रतिशत हुनुले औषधिमा नेपाल आत्मनिर्भरताको बाटोमा नगएको पुष्टि हुन्छ । संघका अनुसार अहिले कूल आयातित विदेशी औषधिको ९० प्रतिशत औषधि भारतबाट मात्रै आयात हुने गरेको ।

कुल खपत हुनेमध्ये नसर्ने रोगको औषधिहरु धेरै खपत हुने गरेको विभागले जनाएको छ । विभागका अनुसार यसमा सबैभन्दा धेरै एन्टिबायोटिक र सबै प्रकारका नसर्ने रोगका औषधिहरु पर्छन् । त्यसमा पनि मुटु रोग र चिनी रोगका औषधि धेरै भएको विभागले जनाएको छ । अहिले नेपालमा साढे सात हजार ब्रान्डका विदेशी औषधि दर्ता भएका छन् । विभागका अनुसार क्यान्सर, एचआइभी/एड्स, न्यूरोसम्बन्धी, मिर्गौलालगायत क्रिटिकल केयरका रोगीलाई खोपबाट दिइने औषधिसमेत धेरै आयात गरिने गरेको छ ।

विश्वभर झनै भयावह स्थिति

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार सन् १९९९ मा विश्वका कुल १५ प्रतिशत मानिसहरुले कुल औषधि उत्पादनको ९० प्रतिशत खपत गरे । विश्वव्यापी रुपमा वाषिर्क हुने औषधिको खपत डरलाग्दो रुपमा बढेको छ । औषधि खपत तुलनात्मक रुपमा कम देखिएको भए पनि गरिब मुलुकमा समेत औषधिको खपत बढिरहेको छ । विश्वमा अबको ५ वर्षपछि अर्थात् २०२३ सम्ममा १५ खर्ब अमेरिकी डलर बराबरको औषधि खपत हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment