+

बिच भलिबल टिमलाई परदेशिएकी पूर्व खेलाडीको सहयोग

२०७६ मंसिर  ६ गते १८:५३ २०७६ मंसिर ६ गते १८:५३
बिच भलिबल टिमलाई परदेशिएकी पूर्व खेलाडीको सहयोग

६ मंसिर, पोखरा । नेपाली राष्ट्रिय महिला भलिबलमा छुट्टै परिचय बनाएकी खेलाडी परीक्षा गुरुङ यतिबेला बेलायतमा छिन् । ५ औं राष्ट्रिय खेलकुदबाट ‘राष्ट्रिय खेलाडी’को परिचय बनाएकी उनले गण्डकीबाट प्रतिनिधित्व गर्दै लगातार राम्रो प्रदर्शन गरिन् । तर ५ वर्षअघि बैबाहिक सम्बन्ध गाँसिएपछि नेपाल छोडिन् ।

तर, खेल र देशप्रतिको लगाव उस्तै रह्यो । देश छोडेर परदेश पुगेकी गुरुङले बेलायतमा पनि भलिबललाई छाड्न सकिनन् । त्यहाँ उनी अहिले स्थानीय ‘अल्डरसट भलिबल क्लब’बाट खेलिरहेकी छिन् । उनले अहिले१३ औ सागमा नेपाली भबिल टोलीलाई जर्सीसहित खेल सामाग्री उपलब्ध गराएकी छन् ।

गुरुङ आबद्ध युकेको क्लब अल्डरसटले शुक्रबार १३ औं साग अन्तर्गत हुन लागेको बिच भलिबल खेलाडीलाई जर्सी वितरण गरेको छ । पोखरा ६ बाराही मैदानमा निर्माणाधीन बिच भलिबल कोर्टमा अभ्यासरत खेलाडी लाई जर्सी र निक्याप हस्तान्तरण गरिएको हो । टिममा अधिकांश सँगै खेलेका साथी छन् ।

अभ्यासरत बिच भलिबल टिमलाई उनका बुवा खर्कमान गुरुङ र आमा गीतादेवी गुरुङले जर्सी हस्तान्तरण गरेका थिए । छोरी ५ वर्षअघि बैबाहिक सम्बन्ध जोडेर युके गएपनि भलिबललाई भलिबलाई छोड्न नसकेको बुवा खर्कमान गुरुङले बताए । ‘बेलायतमा पनि छोरी उतैको क्लबबाट भलिबल खेल्छिन् । त्यहाँको पनि राम्रो खेलाडीमा मानिन्छन्,’ परीक्षाकी आमाले गीतादेवी गुरुङले भनिन्, ‘त्यहाँ पनि कैयौं पटक उत्कृष्ट खेलाडी भइसकेकी छे ।’

उनका पूर्व प्रशिक्षक कौशिला खत्री भने गुरुङलाई पूर्व खेलाडी भन्ने कि नभन्ने दोधारमा छन् । यहाँ हुने राष्ट्रिय खेलमा उनी भाग लिन भने आइरहन्छिन् । गण्डकीको प्रतिनिधित्व गरेर छैठौं र सातौं राष्ट्रिय खेलकुद पनि खेलिसकेकी छिन्’, साग अन्तर्गत बिच भलिबलका प्रशिक्षण खत्रीले भनेका छन् ।

यद्यपि खेलाडीहरुलाई सहयोग गरेकोमा खुसी व्यक्त गरे । ‘एउटा खेलाडीले आफू विदेशमा रहेर पनि आफ्नो देशलाई यसरी सम्झिएकोमा हर्षविभोर छौं,’ उनले भनिन् ।

कोर्ट ७० प्रतिशत पूरा

साग अन्तर्गत पोखरामा हुने बिच भलिबल कोर्ट पोखरा ६ बाराही मैदानमा निर्माण भइरहेको छ । खेल सुरु हुन करिब १ हप्तामात्रै बाँकी हुँदा बल्ल ७० प्रतिशत काम सकिएको कास्की जिल्ला भलिबल संघले जानकारी दिएको छ ।

बिच भलिबलको अभ्यास नेपालमा पहिलो पटक सुरु भएकाले काममा ढिलाइ भइरहेको संघका अध्यक्ष भीम पराजुलीले बताए । ‘बिच भलिबलका लागि आवश्यक पर्ने बालुवा यहाँको जस्तो हुँदैन । त्यसैले काममा ढिलाइ भइरहेको छ,’ उनले भने, ‘बालुवा सहज भएको भए एक हप्ताअघि नै मैदान तयार भइसक्थ्यो ।’

पराजुलीकाअनुसार बिच भलिबलका लागि मसिनो तर शरीरमा नतासिनु पर्ने हुन्छ । तर पोखरामा उपलब्ध हुने बालुवा त्यस प्रकृतिको छैन । ‘बालुवा ल्याएर त्यसलाई फेरि छानेर कोर्टमा बिच्छ्याइरहेका छौं,’ उनले भने । मैदानका लागि सेती नदी र याम्दी खोलाबाट बालुवा प्रयोग गरिएको छ ।

सागका लागि बाराही मैदानमा ४ वटा कोर्ट निर्माण गरिँदैछ । कोर्टमा पोल ठड्याउन पनि बाँकी छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय