Comments Add Comment

रेेमिट्यान्स घट्नुको कारण मलेेसिया मात्रै हो ?

७ मंसिर, काठमाडौं । देशको अर्थतन्त्रकै आधारस्तम्भका रुपमा रहेको रेमिट्यान्स भित्रिने क्रम २ महिनायता घट्न थालेको छ । स्वदेशी उद्योगधन्दा विकासमा खासै प्रगति नभएको अवस्थामा रेमिटन्स पनि ओरालो लाग्दा अर्थतन्त्रमै समस्या आउने खतरा मडारिएको छ ।

सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने महिना असोजमा ५ प्रतिशतले रेमिट्यान्स घट्यो । त्यसअघि भदौमा पहिलोपटक ०.३ प्रतिशतको झिनो गिरावट देखिएको थियो । राष्ट्र बैंकको तथ्यांक अनुसार भदौमा १ खर्ब ५३ अर्ब ७३ करोड रेमिट्यान्स आएकोमा असोजमा २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ आएको हो । भदौभन्दा असोजमा बढी आए पनि अघिल्लो वर्षको तुलनामा यो ४.९ प्रतिशत न्यून हो ।

विज्ञहरु मुख्य २ कारणले घटेको तर्क गर्छन् । पहिलो, वैदेशिक रोजगारीमा जाने संख्यामै आएको कमी र हुण्डी कारोबारको विगविगी हुनु ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षदेखि नै निरन्तर घटिरहेको छ । ६ महिनाअघि वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स बढ्दा सरकारले हुण्डी कारोबार नियन्त्रणको नतिजा भएको तर्क गरेको थियो ।

यस्तो छ ५ वर्षको ‘ग्राफ’

आजभन्दा ५ वर्षअघि अर्थात् आर्थिक वर्ष २०७१/७२ मा ६ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो १३.६ प्रतिशतले बढी थियो । आर्थिक वर्ष २०७२/७३ मा ७.७ प्रतिशतले रेमिट्यान्स बढेर ६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ पुग्यो ।

आर्थिक वर्ष २०७३/७४ मा  रेमिट्यान्स ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ पुग्यो । यस वर्ष रकम बढे पनि वृद्धिदर भने ४.६ प्रतिशतले खुम्चिएको थियो ।

आर्थिक वर्ष २०७४/७५ सम्म आइपुग्दा भने रेमिट्यान्स रकमसँगै वृद्धिदरमा समेत सुधार देखियो । आर्थिक वर्ष  २०७४/७५ मा ८.६ प्रतिशतले रेमिट्यान्स बढेर एक वर्षमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ भित्रियो । आर्थिक वर्ष २०७५/७६ मा १६.५ प्रतिशतको उच्च दरले बढेर ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो ।

वार्षिक विन्दुगत आधारमा रेमिट्यान्स बढेकै देखियो । तर मासिक तथ्यांक हेर्ने हो भने अधिकांश महिना रेमिट्यान्स वृद्धिदर खुम्चिएका छन् । चालु आर्थिक वर्षको तेस्रो महिनासम्म आइपुग्दा भने रेमिट्यान्स वृद्धिदर मात्रै होइन रेमिट्यान्स रकम नै खुम्चिएको छ ।

वैदेशिक रोजगारमा जाने घटे : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकको विश्लेषणमा रेमिट्यान्स घट्नुको प्रमुख कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्नु नै हो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४.७ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या उच्च दरमा घट्दा त्यसको असर यसपालि देखिएको राष्ट्र बंैकको विश्लेषण छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला भन्छन्, ‘वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु नै प्रमुख कारण हो, तर हुण्डीको प्रभाव पनि हुनसक्छ । अवैधानिक च्यानलबाट रकम काराबार गर्न नहुनेबारे चैतना फैलाउनु पर्नेछ ।’

आधिकारिक च्यानलबाट भन्दा गैरकानूनी तरिकाले रकम पठाउदा सजिलो हुने भएकाले त्यतातिर श्रमिकहरु लागेको हुन सक्ने उनको आशंका छ । उनले यसबारे सबैलाई बुझाउनु पर्ने बताए ।

केही सहुलियत दिएर भए पनि आधिकारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउन तर्फ ध्यान दिनुपर्ने प्रवक्ता निरौलाको भनाइ छ ।

‘अनधिकृत च्यानबाट रकम पठाउनेको संख्या बढ्दै गए त्यो देशको लागि राम्रो हुँदैन, यस विषयमा हामीले गम्भीर छलफल गर्ने बेला भइसकेको छ’ उनले भने ।

विज्ञ भन्छन्- हुण्डी र मलेसिया प्रभाव

रेमिट्यान्स ओरालो लाग्नुमा हुण्डी कारोबारीहरुको संख्या बढ्नु मुख्य कारण हुनसक्ने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । अर्को कारण भने मलेसियाको रोजगारीमा अवरोध पनि भएको उनको भनाइ छ ।

‘अहिले रेमिट्यान्स घट्दो क्रममा छ, यसका मुख्य दुई कारणहरु हुण्डी र मलेसिया रोजगारी नै हो,’ उनले भने, ‘मलेसियामा धेरै नेपालीहरु गएर ठूलो परिमाणमा रकम पठाउने गर्नु भएको थियो, लामो समय रोकिदा प्रभाव पक्कै पर्‍यो । अर्को कुरा हुण्डी कारोबार बढेको शंका गर्ने प्रशस्तै ठाउँ छ ।’

पछिल्लो समय प्रहरीले हुण्डी कारोबारीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । हुण्डी कारोबारीहरु नेपालबाट पक्राउ पर्ने क्रमले पनि वैधानिक बाटोबाट रेमिट्यान्स आउने क्रम घटेको हो कि भन्ने उनको बुझाइ छ ।

यस विषयमा राष्ट्र बैंकले गम्भीर भएर सोच्नु पर्ने अधिकारीले बताए । हुण्डी गैरकानूनी भएका कारण हुण्डी गरे फसिन्छ भन्ने सन्देश राष्ट्र बैंकले फैलाउन सक्नु पर्ने उनले बताए ।

अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी पनि हुण्डी कारोबार बढेको र वैदेशिक रोजगारीमा आएको कमीले रेमिट्यान्समा प्रत्यक्ष असर गरेको बताउँछन् ।

मलेसिया रोजगारी बन्द हुँदा त्यसको असर परे पनि अरु पनि कारण रहेको उनले बताए । ‘मलेसिया मात्रै होइन अन्य देशमा पनि कामदारको डिमान्ड कम छ, तथ्यांक हेर्नुस् न मलेसिया बाहेकका देशमा पनि कामदार कम गएका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment