Comments Add Comment

सागमा महिला फुटबल : भारतसँग बदला लिने मौका !

Photo Credit : अनलाइनखबर फाइल ।
भारतीय टिमसँगको खेलमा बल अघि बढाउँदै सावित्रा ।

८ मंसिर पोखरा । पछिल्ला वर्षहरुमा नेपाली महिला फुटबलले आशावादी बनाएको छ ।

प्रतियोगिताहरुको संख्या मात्र बढेको छैन, प्रदर्शन पनि सुधारिएको छ । त्यसकै प्रमाण हो, हिरो कप महिला फुटबलमा भारतलाई पन्छाउँदै फाइनलसम्मको यात्रा । नेपाली फुटबलरहरुले अन्तराष्ट्रिय लिगमा पनि अवसर पाउन थालेका छन् । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको हिरो लिग मात्र खेलेनन्, सेथु क्लबलाई च्याम्पियन पनि बनाए ।

साम्बा दक्षिण एसियाकै उत्कृष्ट खेलाडी मानिन्छिन् ।

तर नेपाली महिला फुटबलरहरुको अधुरो सपना छ, दक्षिण एसियाली च्याम्पियन बन्ने ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) र दक्षिण एसियाली खेलकुद साग दुबैमा नेपाली महिला टिमले उपाधि जितेको छैन ।

चैतमा विराटनगरमा भएको साफ फुटबलमा पनि नेपालका लागि भारत नै बाधक बन्यो । फाइनलमा नेपाल ३-१ ले पराजित हुँदै उपविजेतामा चित्त बुझायो ।

अब १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालसामू अर्को अवसर छ, भारतसँग बदला लिँदै स्वर्ण जित्ने ।

महिलातर्फ यो पटक चार देशले मात्र भाग लिएका कारण नेपाल, माल्दिभ्स, भारत र श्रीलंकाले एकअर्कासँग खेल्नेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार र नेपालको पहिलो खेल मंसिर १७ गते श्रीलंकाविरुद्ध हुनेछ ।

नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने होइन । सागको अघिल्लो संस्करणमा भारतको गुवाहाटीमा भएको खेलमा श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसअघिका संस्करणमा पनि श्रीलंकामाथि नेपाल हावी थियो ।

अभ्यास गर्दै नेपाली टोली ।

श्रीलंकापछि नेपाल मंसिर १९ गते माल्दिभ्स र २१ गते भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

र, प्रतियोगिताको फाइनाल २३ गते हुनेछ ।

नेपाली टोलीमा कोको छन् ?

नेपाली टोलीको गोलरक्षकमा एन्जिला तुम्बापो, अञ्जना रानामगर र उषानाथ छिन् ।

डिफेन्डरमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी, हीराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना उभिनेछन् । मिडफिल्डरमा रेनुका नगरकोटे, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, विमल चौधरी छन् ।

परवार्डको जिम्मा सावित्री भण्डारी, नीरु थापा र अनीता केसीले सम्हाल्ने भएका छन् ।

भारतसँग बदला लिने अवसर

दक्षिण एसियाली महिला फुटबलमा नेपाल र भारत उत्कृष्ट टिम मानिन्छन् तर नेपालको हकमा भारतसधै बाधक ।

सागका यसअघिका सबै संस्करणमा भारतले स्वर्ण जितेको छ । भारतमा भएको अघिल्लो संस्करणमा नेपालले घरेलु टोलीसँग ४-० ले पराजित हुन पुगेको थियो ।

१३ औं साग नेपालमा हुँदैछ । त्यसैले पोखरा रंगशालामा हुने सागमा नेपाल घरेलु मैदानमा भारतलाई हराएर इतिहास रच्न चाहन्छ । ‘अघिल्लो संस्करणमा भारत गृह मैदानको सदुपयोग गरेर जीत निकाले थियो । अहिले हामी गृह मैदानमा छौं,’ प्रशिक्षक हरि खड्काले भने, ‘घरेलु मैदान भएर मात्रै होइन । यस पटकको सागका लागि त्यही अनुसार खेलाडी प्रशिक्षणमा पनि जोड दिएका छौं ।’

पूर्वराष्ट्रिय खेलाडी खड्काको प्रशिक्षणमा नेपालले हिरो कप महिला फुटबलमा भारतलाई हराएको पनि हो । तर साफ फुटबलमा फेरि नेपाल हार्न पुग्यो ।

यो पटक के हुन्छ हेर्न बाँकी छ । भारतलाई हराएर स्वर्ण जित्ने नेपाली टोलीको विश्वास छ । ‘भारत नेपालको बलियो प्रतिद्वन्द्वी अवश्य पनि हो । तर, प्रशिक्षण एकदमै राम्रो भएकाले खेल जित्नेमा हामी ढुक्क छौ,’ प्रशिक्षक खड्काले भने ।

मैदान अझै तयार भएन

१३ औं सागमा महिला फुटबल १७ कात्तिकदेखि पोखरा रंगशालामा सुरु हुने तालिका छ तर मैदान अझै तयार भइसकेको छैन ।

पोखरा रंगशालाको प्यारापिट, दुबो विस्थापन लगायतका काम बाँकी छन् । प्रशिक्षक हरि खड्का पनि मैदान तयार नहुँदा खेल नै प्रभावित हुने त होइन भन्ने चिन्तामा छन् । भन्छन्, ‘खेल आउन लागिसक्यो । मैदान अझै बनिसकेको छैन । तर, घरेलु मैदान भएकाले मानसिक रुपमा भने तयार छौं ।’

मैदानमा ढिलो गरी रोपेको दुबो सर्ने सम्भावना नरहेकाले खेल प्रभावित बनाउने सम्भावना छ ।

तर खेल सकिनासाथ दुबो फेरेर भए पनि प्रतियोगिता खेलाइने १३ औं सागको स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति, पोखरा सदस्य राजेश गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment