Comments Add Comment

साइप्रसमा सास्ती, यसरी पीडा झेल्दैछन् नेपाली विद्यार्थी 

झट्ट हेर्दा साइप्रस अध्ययनको लागि नेपालीहरुको आकर्षक देश हो । त्यहाँ झण्डै चार हजारभन्दा धेरै विद्यार्थीहरु अध्ययन पनि गरिरहेका छन् । युरोपका अरु देशमा जान भन्दा स्वीकृतिको हिसाबले साइप्रस जान अलिक सहज हुने भएकोले विभिन्न प्रलोभनमा पर्नेहरु पनि साइप्रसको जानको लागि नै धेरै ठगिने गरेका छन् । विभिन्न प्रलोभनमा परेर साइप्रस गएकाहरुको लाखौं रुपैयाँ डुबिसकेको हुनाले झट्ट फर्किहाल्न पनि सकिरहेका हुँदैनन् र कलेजबाट निस्कासित हुने डरले सिधै कन्सल्टेन्सी बिरुद्ध बोल्न पनि सक्दैनन् । साइप्रसमा आउने अधिकांश विद्यार्थीहरु यसैको शिकार हुने गरेका छन् ।

कञ्चनपुरका कुमार सिंह मन्त्याल दुई वर्षअघि अध्ययनको सिलसिलामा साइप्रस आएका थिए । विद्यार्थी भिसामा साइप्रस आउनुपूर्व उनको नेपालमा पनि काम राम्रै थियो । सहकारीमा काम थियो । घरखर्च कटाएर अलिकति पैसा जोगाएका पनि थिए । तर, त्यहीँ काम गर्दागर्दै उनलाई साइप्रस आउने भूत चढ्यो र उनको सहकारीको काममा समेत असर पर्न थाल्यो ।

युरोप जाने सपना पूरा गर्नको लागि उनले क्याम्पसको खर्च ४५ सय युरो (नेपाली ६ लाख) रुपैयाँ बुझाए । साइप्रस आउनकै लागि उनले दुईहजार युरो र टिकटको ५५ हजार नेपाली रुपैयाँ सहित गर्दा कूल १० लाख रुपैयाँ तिरेर साइप्रस पुगे । उनको युरोप घुम्ने सपना त्यतिबेला चकनाचुर भयो जतिबेला उनी साइप्रस पुगेर पनि युरोपका अरु मुलुकमा पुग्न सकेनन् ।

पूरै युरोपमा जतापनि जान पाइन्छ भनेर सुरुमा उनलाई पनि धेरैले सपना देखाएका थिए । उनले पनि सोचे १० लाख रुपैयाँ तिरेर युरोप जान पाइन्छ भने त्यतै सेटल हुनु पर्ला । तर, उनलाई देखाइएको सपना केवल मिथ्या थिए । साइप्रस पुगेपछि मात्रै उनलाई थाहा भयो म त ठगिएछु भन्ने ।

त्यस्तै, नुवाकोटका मीन ब. थापाको पनि सपना यसरी नै तुहियो । उनलाई युरोपको अरु देशको लोभ थिएन । दुई/ चार वर्ष पैसा कमाएर यतै आएर केही गर्ने सोच बनाएर उनी साइप्रस आएका थिए । उनलाई कलेज कहिलेकाहीँ गए हुने र बाँकी समय टन्न पैसा कमाउने पाउने भनेर कन्सल्टेन्सीहरुले उनलाई साइप्रस पठाए पनि सोचेजस्तो र भनेजस्तो भएन । उनी साइप्रस आएपछि थाहा भयो जाडो मौसममा हप्ताको २० घण्टा र गर्मीमा हप्ताको ३८ घण्टा मात्रै काम गर्न पाउने कानूनी प्रावधान रहेछ । त्यो पैसाले त्यहाँ बसेर खान र क्याम्पसमा पैसा तिरेपछि विदेश आएको ऋण तिर्नै समस्या हुनेभएपछि उनी अहिले धर्मसंकटमा छन् ।

यो समस्या केवल सिंह र थापाको मात्रै होइन । विद्यार्थी भिसामा साइप्रस आउने सबैको समस्या हो यो । लाखौं रुपैयाँ तिरेर साइप्रस पुगेकाहरु झट्टै फर्किन पनि ऋण सम्झिएर सक्दैनन् । त्यहाँ बस्न पनि भनेको समयमा काम नपाईने वा पाइएको काममा पनि धेरै कमाई गर्न नसक्ने अवस्था उनीहरुको छ ।

प्रलोभन अनेकथरी

साइप्रस लैजानको लागि विभिन्न किसिमका प्रलोभन देखाउने गरिन्छ । त्यसमा कसैले साइप्रस छिरेपछि युरोपका अरु सबै मुलुकहरुमा सहजै प्रवेश पाउने भएकोले साइप्रस गएपछि युरोपियन युनियनभित्र रहेका सबै देशमा पुग्न सकिने प्रलोभन देखाइन्छ । युरोपियन युनियन भरी जतापनि सहजै जान सकिने कानून सोही देशका नागरिकहरुको लागि मात्रै हो न कि पर्यटक र कामदारहरुको लागि । यसरी प्रलोभन दिनेहरुले पहिले नै मिथ्या कुरा गरेर ठगिसकेका हुन्छन् ।

दोस्रो हो त्यहाँ धेरै आम्दानी हुन्छ भन्ने प्रलोभन । त्यहाँ महिनाको एक हजार युरोदेखि ११ सय युरोसम्म कमाइहुने बताइन्छ । त्यो नेपाली डेढलाख रुपैयाँ भन्दा धेरै हुन्छ । १० लाख रुपैयाँ खर्च गरेर सहजै डेढ लाख रुपैयाँ पाइन्छ भने किन खर्च नगर्ने भन्ने सम्भिmएर उनीहरु त्यसैको सपना बोकेर साइप्रस जान्छन् । तर, त्यहाँ पुगेपछि त्यो सपना नै साबित भइदिन्छ । त्यहाँ गएको ६ महिनासम्म काम गर्ने अनुमती नै छैन । विद्यार्थी भिसामा गएकाहरु ६ महिनासम्म आफ्नै खर्चमा बाँच्नुपर्ने हुन्छ । त्यसपछि पनि काम पाउनै मुस्किल हुने गर्छ ।

कन्सल्टेन्सीबाट साईप्रसमा पुगेकाहरुको जीवनशैली

विद्यार्थी भिसामा साइप्रस आइपुगेका विद्यार्थीहरुको जीवनशैली अत्यन्त मार्मिक हुने गरेको छ । पैसा कमाइ नहुँदा धेरै विद्यार्थीहरु जागिरकै सिलसिलामा भौतारिने गरेका छन् । सुरुको छ महिना त पैसा अभाव हुँदा धेरै नेपालीहरु चिया र पाउरोटीको भरमा पनि दिन काट्न बाध्य हुन्छन् । यसको कारण हो विद्यार्थी भिसामा साइप्रस गएकाहरुले ६ महिनासम्म जागिर खान पाउँदैनन् । यो विषयमा बोल्न पनि धेरैको आँट आउँदैन । कन्सल्टेन्सीको विरुद्ध बोल्दा उसले क्याम्पसमा कुनै गुनासो गरिदियो भने क्याम्पसबाट नै बाहिरिनुपर्ने बाध्यताका कारण आफ्नो नाम उल्लेख गर्न नचाहेको त्यहाँ दुई वर्षअघि पुगेका एक विद्यार्थीले बताए । ‘बरु बिस्तारै भएपनि यतैबाट ऋण तिर्छु । समय नपुगी फर्किनुपर्‍यो भने नेपालमा त्यो कमाउन निकै कठिन छ ।’ उनले भने ।

साइप्रस पुगेपछि आफू ठगिएको थाहा पाएका मन्त्यालले आफ्नो पीडा यसरी सुनाए ।

‘नेपालमा हुँदा म सहकारीमा काम गर्थे । काम र कमाई पनि राम्रै थियो । विवाह भएको थिएन । विवाह गर्दा धेरै ऋण लाग्छ भन्ने सम्भिmएर केही समय युरोपको देशमा गएर कमाउने सोच बनाएँ । त्यही बेलामा क-कसले युरोपियन युनियन भित्रको देश हो साइप्रस । अरु देशमा जान सजिलो छैन । सोही देशमा गएर अरु देशमा भाग्ने गरेका छन् धेरै । भन्ने काल्पनिक कुरा मलाई पनि सुनाइदियो । मैले पनि साइप्रसको भिसाबाट बेलायततिर हानिने सोच बनाएर कन्सल्टेन्सीलाई १० लाख रुपैयाँ बुझाएँ ।

तर, त्यो सपना पूरा हुन सकेन । यहाँ आएपछि थाहा भयो कि विद्यार्थी भिसामा साइप्रस आएकाहरुले ६ महिनासम्म कामै गर्न नपाउँदा रहेछन् । त्यसपछि नै मलाई झनै समस्या हुन थालेको थियो । घरबाट केही पैसा पनि मगाएँ । थप ऋण लाग्यो । पार्टटाईम काम गर्न पाइन्छ । त्यसको लागि काम पाउनु पर्‍यो । काम पाएदेखि त पार्टटाइममा घन्टाको १५ देखि २० युरो पाइने भनिन्थ्यो । त्यसमा भनेजस्तो काम नै पाइएन । विद्यार्थीलाई जाडो मौसममा हप्ताको २० घन्टा र गर्मीमा हप्ताको ३८ घन्टा मात्र काम गर्न पाईँदो रहेछ । आक्कल झुक्कल बाहेक धेरैले काममा राख्नै पाइँदैन ।

सुरुको ५/६ महिना त मेरो पनि समय राम्रैसँग बितेको थियो । मैले सोचेँ कि सुरु सुरुमा अलिक अफ्टेरो हो । बिस्तारै माहोल सहज हुँदै जान्छ । नेपालबाट आउँदा नै मैले व्यक्तिगत खर्चको लागि दुई लाख साथमा ल्याएको थिएँ । जब पैसा सकिँदै गयो । त्यसपछि छटपटी पनि सुरु हुन थाल्यो । कोठा भाडा र खाना खर्च जुटाउनै धौ-धौ हुन थाल्यो ।

यो देश पर्यटकहरुले धानेको देश हो । यहाँ गर्मी समयमा धेरै पर्यटकहरु आउने भएकोेले सो समयमा होटलहरुमा काम पाइन्छ । काम पाएको बेलामा महिनामा ६५० देखि ९०० युरोसम्म कमाइन्छ । सोही पैसाले कलेजको एक वर्षको २५०० देखि ३००० युरो सम्मको शुल्क तिर्नुपर्छ । यहाँ बस्नेहरुको कोठा भाडा मासिक ८० देखि १२० युरोसम्म लाग्छ । खानाको लागि ५० देखि ७० युरोसम्म तिर्नुपर्छ । यी सबै पीडाहरु सहेपछि मेरो अनुभव भनेको विद्यार्थी भिसामा दुनियाँ सपना देखेर साइप्रस आउनुको फाइदा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment