Comments Add Comment

धपक्क दशरथ रंगशाला

८ मंसिर, काठाडौं । देश अहिले १३औं दक्षिण एसियाली खेलकुदको माहोलमा छ, र त्यसको केन्द्रमा छ दशरथ रंगशाला । नेपालमा तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुदको कुम्भ मेला सागको भब्य उद्घाटनसहित केही खेल यही हुनेछ ।

यो नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला पनि हो । तर खेल आयोजनाभन्दा पनि पहिले उद्घाटन समारोह कसरी भव्य बनाउने र त्यसका लागि दशरथ रंगशाला कसरी तयार पार्ने भनेर अहिले काम भइरहेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आफैं दैनिक जसो त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुग्छन्, निरीक्षण गर्छन्, आवश्यक परेका सल्लाह दिन्छन् । हुनत यो उनको काम होइन । तर एक सातापछि मंसिर १५ गतेबाट हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि निर्माण कार्य अझै नसकिएकाले उनी रंगशाला धाइरहेका छन् र कामको प्रगति रिपोर्ट लिइरहेका छन् ।

आइतबारबाट सञ्चारकर्मीहरुलाई समेत प्रवेशमा रोक लगाएर धमाधम काम भइरहरेको छ । मुख्य कामको रुपमा भीआईपी प्याराफिटतर्फ छानो हाल्ने हो । कूल १५ वटा छानो राख्नुपर्नेमा अहिलेसम्म ५ वटा राखिएको छ भने अझै ९ वटा जडान गर्न बाँकी छ ।

शुरुमा ट्रस्ट राख्नुपर्छ, त्यसपछि मात्र छानो । यो दुवै काम चलिरहेको छ ।

भीआईपी प्याराफिटमै सिट राख्न बाँकी छ । साधारण प्याराफिटतर्फ भने लगभग १२ हजार सिट राखिसकेको छ । एथ्लेटिक्स ट्रयाक र स्कोरबोर्ड पनि तयार भएको छ ।

फ्लड लाइट जडान भइसकेको छ ।

र साँझ परेपछि यो लाइट बाल्दा निमार्णाधीन नै भए पनि रंगशाला धपक्क बलेको देखिन्छ ।

 उद्घाटन समारोहसहित  रंगशालामा फुटबल खेल हुनेछ । त्यहीँको ट्रयाकमा एथ्लेटिक्स खेल हुनेछ ।

एथ्लेटिक्सको लागि ट्रयाक तयार भएपनि फुटबल खेलाउने मैदानमा पानी हाल्ने काम भइरहेको छ ।

मंसिर १५ मा दशरथ रंगशालामा सागको उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहका लागि ४ बजे रंगशालाभित्र प्रवेश गरिसक्नुपर्नेछ । उद्घाटन समारोह करिब ३ घण्टाको हुनेछ ।

सुरुमै त्यसै दिनदेखि पुरुष फुटबल रंगशालामै हुने तय भएको थियो । तर दुवै एकैदिन गर्न सम्भव नभएकाले खेल एक दिन पछाडि सारेर मंसिर १६ देखि २४ सम्म सञ्चालन हुनेछ ।

पुरुष फुटबलमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा बंगलादेश र भुटान पनि छ ।

नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ ।

फुटबल र एथ्लेटिक्स बाहेक इन्डोर गेम अन्तर्गत भलिबल र बास्केटबल पनि त्यही हुनेछ । राष्ट्रिय खेलकुदको कभर्डहलमा भलिबल र बास्केटबलको पुरुष महिला दुवैको खेल हुनेछ । भलिबल मंसिर ११ देखि नै शुरु हुने भएकाले अहिले कभर्डहलमा नयाँ म्याट राखिएको छ ।

कभर्डहलमा भलिबल मंसिर १७ गतेसम्म हुन्छ । त्यसपछि १९ गतेबाट त्यहीँ बास्केटबलका खेलहरु शुरु हुनेछन् ।

यस्तै रंगशाला परिसरमै रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरलाई चिटिक्क बनाउन बाटो बनाउनेदेखि फूलहरु रोप्ने काम भइरहेको छ । तर छिटो काम भइरहेकाले त्यसको आयु कति समय हुने हो भन्नेतर्फ ध्यान दिएको पाइँदैन । रंगशालाको पछाडिपट्टीबाट नेपाली सेनाको गेटसम्म बाटो बनाइएको छ, जसलाई रंगशाला पुग्न वैकल्पिक बाटोका रुपमा समेत प्रयोग गर्न सकिन्छ ।

१३औं सागमा नेपालबाट ५९७ खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि प्याराग्लाइडिङ पनि समावेश थियो तर सहभागी देशको संख्या नपुगेपछि हटाइएको छ । सागमा करिब ४ हजार खेलाडीले ३ सय १७ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment