 
																			९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवती महिलालाई क्याल्सियम निःशुल्क उपलब्ध गराउने भएको छ ।
गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यले प्रदेश ५ मै पहिलोपटक तिलोत्तमा नगरपालिकाले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्छ । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्याल्सियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।
नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् ।
शिशुको हड्डी तथा मानसिक विकासको लागि क्याल्सियम आवश्यक पर्ने भएकाले आमाको गर्भबाटै बच्चाले आवश्यक पोषक तत्वहरु पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।
तिलोत्तमा नगरपालिकाका दश वटा सरकारी स्वास्थ्य संस्थामार्फत् वाषिर्क तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् ।
चालु आर्थिक वर्षका लागि क्याल्सियम चक्की नि:शुल्क वितरणका लागि करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताए । ‘पाँच लाख देखि सात लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौं,’ शर्माले भने ।
आमाको गर्भमा रहेका कुनै पनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताइन् ।
तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा-सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैयाँ प्रोत्साहन भत्तासमेत उपलब्ध गराउँदै आएको छ ।
सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने योजनाअनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुँदैछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4