Comments Add Comment

उपनिर्वाचनका कारण संसदीय समितिका काम प्रभावित

राज्य व्यवस्था समितिको फाइल तस्वीर ।

१० मंसिर, काठमाडौं । आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनको प्रभाव संघीय संसदका विषयगत समितिमा पनि परेको छ ।

उपनिर्वाचन हुने क्षेत्रका र अन्य सांसदहरु समेत उपनिर्वाचनमा केन्द्रित हुँदा संसदीय समितिमा गणपूरक संख्या पुग्न छाडेका छन् । कतिपय समितिले उपनिर्वाचन अघि समितिका बैठक नबोलाउने निर्णय नै गरेका छन् ।

मंगलबारको बैठकमा प्रतिनधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले १४ मंसिरको उपनिर्वाचनलाई ध्यानमा राख्दै अब १६ मंसिर अगाडि बैठक नराख्ने विचार गरेको बताइन् ।
बजार अनुगमन गर्नुपर्यो भन्दै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गठन गरेको उपभोत्ता हित अनुगमन उपसमिति पनि उपनिर्वाचन अघि सक्रिय नहुने भएको छ ।

गत आइतबार गठित उपसमितिको बैठक सोमबार बस्यो र उपनिर्वाचनपछि सक्रिय हुने निर्णय गर्यो । समिति सचिवालयका अनुसार नरबहादुर धामी नेतृत्वको उपसमितिले १६ र १७ मंसिरमा सरोकारवालाहरुसँग छलफल गर्ने तय गरेको छ ।

‘१६ गते खाद्य संस्थान, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति विभागलगायतसँग छलफल गर्ने तय भएको छ भने १७ गते उपभोत्ता अधिकार मञ्चसँग छलफल हुनेछ’ सचिवालयले जानकारी दियो ।

प्रतिनिधिसभाका अन्य विषयगत समितिले पनि उपनिर्वाचनअघि समितिको बैठक बोलाउने तयारी गरेका छैनन् । ‘बैठक बोलाएर मात्रै हुँदैन । माननीयहरु निर्वाचनमा केन्द्रित छन्, संसदको अधिवेशन आह्वान भएको छैन । बैठक नबोलाए समिति के गर्छ ? भन्छन्, बोलाए कोरम पुग्दैन’ एक समिति सभापति गुनासो गर्दै थिए ।

राष्ट्रियसभाको विधायन ब्यवस्थापन समितिको बैठक पछिल्लो समय डाकिएको छैन । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकलाई अधिवेशनको सुरुमै संसदमा लैजाने तयारी गरेको समिति सचिवालयले त्यस अनुसार छलफललाई अगाडि बढाउन सकेको छैन । कारण– उपनिर्वाचन । १४ मंसिरको उपनिर्वाचनलगत्तै संसदको अधिवेशन बोलाउने तयारी भएको जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको २१ कात्तिकको बैठकमा केही समिति सदस्यले उपनिर्वाचनअघि बैठक नराख्ने प्रस्ताव गरेका थिए । तर, सभापतिले इन्कार गरे । ‘त्यसयता २÷३ वटा बैठक बस्यो’, समिति सचिवालय भन्छ, ‘अब उपनिर्वाचन अघि बैठक बस्ने सम्भावना छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment