Comments Add Comment

कानूनमन्त्री उपेन्द्र यादवले आचारसंहिता बिर्सिए

गौरको धम्की देखाएर मधेसलाई दबाउन सकिँदैन : यादव

११ मंसिर, जनकपुरधाम । चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी हुन नपाउने निर्वाचन आयोगको आचारसंहितालाई वास्ता नगरी उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र यादव बुधबार महोत्तरीको पिपरा पुगेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष पदमा आगामी शनिबार हुन गइरहेको उपनिर्वाचनको प्रचार सभालाई सम्बोधन गर्न मन्त्री यादव काठमाडौंबाट मधेस झरेका हुन् ।

यसअघि मन्त्री यादवले भक्तपुरमा पुगेर चुनावीसभालाई सम्वोधन गर्दै मत मागेका थिए ।

बिहीबार जनकपुरधाम ओर्लेका मन्त्री अध्यक्ष यादवले स्वास्थ्यमन्त्रीबाट कानुनमन्त्री बनेकोमा अपमानित महसुस नभएको स्पष्टीकरण दिए । ‘यो कुनै अपमान हो ?’ यादवले भने, ‘एउटा जिम्मेवारीबाट अर्काे जिम्मेवारी दिँदा अपमान हुन्छ ?’

जिम्मेवारी फेरबदल हुने सामान्य कुरा भएको भन्दै उनले यो चलिरहने प्रक्रिया रहेको बताए । यसको सम्बन्धमा पुनः कुरा राखिने भन्दै उनले भने, “यो ठूलो कुरा होइन् ।”

गौरको धम्की देखाएर मधेसलाई दबाउन सकिँदैन

समाजवादी पार्टीले सरकार छाडे तत्कालै रौतहटको गौर घटनालाई उचालेर उपेन्द्र यादवलाई जेल समेत पठाउन सकिने चर्चा छ नि भन्ने प्रश्नमा अध्यक्ष यादवले गौर घटनाको धम्की देखाएर मधेसलाई तर्साउन नसकिने बताए ।

‘रौतहट हत्याकाण्डको कुरा उठाए सप्तरी हत्याकाण्ड कहाँ जान्छ ?, झापा हत्याकाण्ड कहाँ जान्छ ?, चितवनको माडीमा भएको घटना कहाँ जान्छ ? त्यत्रो ठूलो ठूलो जनयुद्व भयो, त्यो कहाँ जान्छ ?’ उपप्रधानमन्त्री यादवले भने, ‘एउटा कुरालाई मात्रै लिएर चल्न सकिँदैन । समष्टिगत रुपमा सबै कुरालाई लिएर चल्नुपर्छ ।’

गौरको धम्की देखाएर मधेसलाई दबाउन नसकिने उनले बताए । ‘अहिले राष्ट्रिय एकता र बिखण्डनको षडयन्त्र गर्नेहरुले यस्तो कुरा गरिहेका छन्’ उनले भने ।

सरकारमा रहँदा एकता बाधक हुँदैन

एकीकरणको कुरा अन्तिम समयमा आइसकेको बताएपछि राजपाका नेताहरुले समाजवादीले सरकार छोड्न नसकेका कारण एकता हुन नसकेको बताइसकेका छन् । तर उपेन्द्रले सरकारमा रहेकै कारण एकता बाधक बन्न नसक्ने बताए ।

‘कुनै पार्टी सरकारमा छ, कुनै सरकारबाहिर छ । तर यस्तो त छैन कि जो सरकारमा नगएको होस्’ उनले भने, “सरकारमा रहेको अवस्थामा एकतालाई बाधक मान्नु नै गलत हो ।”

‘पहिला पार्टी एकीकरण होस् त्यसपछि हामी सरकारमा बस्ने कि बाहिर जाने निर्णय गरौं’ उनले भने, ‘पार्टी एकीकृत भएपछि न यस्तो निर्णय गर्ने अहिले कसरी गर्न सकिन्छ ?’

अलग अलग पार्टीको निर्णय अलग अलग हुने भएकाले त्यहीं अनुरुप अहिले भइरहेको उनले बताए ।

अब संविधान संशोधन हुन्छ

आफू कानून मन्त्रालयमा आएपछि संविधान संशोधनको प्रकृया अगाडि बढ्ने उनले बताए । ‘संविधान संशोधन जरुरी छ । संविधानमा कमी कमजोरी छ । संविधान संशोधन बिना यो गतिशील हुन सक्दैन’ उनले भने, “आउने समयमा गति दिनलाई संविधान संशोधन गर्नु जरुरी छ ।”

संविधान घोषणा हुनुअघि आफूहरुले यो कुरा सडकमा राखेको बताउँदै उनले घोषणा गर्नेहरुले पनि घोषणा गरौं र पछि संशोधन गरेर सच्चयाउने बताएकाले उनीहरुले भने जस्तै संशोधन गर्ने समय अहिले आइसकेको बताए । उनले संशोधन प्रकृया चाँडै अगाडि बढ्ने र यहीं सरकारले संशोधन गर्ने समेत बताए ।

समाजवादी पार्टीका अध्यक्ष यादवले राजपा संघीय सरकारमा जाने जानकारी आफूलाई नभएको बताए । ‘राजपा सरकारमा प्रवेश गर्ने सम्भावनाबारे केही जानकारी छैन’ उनले संक्षिप्तमा भने, ‘त्यसैले यसबारे म केही बोल्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment