Comments Add Comment

भद्रगोल छ, तैपनि पोखरामा साग हुन्छ

१२ मंसिर, काठमाडौं । पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क पारिएको छ । गेटको दुवै पिल्लरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भकुण्डो हान्दै गरेको तस्वीरसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग)को बोर्ड राखिएको छ ।

विदेशी खेलाडी तथा प्रतिनिधिहरुको स्वागतका लागि पोखरा सिंगार्ने काम भइरहेको छ । यो सबै हेर्दा जो कोहीलाई लाग्छ, पोखरामा सागको तयारी भब्य भइसकेछ ।

तर जब रंगशालाको गेटबाट भित्र प्रवेश गरिन्छ, तब थाहा हुन्छ साग सुरु हुन तीन दिन बाँकी हुँदाको भद्रगोल ।

महिला फुटबल हुने तय भएको पोखरा फुटबल स्टेडियम पनि पूर्णरुपमा तयार भएको छैन । सागअघि सम्म १० हजार सिट क्षमताको प्याराफिट जडान गर्ने लक्ष्य छ तर, हालसम्म जम्मा ४८ सय सिटको मात्रै प्याराफिट तयार भएको छ । बाँकी ५ हजार सिट क्षमताको प्याराफिट बिहीबारबाट जडान गर्न सुरु गरिएको छ । जबकी साग महिला फुटबल मंसिर १७ बाट सुरु हुनेछ ।

स्टेडियमको बाहिरी भागमा बन्ने सिन्थेटिक एथ्लेटिक ट्रयाक तयार भएको छैन । बल्ल आज बिहीबारबाट ट्रयाक मार्किङ सुरु गर्ने निर्माण कम्पनीले जनाएको छ । मार्किङका लागि २ जना प्राविधिक इंग्ल्यान्डबाट पोखरा आएका छन् । पोखरा रंगशाला पुनर्निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभी जिम्मा लिएका छन् ।

महिला क्रिकेट हुने पोखरा क्रिकेट रंगशाला पनि उस्तै छ । कास्की क्रिकेट संघले ९० प्रतिशत काम सकिएको दाबी गरेपनि त्यसअनुसार काम भएको देखिँदैन । अभ्यासका लागि बनाउन लागिएको क्रिज भर्खरै ‘वेल्डिङ’ गर्ने काम भइरहेको छ । ‘प्याराफिट जडान भएको छैन । हामीले भर्खरै सुरु गरेका छौं । प्यारापिट जोड्नै ३/४ दिन लाग्छ होला,’ एक कामदारले अनलाइनखबरसँग भने ।


फुटबल मैदानका लागि पहिलो र दोस्रो चरणमा ल्याइएको दुबो भन्सारमा रोकिएर एक हप्तापछिमात्रै पोखरा आइपुगेको थियो । त्यही कारण दुई तिहाइभन्दा बढी दुबो सुक्यो । सुकेको दुबो नसर्ने डरले नयाँ मगाएर विस्थापन गरिएको छ । सुकेका केही दुबो क्रिकेट मैदानमा रोपिएको छ भने केही रंगशाला प्रवेशद्वार नजिकैको खाली मैदानमा रोपेर पानी हाल्ने काम भइरहेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का बिभिन्न खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment