Comments Add Comment
टिप्पणी :

मौन अवधिको ४८ घण्टाभित्र के-के हुन्छ चुनावी खेल ?

१२ मंसिर, धरान । दुई दिनपछि हुने उपनिर्वाचनलाई सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिष्ठाको विषय बनाएका छन् । पोखरा, धरान, महोत्तरी लगायतका केही निर्वाचन हुने तहको स्थलगत भ्रमणपछि के बुझियो भने- यो निर्वाचन नेकपाको मध्यावधिक समीक्षाको अवसर हो ।

कांग्रेस नेताहरुले जहाँ पुगेपछि एउटै कुरा दोहोर्‍याएका छन्- यो निर्वाचनमा कांग्रेसले जितेर नेकपाको सत्ता बदल्न सक्दैन, तर सरकारको कार्यशैली बदल्न मद्दत गर्छ । त्यसैले सरकारलाई सच्याउन र नेकपालाई चेताउनकै लागि भने पनि यसपटक कांग्रेसलाई भोट दिनुस् ।

कांग्रेसले भनेजस्तै यो उपचुनावले सरकारप्रतिको जनमत कस्तो छ भने सपाट रुपमा व्यक्त नगर्ला । तर, तराई, पहाड र हिमाली क्षेत्र सबैतिर उपचुनाव भइरहेकाले ती ठाउँका जनताको मूड बुझ्न भने अवश्य सघाउने छ । पोखरा, धरान, भक्तपुरको चुनावी नतिजाले शहरी जनमतको रुझान बुझाउनेछ ।

मात्रिका पौडेल

दाङ, महोत्तरी, बाँकेलगायतका ठाउँको चुनावले तराई मधेसको जनमत बुझ्न सघाउनेछ भने पाँचथर, संखुवासभा, रामेछाप, हुम्ला, लम्जुङ, अछाम बाजुरा जस्ता जिल्लामा हुने गाउँपालिका र वडास्तरीय चुनावले पहाडी ग्रामीण जनताको मत कता छ भन्ने व्यक्त हुनेछ ।

प्रतिपक्षमा भएको पार्टीसँग धेरै चुनावी एजेण्डा हुन्छन् । त्यसमाथि सबैभन्दा धेरै मतदाता रहेका र शहरी जनमतको परीक्षण हुने पोखरा तथा धरान जस्ता ठाउँमा नेकपा सदाबहार सत्तापक्ष रहेकाले पनि कांग्रेससँग एजेण्डै एजेण्डा छन् । त्यसो त नेकपासँग एजेण्डा नभएका होइनन् ।

नेकपाले विकास र समृद्धिको अभियान बल्ल शुरु भएको भन्दै २ वर्षमै मूल्यांकन नहुने बताइरहेको छ । यसबीचमा नेकपा अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाले प्रायः सबै ठाउँमा पुगेर भाषणा गरे । थोरै ठाउँमा चुनाव हुन लागेकाले फुर्सदिला पार्टी नेताहरु वडातहसम्म पुगे ।

बुधवारका अन्तिम चुनावी सभापछि उपचुनाव हुने ठाउँहरुमा मौन अवधि शुरु भएको छ । मौन अवधिमा राजनीतिक मुद्दा होइन, अब आर्थिक मुद्राको हिसाब-किताब हुन्छ । चुनावको विशेषतै यही हो कि, अन्तिम ४० घण्टामा मुद्दा र मुद्राको तीब्र लडाइ हुन्छ । जसले मुद्दा जोगाएर र विपक्षको मुद्रा वितरण रोक्न सक्छ, उसले चुनाव जित्छ ।

यसपटक सीमित ठाउँमा उपचुनाव हुँदैछ । फुर्सदिला नेता-कार्यकर्ताको जमात उपचुनाव हुने ठाउँमा डेरा जमाएर बसेको छ । तिनीहरुको उपस्थितिले सम्बन्धित दलको भोट बढाउने चाहिँ होइन, बरु कतिपय ठाउँमा घटाउन मद्दत गर्ला । तर, पनि एकले अर्कोलाई चेक गर्न र रक्सी, पैसा र गुण्डाको प्रयोग रोक्न उनीहरुको उपस्थिति अर्को पक्षलाई चुनौति भने अवश्य हुने रहेछ ।

आम चुनावहरुमा जस्तो यो उपचुनावमा कुनै एउटा पक्षले रातारात मतदाता प्रभावित पारेर चुनावी परिणाम नै उल्ट्याउने सम्भावना यसकारण कम छ कि अर्को पक्षले उसलाई चौबिसै घण्टा निगरानी गरिरहेको हुन्छ । चुनावका बेला मौन अवधिमा राति राति चलखेल हुने भनेको सुकुम्बासी तथा गरिव बस्तीहरुमा हो, जहाँ प्रतिस्पर्धीहरुको निगरानी भइरहेको हुन्छ ।

भारतमा चुनावअघिको मौन अवधिलाई ‘कत्ल की रात’ भन्ने गरिन्छ । कत्ल अर्थात हत्या । चुनाव प्रचार-प्रसारका क्रममा उम्मेदवार जतिसुकै बलियो देखिए पनि ‘कत्ल की रात’ले नतिजा उलटफेर बनाउन सक्छ । साँच्चिकै कत्लकी रातले उम्मेदवारहरुको बेचैनी बढाउँछ । किनकि मौन अवधिका अन्तिम दुई रातले सम्भावित नतिजा बदल्ने गर्छ ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित एउटा गाउँमा पुग्दा स्कुल पछाडि खाली जमीनमा ठूलो भोजभतेरको तयारी भइरहेको थियो । ९० किलो मासु अर्डर गरिसकेको भन्दै एकजना व्यवसायी बजारमा मासु खोज्दै हिँडिरहेका थिए । दिउँसो खाना पकाएर तयार पारिएपछि कसैले गाडीमा राखेर अन्तै लगेर खुवाउँछन् भने कसैले त्यहीँ गाउँले जम्मा गरेर भोज लगाउँछन् ।

कम्तिमा मतदानको बिहानसम्म हरेक टोलमा मासु रक्सीसहितको भोज अनिवार्य नै हुने गरेको छ । दलहरुले अलग-अलग मेस सञ्चालन गर्दा स्थानीय व्यवसायीहरुले मनग्गे आम्दानी गर्न पाउँछन् ।

चुनावको अघिल्लो रात कतिपय वस्तीमा रातारात उम्मेदवारले महिलालाई सारी बाँड्छन् । कतिपय अगुवा पुरुषलाई मोबाइल पनि बाँड्छन् । विहानै नयाँ सारी लगाएर मतदान केन्द्रमा गए भने बुझ्नुपर्छ कि कत्लकी रातमा सारी बाँडिएछ । यो मधेसको मात्र होइन अब पहाडको पनि पहिचान बन्दैछ ।

यो पनि पढ्नुहोस मौन समय : के यो उपचुनाव ‘मिनी जनमत संग्रह’ हो ?

चुनाव भनेपछि आधारभूत तहका जनता र विशेष गरी गाउँका युवाहरुमा फरक सोच बसिसकेको छ । चुनाव जितेपछि आफूहरुलाई बेवास्ता गर्ने भएकाले उनीहरु यही मौकामा साँवा-ब्याज चुक्ता गर्न खोज्छन् । त्यसैले उनीहरु अहिले बिनापैसा र बिना भोज कुनै उम्मेदवारका कुरा सुन्नेवाला छैनन् ।

धरानको सुकुम्बासी बस्तीमा पुग्दा एक हुल युवा भन्दै थिए, जसलाई भोट दिए पनि के हुन्छ ? जितेर फर्किने होइनन् । विकासका नारा झूट हो, चुनाव जितेपछि लूट हो । अब पार्टी हेरिन्न, जसले हाम्रो माग पूरा गर्छ, उसैलाई भोट दिने हो । कुनै पार्टीले फलानो बस्ती हाम्रो पकड क्षेत्र हो भनेर ढुक्क नपरे हुन्छ ।

चुनावको मौन अवधि अर्थात ‘कत्लकी रात’मा प्रतिस्पर्धी उम्मेदवारहरुको नजर यस्तै अस्थिर र किनबेच हुन सक्ने खालका मतदातामा परेको हुन्छ । अर्कों पक्षलाई ती बस्तिमा छिर्न नदिन चौबिसै घण्टा निगरानी गर्ने र मौका मिलाएर आफ्नो पक्षमा पार्ने दाउनै यो अवधिको मुख्य रणनीति हुने गर्छ । चुनावमा हुने सबैभन्दा ठूलो खर्च पनि यही अवधिमै हुन्छ ।

बिराटनगर विमानस्थलमा एयर ट्राफिकका कारण घण्टौ रोकिएपछि एकै ठाउँमा खाजा खान भेटिएका नेकपा र कांग्रेसका स्थानीय नेता भन्दै थिए, पैसाको त कुरै नगरौं, भोज भतेर र हातमा क्यास नभई कोही भोट दिनेवाला छैन । राजनीतिक रुपमा प्रतिवद्ध मतदाताबाहेक कतिपय बस्ती र युवाहरुमा भोट र नोट साट्ने बानी लागिसकेको छ ।

चुनावका बेला राजनीतिक एजेण्डाले मात्र काम गर्दैन । पैसा रक्सी, भोजभतेरसँगै जातीय फ्याक्टर पनि निणर्ायक बनिदिन्छ । अझ मधेसमा चुनावको अन्तिम बेला पैसा र भोजभतेर भन्दा डरलाग्दो चलखेल जातकै हुने गर्छ । तराई-मधेसमा अहिले पनि पहाडको भन्दा धेरै जातीय भावना देखिने गरेको छ । चुनावका बेला बलियो संगठन भएको प्रभावशाली नेतालाई सामान्य उम्मेदवारले जातीय मतका कारण पराजित गरेका धेरै उदाहरण छन् ।

आफ्नो जातको उम्मेदवारलाई भोट नदिएर अर्कोलाई भोट दिए पाप लाग्ने त्रासदेखि चुनावपछिका सम्भावित आक्रमणको डर पनि फैलाइन्छ । ०७० को चुनावमा महोत्तरीका एक उम्मेदवारले आफूलाई मत नदिई अर्को जातका उम्मेदवारलाई मत दिएको भनेर चुनाव हारेपछि मतदातामाथि मारपिटमै उत्रिएको समाचार आएको थियो ।

ब्याकवार्ड र फरवार्डको कुराले चुनावका बेला निकै अर्थ राख्छ । मौन अवधि शुरु नहुँदै धेरै ठाउँमा उम्मेदवारले आफ्नो अनुकुलतामा जातको कुरा उठाउन थालिसकेका छन् । अब ‘कत्लकी रात’ को अन्तिम प्रहरमा जातका अगुवाहरु भेला भएर उर्दी जारी गर्नेछन्, जसले चुनावी परिणामलाई हेराफेरी गरिदिनेछ ।

धरान र पोखराकै कुरा गर्दा त्यहाँको चुनावमा सुकुम्बासी बस्तीका मतदाता निर्णायक हुन सक्छन् । उनीहरुको बस्तीलाई अव्यवस्थित बसोबास भनिन्छ । त्यस्ता बस्तीमा भोटको ठेक्का लिने ‘बिचौलिया’ समेत हुन्छन् । अलिकति टाठाबाठा र पहुँच भएकाले पूरै टोलको ठेक्का लिएर एकमुष्ठ रकम बुझ्ने गर्छन् ।

निर्वाचन आयोगले दिएको ४८ घण्टे मौन अवधि अर्थात चुनावको अन्तिम रात मुद्दा होइन, मुद्रा बलियो हुन्छ । गरीव, सुकुम्बासी र तटस्थ मतदाताको बस्तिमा अन्तिम रात जसले आफ्नो प्रभाव देखायो, त्यसले चुनावको नतिजा उलटफेर पारिदिन सक्छ । त्यसैले मुख्य प्रतिस्पर्धी दलले ती अस्थिर ठाउँमा आफ्ना कार्यकर्ता तैनाथ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment