Comments Add Comment

लक्ष्यको सतप्रतिशत नजिक पुग्ने गरी काम गर्नुहोस् : गृहमन्त्री 

१२ मंसिर, काठमाडौं  । गृहमन्त्री रामबहादुर थापा बादलले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा सतप्रतिशत नजिक पुग्नेगरी काम गर्न गृहमन्त्रालय र मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आव २०७६/०७७को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘ तोकिएको लक्ष्य सत प्रतिशत पुर्‍याउन कोशिस गर्नुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश पूरा हुन नसकेपनि लक्ष्यको नजिक अवश्य पुगिन्छ । ’

समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पूरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्धतिलाई थप सुधार गर्दै लैजान निर्देशन दिए । शान्तिविना विकास सम्भव नभएको बताउँदै गृहमन्त्री थापाले सुरक्षा र प्रविधिमा थप लगानी गर्न आवश्यक रहेको टिप्पणी गरे ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताउँदै अहिलेका कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताए ।

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment