Comments Add Comment

बद्रीकुमार कसरी बने विनयकुमार कसजु ?

डेढ महिनाको भारत र नेपाल बसाइपछि यो पंक्तिकार कर्मथलो अमेरिका फर्किएको एकहप्ता बित्न नपाउँदै तानसेन पाल्पाका साहित्यिक ज्योतिपुञ्ज विनयकुमार कसजुको अवसानको खबर आयो ।

एक प्रकारले कसजुका बारेमा मैले काठमाडौंमै सुनिसकेको थिएँ, भेण्टिलेटरमा छन् । आइसीयुमा सारियो । उनका बारेमा मिडियामा नदिउँ भन्ने परिवारको चाहना छ, आदि इत्यादि ।

यसबाट उनको स्वास्थस्थिति जटिलतम मोडमा थियो भन्ने अनुमान गर्न गाहृ्रो थिएन । तर, समयको सुई एक ठाउँमा पुगेपछि विनयको जीवनले विश्राम लियो । वि.सं २००४ मा जन्मेका कसजुको मंसिर १० गते निधन भयो ।

म विनयकुमार कसजुलाई २०३६ पछि तानसेन पाल्पाको उनको प्रेस र अफिस भएको शायद घर नै थियो, मा भेट गर्न पुगेको सम्झन्छु । म त्रिभुवन विश्वविद्यालयको आन्तरिक लेखा परीक्षणको सिलसिलामा नेपालका मेची-कालीभित्रका क्याम्पसहरुमा आन्तरिक लेखा परीक्षणका लागि गइरहनुपथ्र्याे ।

मेरो साहित्यिक रुचि थियो नै । ०३६ सालको जनमत संग्रहका बेला सडक कविता क्रान्तिमा भाग लिएपछि मञ्चमा कविता पढ्न धक लाग्न छाडेको थियो र सबै उमेरका साहित्यकारहरुसँग सम्पर्क गर्न र कुराकानी गर्न, भेट गर्न सहज भैसकेको थियो ।

काठमाडौं बाहिर जाँदा तत्तत् स्थानका साहित्यकारहरुलाई खोजीखोजी भेट्न जानु, ती स्थानका पुस्तक पसल चहारेर काठमाडौंमा नपाइने पुराना पुस्तक पत्रिका किनेर संकलन गर्नु मेरो आदत बनिसकेको थियो । विनयकुमार कसजुसँग पनि पाल्पा तानसेनका क्याम्पसहरुको आन्तरिक लेखा परीक्षणमा गएका बेला दिनभरिको काम सकेपछि सोधखोज गर्दै भेट्न पुगेको थिएँ ।

एउटा उत्साही लिखुरे तरुण साहित्यको र आफ्ना बारेमा चासो लिएर आएको भेटेपछि उनले हार्दिक स्वागत गरेका थिए । सँगै चिया पिएका थियौं । मेरो बारेमा सम्भवतः उनलाई खासै थाहा थिएन । तर, मेरो रुचि र चासोले शायद उनी प्रभावित भएका थिए ।

कसजुको सम्पादनमा श्रीनगर पत्रिका सम्भवतः त्यतिबेला चलि नै रहेको थियो । त्यसका लागि उनले रचना मागे । अनि उपलव्ध श्रीनगरका पुराना अङ्कहरु उपहार दिए । ती पत्रिकाहरु पाउँदा म त मख्खै परेको थिएँ । उनको पुस्तक पनि उपहार पाएको थिएँ । ती पुस्तक, पत्रिकाहरु मलाई पाल्पा बसाइको क्रममा साहित्यिक खुराक बनेका थिए ।
वास्तवमा पाल्पामा कुलमणि देवकोटा जस्ता प्रतिभा पनि थिए । उनको ठूलो अभिनन्दन पनि भएको थियो । व्यक्तित्वमा अरु पनि थिए । तर, पाल्पाली साहित्यको जगमा श्रीनगर पत्रिकाको देन विशिष्ट प्रकारको रहृयो ।

काठमाडौंमा हरिभक्त कटुवालले बान्कीको माध्यमवाट नेपाली साहित्य जगतमा गोजिका पत्रिकाको इतिहास शिलान्यास गरिसकेका थिए । त्यसपछि बिराटनगर, पोखरा, वीरगञ्ज लगायतका ठाउँहरुबाट गोजिका पत्रिकाहरु निस्कन थाले । काठमाडौंवाट पनि थुप्रै गोजिकाका प्रकाशनहरु देखिए । गोजिका कुनै नौलो कुरा भएन ।

तर, तानसेन पाल्पावाट गोजिका पत्रिकाको भन्दा बेग्लै स्वरुपको पत्रिका निस्क्यो । त्यो थियो, हवाई पत्रिका । हवाईपत्रमै रचना प्रकाशन गरेर हुलाकबाटै देशका विभिन्न ठाउँमा पठाउने र साहित्यको लघुरुपलाई प्रवर्धन गर्ने । यो काम विनयकुमार कसजु र विजय सागरले गरेका थिए । उनीहरुका लघुकथाहरु त्यसमा छापिएका थिए र नेपालभरि त्यो फैलिएको थियो । सम्भवतः त्यो दुई अङ्क मात्र प्रकाशित भयो । तर, नेपाली साहित्यमा त्यसले राम्रै तरङ्ग ल्याउन सफल भएको थियो । पछि अरुले पनि हवाई पत्रिका निकालेर हवाई साहित्य आन्दोलन नै भयो । तर, यो नौलो कामको शुरुवातकाको श्रेय भने विनय कुमार कसजु र विजय सागरलाई जान्छ ।

पछि त पोष्टकार्डमा पनि अणु पत्रिका, अणु रचनाहरु प्रकाशित भए । तर, त्यसको प्रेरणा श्रोत र आरम्भको श्रेय हवाई पत्रिकालाई नै जान्छ ।

विनय प्रेस चलाउँथे । पत्रिका प्रकाशन गर्थे । राजनीति गर्थे । उनको लेखनमा लघुकथा र व्यङ्ग्यले बढी स्थान ग्रहण गर्दथ्यो । तर, जीवनको उत्तरार्ध भने उनले आफ्नो पूरै उर्जा वाल साहित्यमा अर्पण गरे ।

तानसेन पाल्पा प्राकृतिक हिसाबले जति रमणीय छ, साहित्यको हिसाबले पनि कम्ता मनोहर छैन । सम्भवतः नेपालमै पहिलोपल्ट कवि शीरोमणि लेखनाथको शतवाषिर्की मनाउने श्रेय तानसेन पाल्पालाई जान्छ ।

नेपालका मेचीदेखि महाकालीका साहित्यकारको जमघट सो कार्यक्रममा भएको थियो । निःसन्देह यसमा विनय कुमार कसजुको ठूलो भूमिका थियो । साहित्यकारहरु पाल्पा पुग्दा आतिथ्यता, स्वागत र कार्यक्रम संयोजनमा विनयको अहम् भूमिका रहन्थ्यो ।

एकपल्ट भारतको कानपुरमा राजनैतिक सम्मेलनमा भाग लिएर पारिजात र गोविन्द वर्तमान पाल्पा पुगेका थिए । त्यो बेलामा विनयले उनीहरुको बसाइ, आतिथ्य र साहित्यिक जमघटका लागि पहल गरेर त्यस भ्रमणलाई जीवन्त र स्मरणीय बनाइदिएका थिए ।

कतिपय कारणले आफ्नो विस्तारका लागि काठमाडौं नगई नहुने वाध्यता नेपालका लागि अझै विद्यमान टड्कारो खुल्ला यथार्थ हो । विनयले पनि पाल्पा छाडे र काठमाडौं खाल्डोलाई आफ्नो सिर्जना र गतिविधिको सुन्दर टुँडिखेल वनाए ।

विनय कसजुले ०६१ सालदेखि ०७६ सालसम्म वाल साहित्यका ३४ कृति प्रकाशन गरे । उनले वालकथा लेखन, वालवालिकामा पढ्ने वानीको विकास, वालकथा सम्पादन जस्ता सैद्धान्तिक पुस्तक पनि लेखे । उनका ६ वटा वाल पुस्तक अंग्रेजी भाषामा पनि प्रकाशित छन् । सुन्ने सीडीमा पनि उनले आफ्ना वाल साहित्यलाई प्रवेश गराए ।

खासमा विनय कुमार कसजुको नाम बद्रीकुमार थियो । उनी नौ कक्षामा फर्पिङमा पढ्थे । त्यतिवेला उनले साहित्यमा नोवेल पुरस्कार पाउने प्रथम एशियाली साहित्यकार रविन्द्रनाथ टैगोरको गोरा नामक उपन्यास पढ्ने अवसर पाए । त्यस उपन्यासको एक पात्र विनयले उनलाई यति प्रभाव पार्‍यो कि उनले आफ्नो नाम बद्रीकुमारबाट विनयकुमार राख्ने अठोट गरे ।

अनि तत्कालीन प्रधानाध्यापक कवि धरणीधर कोइरालासमक्ष नाम परिवर्तनका लागि अनुरोध गरे । अनि कविवरले त्यहाँ उपस्थित २०/२५ जनाको सामु घोषणा गरिदिए, अब आजदेखि वद्रीकुमार विनय कुमार भयो र सबैले यही नाउँले बोलाउनू ।

गोरा उपन्यासका पात्र विनयकुमार वद्रीकुमारमा प्रवेश गरेर नेपाली साहित्यको एउटा जाज्वल्यमान ताराका रुपमा चम्किए । उनको योगदानले उनलाई साहित्य र विशेष वाल साहित्यमा सदा चम्काइरहनेछ ।

-भर्जिनिया, अमेरिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment