+
+
Shares

बैंकबाट लाखौं चोर्ने ‘विद्यार्थी’को अर्को धन्दा !

फर्जी चेक दिएर मोटरसाइकल झ्याप

गौरव पोखरेल गौरव पोखरेल
२०७६ मंसिर १३ गते ८:३०

१३ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न बैंकबाट करिब ३० लाख रुपैयाँ लुटिएको प्रकरणमा संलग्न ६ भाइमध्येका हुन्, काभ्रेका २१ वर्षीय अञ्जन बराल । पक्राउ परेका सबै जनाविरुद्ध बैंकिङ कसूर सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

बरालविरुद्ध भने दुईवटा कसूरमा मुद्दा चल्न सक्छ । आखिर किन ? यसबारे जान्न दशैंको तीन दिनअघि भएको घटनातिर फर्किनुपर्छ ।

सामाजिक सञ्जाल फेसबुकको एउटा ग्रुपमा मिलन सुब्बाले ३५० सीसीको हन्टर मोटरसाइकल बिक्रीमा रहेको भन्दै तस्वीर पोष्ट गरे । तस्वीर देखेर मोटरसाइकलका सौखिन बराल लोभिए ।

करिब ६ लाख पर्ने मोटरसाइकलको दाम ४ लाख ५० हजार रुपैयाँ भनिएको थियो । सकेण्ड ह्याण्ड भएकाले सस्तोमै बिक्री गरेको सुब्बाको भनाइ थियो ।

पोष्टमा उल्लेख गरिएको मोबाइल नम्बरमा फोन गरेर बरालले खरिद गर्ने इच्छा भएको बताए । बरु मूल्यमा हेरिदिनुपर्ने जनाए । भोलिपल्ट बिहान साढे ९ बजे चप्पल कारखाना छेउ भेट्ने कुरा भयो ।

मोटरसाइकलको एक छेउमा स्क्र्याच भएको देखियो । त्यसपछि बरालले पुनः मोलमोलाइ गर्न थाले । सुब्बा ३ लाख ७५ हजारसम्म घटे । तर, बराल मानेनन् । बरु कर आफैं तिर्ने भन्दै अझै घटाउन लगाए । बल्लतल्ल सुब्बा ५ हजार रुपैयाँ घटाएर मोटरसाइकल बेच्न तयार भए ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनले फ्ल्याटको भाडा तिर्दा पनि ‘ब्याक डेट’को चेक दिएर बढी रकम बुझाउने गरेका थिए

‘पैसाचाहिँ चेकमा दिन्छु है…’, बरालले प्रस्ताव तेर्स्याइहाले । एभरेष्ट बैंकमा खाता भएको भन्दै ३ लाख ७० हजार रुपैयाँ बराबरको चेक दिए । दशैंका बेला भएकाले बैंक बन्द भइसकेको थियो । सुब्बाले पैसा निकाल्न पाएनन् ।

बराल भने मोटरसाइकल लिएर काभ्रेको पाँचखालतिर रहेको घरमा आए । दशैंपछि काठमाडौं फर्किए ।

सुब्बाको चेक साटिएको थिएन । बराललाई फोन गरेर त्यसबारे जानकारी गराए ।

‘जम्मा गर्दिहाल्छु है दाइ’, बरालले मायालु पारामा भनेका थिए । पटक-पटक बैंकमा जाँदा पनि सुब्बाले पैसा पाएनन् ।

तिहार लाग्यो । छठ मनाउन भन्दै बराल सर्लाहीमा रहेका आफन्तकहाँ पुगे । त्यहाँ पुगेर भने उनले सीमकार्ड परिवर्तन गरे ।

‘पहिलेको सीम कार्ड हराएपछि अर्को हालेको हुँ’, प्रहरी हिरासतमा रहेका बरालको दाबी छ । तर, नम्बर परिवर्तन भएसँगै उनी लापत्ता भए ।

काठमाडौं प्रहरीले ९ मंसिरमा उनलाई पक्राउ गरेपछि सुब्बाले थाहा पाए । त्यसपछि मोटरसाइकलको पैसा खोज्दै उनी टेकुस्थित प्रहरी कार्यालयसम्म पुगे ।

बरालले पैसा नदिने स्थिति देखेपछि सुब्बा अहिले मोटरसाइकल नै लाने मनस्थितिमा छन् । उनले जाहेरी दर्खास्त दिएमा बरालविरुद्ध चोरी मुद्दा दर्ता हुन सक्छ । तर, मुद्दातिर लाग्दा अन्तिम फैसला नहुञ्जेल मोटरसाइकल नपाइने भएकाले के गर्ने भन्नेमा रनभुल्लमा छन्, सुब्बा ।

बरालका अनुसार उनले कक्षा ११ को परीक्षा त दिएका थिए, तर अनुत्तीर्ण भएपछि पढ्न छाडिदिए ।

छुट्टै समूहको नेतृत्व गर्थे बराल

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ परेका ६ जना दुई भिन्दाभिन्दै समूहका हुन् । आइतबार भएको १९ लाख ९९ हजार रुपैयाँ चोरीमा भने बरालको नेतृत्वमा सुभास श्रेष्ठ, कुमार तामाङ र मनिष घिमिरेको सहकार्य थियो ।

सिन्धुपाल्चोकका गोविन्द घिमिरे र बाग्लुङका सुमन पौडेल भने छुट्टै समूहका हुन् । त्यसो त बराल र घिमिरे आफन्त हुन् । यसअघि घिमिरेकै निर्देशनमा बरालले बैंकबाट रकम लुट्ने काम गरिरहेका थिए । तर, मनमुटाब भएपछि छुटि्टएर अलग्गै समूह बनाएर धन्दा चलाउन थाले ।

बरालका अनुसार उनी ३५ दिनअघि मात्र काठमाडौं आएका थिए । कालिमाटीमा फ्ल्याट लिएर बसिरहेका थिए ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनले फ्ल्याटको भाडा तिर्दा पनि ‘ब्याक डेट’को चेक दिएर बढी रकम बुझाउने गरेका थिए ।

करिब २० लाख र मुक्तिनाथ विकास बैंकबाट भएको १० लाख रुपैयाँको लुटमा पौडेल र घिमिरे संलग्न देखिँदैनन् । तर, बरालकै बयानका आधारमा प्रहरी उनीहरुसम्म पुगेको थियो ।

सुविधानगरस्थित उनीहरुको कोठाबाट करिब दुई हजार जना व्यक्तिको नागरिकताको प्रतिलिपि र फोटो पनि बरामद भएको थियो । त्यसैले उनीहरुलाई पनि एउटै मुद्दा चलाइएको हो ।

ती कागजपत्र कहाँबाट यो समूहसँग पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

विभिन्न खातावालको बैंक स्टेटमेन्ट पनि आपराधिक गिरोहसम्म पुगेकाले यसमा बैंकका कर्मचारीको पनि संलग्नता हुनसक्ने आशंका गरिएको छ । घिमिरे शेयर कारोबारी भएकाले पनि वित्तीय संस्थाका व्यक्तिसँग सम्बन्ध हुन सक्ने आंशका गरिएको छ ।

तर, प्रकरणमा हालसम्म कुनै पनि बैंक वा वित्तीय संस्थाका कर्मचारी पक्राउ परेका छैनन् ।

काठमाडौं प्रहरीका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीका अनुसार यो समूहले १९ वटा बैंकलाई निशाना बनाएको देखिएको छ । उनीहरुले सर्वसाधारणको नक्कली हस्ताक्षर गरेर रकम चोरी गर्ने गरेका थिए ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?