Comments Add Comment

‘नम्रता श्रेष्ठ’लाई नामैले डुबायो

आफ्नो नामको भोको जो कोही पनि हुन्छ । जो कोहीे पनि आफ्नो कामबाट आफ्नो नामलाई धेरैले चिनोस् भन्ने चाहन्छ । तर, कहिलेकाही एउटै नामले कसैलाई समस्यामा पार्छ । अहिले यही समस्या भोगिरहेकी छिन्, नम्रता श्रेष्ठ ।

नम्रता श्रेष्ठ भन्ने बित्तिकै जो कोहीले पनि ‘मेरो एउटा साथी छ, नोभेम्बर रेन, क्लासिक, प्रसाद’ लगायत सफल चलचित्रमा काम गरेकी नायिकालाई सम्झिहाल्छन् । तर, चलचित्र क्षेत्रमा अर्की पनि नायिका छिन्, जसको नाम पनि नम्रता श्रेष्ठ नै हो ।

‘गाँठो’ चलचित्रबाट डेब्यु गरेकी नायिका नम्रता श्रेष्ठ अहिले आफूलाई चिनाउनको लागि संघर्ष गरिरहेकी छिन् । सफल नायिकासँग नाम मिल्न जाँदा अर्की नम्रता श्रेष्ठ पनि चलचित्र क्षेत्रमा छिन् भनेर चिनाउन उनलाई गाह्रो परिरहेको छ ।

नम्रता आफूलाई ‘अनलक्की’ नायिका मान्छिन् । यसअर्थमा कि, उनको नाम सफल नायिकासँग मिल्न गयो । उनी भन्छिन्–‘चलचित्र क्षेत्रमा आएको ३ वर्ष भइसक्यो । निरन्तर चलचित्रमा काम गरिरहेको छु । तर, मलाई दर्शकले कमै चिन्नुहुन्छ । यदि मेरो नाम नम्रता दिदीसँग नमिलेको भए मलाई केही हदसम्म चिन्नुहुन्थ्यो होला ।’

नम्रताले चलचित्र क्षेत्रमा आउँदै गर्दा नाम परिवर्तन गरेर आउने बिषयमा नसोचेकी भने होइनन् । तर, आफ्नो पहिचान नै गुम्ने डरले उनले नाम परिवर्तन गरिनन् । ‘मलाई सबैले बच्चैदेखि नम्रता भनेर बोलाउनु भएको छ । एक्कासी नयाँ परिचयमा कसरी आउने ?’, प्रश्न सहित उनी भन्छिन्, ‘फेरि मैले मलाई चिनिन भने ?’ आफू राम्रो काम गरेर नयाँ परिचय बनाउने विश्वास सहित उनले पहिलो चलचित्रमा काम गरेकी थिइन् ।

कतिपय साथीहरुले पनि नम्रतालाई सफल नायिकासँग नाम मिलेकाले घाटा भइरहेको बताउँछन् । साथीहरुले भन्ने गर्छन्, ‘यसको काम त राम्रो छ । तर, नामले गर्दा नै यो डुबी ।’ कता कता नम्रताले पनि महशुस गरेको कुरा हो यो ।

‘सानी’ नम्रताले ‘ठुली’ नम्रतालाई पनि भेटेकी छिन् । उनीहरुको भेटमा पनि नामकै विषयमा कुरा भएको थियो । ठुली नम्रताले पनि प्रश्न गरेकी थिइन्, ‘किन नाम परिवर्तन नगरेको त ?’ नम्रतासँग नम्रतालाई दिने उत्तर थिएन । फिस्स हाँसिदिइन् ।

आफूले राम्रो काम गरे पक्कै पनि चलचित्र क्षेत्रले चिन्ने उनको विश्वास छ । तर, यो कुरामा पनि आफूलाई ‘अनलक्की’ नै मान्छिन् नम्रता । उनी भन्छिन्–‘मलाई चलचित्रको अफरहरु आइरहेको छ । अफर आएका चलचित्रहरुबाट राम्रो चलचित्र छानेर काम गर्ने कोशिस गरिरहेको छु । तर, मेरो छनोट गलत हो कि राम्रो चलचित्र नै नपाएको हो त्यसमा पनि अनलक्की नै छु म ।’

नम्रताको नयाँ चलचित्र ‘माछा माछा’ रिलिजको तयारीमा छ । यो चलचित्रमा उनले सौगात मल्लसँग काम गरेकी छिन् । यो चलचित्रबाट भने नम्रताको आश निकै उच्च छ । उनले भनिन्–‘राम्रो टिमसँग काम गर्ने अवसर पाएको छु । चलचित्र पनि राम्रो बनेको छ । यसबाट भने आफूलाई दर्शकले चिन्छन् कि भन्ने आश छ ।’

हुनत नम्रतालाई पहिलो चलचित्र ‘गाँठो’बाट नै चिनिने आश थियो । तर, उक्त चलचित्रमा भने नम्रताको सोच उल्टो भइदियो । उक्त चलचित्रबाट नसोचेको असफलता उनले देखिन ।

तर, उक्त चलचित्रलाई आफ्नो करिअरको महत्वपूर्ण चलचित्र मान्छिन् नम्रता । उनले भनिन्, ‘सायद सोही चलचित्रले गर्दा होला अहिलेसम्म पनि चलचित्रमा काम पाइरहेको छु ।’ नम्रता अहिले आफ्नो छैटौ चलचित्र ‘लप्पन छप्पन २’मा पनि काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment