Comments Add Comment

चौथो महिनामा पनि आयात घट्यो, वैदेशिक व्यापारमा राहत

१३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को चौथो महिना (साउन–कात्तिक) मा पनि आयात घटेको छ । वैदेशिक व्यापारको असन्तुलनबाट आक्रान्त अर्थतन्त्रका यो सुखद संकेत हो ।

भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.९२ प्रतिशतले आयात घटेको छ । अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । चालु आवको कात्तिकसम्म यो घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

आयातको वृद्धिदर मात्र नभई कूल आयात नै घटेका कारण सरकारी अधिकारीहरु उत्साहित बनेका छन् । यही प्रवृत्ति वर्षभर कायम रहे वैदेशिक व्यापारको खाडल घटाउन सकिने उनीहरुको अपेक्षा छ ।

चार महिनाको अवधिमा निर्यातको वृद्धिदर उत्साहप्रद देखिएको छ । गत आवको पहिलो चार महिनामा नेपालले २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्या भएकामा अहिले २३.९० प्रतिशतले बढेर  वस्तु  ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

चार महिनामा कूल वैदेशिक व्यापारमा ९२.५ प्रतिशत आयातको हिस्सा रहँदा ७.५ प्रतिशत निर्यातको हिस्सा रहेको छ । गत आवमा आयातको हिस्सा ९४.०३ र निर्यातको हिस्सा मात्र ५.७ प्रतिशत रहेको थियो । यस वर्ष निर्यातको हिस्सा कूल वैदेशिक व्यापारमा ३०.६३ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

आयात घटेपछि कूल वैदेशिक व्यापारसमेत ओरालो लागेको छ । तथ्यांकअनुसार चार महिनामा कूल ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको यसै अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । यस वर्ष ५.१६ प्रतिशतले वैदेशिक व्यापार घटेको तथ्यांकले देखाएको छ ।

आयात निरुत्साहित गर्ने उद्देश्यले सरकारले विभिन्न उपायहरु लगाएको छ । विलासिताको सामान आयातमा कडाई गरिएको छ । नेपालमै उत्पादन हुने कतिपय वस्तुको आयातमा लाग्ने भन्सार महसुल दर बढाइएको छ । त्यसले समग्र वैदेशिक व्यापारमा सकारात्मक प्रभाव देखिएको अर्थ मन्त्रालयको निश्कर्ष छ ।

विज्ञहरु भने वस्तु निर्यातमा ठूलो हिस्सा अहिले पनि प्रशोधित पाम तेलको रहेको र यो दीर्घकालीन निर्यातको माध्यम नहुने बताउँछन् । व्यापार विज्ञ डा. पोषराज पाण्डेको भनाइमा प्रशोधित पाम तेलको निर्यात नेपालका लागि ठूलो भए पनि भारतका लागि सानो भएकाले उसले खासै ध्यान दिएको छैन ।

‘जुन दिन भारतको चासो पर्छ, त्यसपछि निर्यातमा ठूलो धक्का लाग्न सक्छ,’ उनले भने, ‘अर्कोतर्फ, जनताको क्रयशक्तिमा आयको ह्रासले गाडी कम आयात भइरहेको हुन सक्छ ।’

पहिलो चौमासिकको बैदेशिक व्यापार

आयात : ४५० अर्व २९ करोड (गत वर्ष सोहि अवधि ४८३ अर्व ७५ करोड)

निर्यात : ३७ अर्व २७ करोड(गत वर्ष सोही अवधी २९ अर्व २८ करोड)

आयात र निर्यात अनुपात : १२.३

प्रमुख आयातित वस्तु

डिजेल : २९ अर्ब २४ करोड

तयारी कपडा : १४ अर्ब ७३ करोड

एम. एस. विलेट : १२ अर्ब ७० करोड

पेट्रोल : १२ अर्ब ३७ करोड

एच.आर. सीट : ९ अर्ब ७७ करोड

हवाइजहाज र हेलिकप्टर : ९ अर्ब २१ करोड

एल पि ग्यास : ८ अर्ब ९० करोड

मोवाइल टेलिफोन : ८ अर्ब ६२ करोड

औषधी एलोपेथीक : ८ अर्ब ३१ करोड

मोटर साइकल : ८ अर्ब १७ करोड

प्रमुख निर्यात भएका वस्तु

प्रशोधित पाम तेल : ८ अर्ब ३६ करोड

सेन्थेटिक यार्न : २ अर्ब ७९ करोड

उनी गलैंचा कार्पेट : २ अर्ब ६२ करोड

तयारी कपडा : २ अर्ब १६ करोड

भटमासको तेल प्रशोधित : २ अर्ब २ करोड

अलैची : १ अर्ब ५४ करोड

१२९ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार

तथ्यांकअनुसार अहिले नेपालले १ सय २९ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्छ । त्यसमध्ये सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ ।

भारतबाट चार महिनामा २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँ बराबरको आयात हुँदा २४ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग २ खर्ब ४८ अर्ब ३० करोड बराबरको व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ ।

चीनबाट ८० अर्ब १८ करोड रुपैयाँको आयात भएको छ । त्यसबाहेक इन्डोनेसिया, अमेरिका, क्यानडा, युएइ, फ्रान्स, साउदी अरेविया, थाइल्याण्ड, दक्षिण कोरियालगायत मुलुकबाट धेरै वस्तु आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment