Comments Add Comment

सूपमा ७ वडाध्यक्षका लागि शनिबार मतदान हुँदै

१० हजार नौ सय मतदाता, एक हजार प्रहरी परिचालन

१३ डोटी, मंसिर । शनिबार सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका सात वडाध्यक्षका लागि मतदान हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले दिएको जानकारी अनुसार सात वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

बाजुराको त्रिवेणी नगरपालिका-१ को वडाध्यक्षका लागि हुने निर्वाचनमा तीन जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

बैतडीको सुर्नाया गाउँपालिका-१ को वडाध्यक्षका लागि दुई जना, पुरचौंडी नगरपालिका-४ मा तीन जना र दोगडाकेदार गाउँपालिका-४ मा तीन जना उम्मेद्वार रहेका छन् ।

डोटीको आदर्श गाउँपालिका-२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा चार जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अछामको मेल्लेक गाउँपालिका-५ को वडाध्यक्षका लागि दुई जना र कञ्चनपुरको पुनर्बास नगरपालिका-३, मा तीन जना उम्मेद्वार रहेका छन् ।

१० हजार नौ सय मतदाता

सुदूरपश्चिमका सात वडाका लागि हुने उप निर्वाचनमा १० हजार नौ सय ३७ मतदाता रहेको कैलाली जिल्ला निर्वाचन अधिकारी भट्ट वताउँछन् । उनले भने, ‘पाँच जिल्लाका सातवटै वडाका कुल मतदाताको संख्या यति हुन आउँछ ।’

भट्टका अनुसार सबैभन्दा बढी मतदाता डोटीको आदर्श गाउँपालिका-२ मा रहेका छन् । यस वडामा दुई हजार चार सय ५९ मतदाता छन् । सवैभन्दा कम बैतडीको सुर्नाया-१ मा ६ सय १९ मात्र मतदाता रहेका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका-१ मा एक हजार ३९, बैतडीको दोगडाकेदार-४ मा एक हजार आठ सय आठ, पुरचौडी-४ मा एक हजार नौ सय नौ मतदाता रहेका छन् । यस्तै पुनर्वास-३ मा एक हजार एक सय ९९ र मेल्लेक-५ मा एक हजार नौ सय चार मतदाता रहेको भट्टले जानकारी दिए ।

१२ मतदात स्थल र १५ मतदान केन्द्र रहेको भट्टले बताए । ‘एक मतदान केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी दुई र सहयोगी एक गरि पाँच जना कर्मचारीहरु खटिएका छन्’ भट्टले भने ‘यसरी यस प्रदेशमा ७५ जना कर्मचारीहरु परिचालन हुनेछन् ।’ प्रत्येक मतदान केन्द्रमा दुई जना स्वयंसेवक स्थानीय व्यक्तिहरुलाई राखिएको भट्टले वताए ।

एक हजार प्रहरी परिचालन

सात वडाका लागि हुने निर्वाचनमा करिब एक हजार प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तारणी प्रसाद लम्सालले जानकारी दिए । ‘निर्वाचनको समयमा मतदाताहरुको, मतदान केन्द्रको, उम्मेद्वारहरुको सुरक्षाका लागि आवश्यक प्रवन्ध मिलाईएको छ” प्रहरी नायव महानिरीक्षक लम्सालले भने ‘मतदान केन्द्रको सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीको छ ।’

यस्तै एक मतदान स्थलमा अवस्था अनुसार ५० देखि एक सयसम्म सशस्त्र प्रहरी रहने लम्सालले बताए । उनले पहिलो घेरामा नेपाल प्रहरी हुने र दोश्रो घेराका सशस्त्र प्रहरी रहने वताए । उनी थप्छन्, ‘आवश्यक ठाउँहरुमा जिल्ला सुरक्षा समितिले निर्णय गरि नेपाली सेना पनि परिचालन गर्ने प्रवन्ध मिलाएको छ ।’

लम्साल मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्छन् । प्रहरीले आवश्यकता अनुसार मोवाइल टोली परिचालन गरेको, रिजर्भ फोर्स पनि तयार राखेको प्रहरी नायव महानिरीक्षक लम्साल बताउँछन् ।

निर्वाचन हुने जिल्लासंग सीमा जोडिएका अन्य जिल्लाहरुको पनि सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment