Comments Add Comment

बलात्कार आरोपी सिद्धबाबा ‘हृदयाघात’ भएको भन्दै आईसीयूमा

१५ मंसिर, विराटनगर । बलात्कार आरोपमा पक्राउका लागि प्रहरी अस्पताल आइपुगेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आईसीयूमा भर्ना भएका छन् । बिहीबारदेखि विराट नर्सिङहोममा बसिरहेका सिद्धबाबा आइतबार करिब ११ बजे आईसीयूमा भर्ना भएका हुन् ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा विराट नर्सिङहोममा आइपुगेका छन् ।

उनी आएलगतै चिकित्सकले सिद्धबाबालाई आईसीयूमा सार्न भनेका थिए । एक्कासी उनको मुटुको चाल बढेपछि डाक्टर ज्ञानेन्द्र गिरीको सिफारिसमा आईसीयूमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् । सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए ।

उनलाई छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।

तर एकाएक मुटु र छातीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ बजे आईसीयूको १० नम्बर बेडमा सारिएको हो । सिद्धबाबाको उपचारमा बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेतृत्वको चिकित्सक टोली खटिएको छ । आइतबार बिहान ९ बजेसम्म सिद्धबाबाले आफ्ना शुभचिन्तकसँग भेटघाट गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment